२१ आश्विन २०८१ सोमबार
image/svg+xml
ब्लग

प्रचण्डविरुद्ध प्रभाकरले फोडेको १४ पेजको ‘बम’ !

राज्यसत्ताविरुद्ध २०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र संघर्ष थाल्दा ‘सुप्रिमो’ पुष्पकमल दाहाल एकछत्र नेता थिए। मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापाजस्ता नेताहरूको त्यसपछिको वरियताक्रममा गणना हुन्थ्यो। तर, उनीहरूसँग दाहाल बलियो तवरले फरक मत राख्नसक्ने स्थिति थिएन।

झन् त्यो बेला जनार्दन शर्माले दाहालसँग टक्कर लिनसक्ने वा खुलस्त असन्तुष्टि जनाउनसक्ने अवस्था हुने कुरै भएन। शर्मा उतिबेला गण्डक क्षेत्रको सैन्य नेतृत्व गर्थे र सेती–महाकाली इन्चार्ज मात्रै थिए। युद्धमा भने उनको ‘प्रभाकर’ नामको छवि माओवादीभित्र बुलन्द थियो।  

समयक्रम फेरियो, त्यतिबेलाको नेकपा माओवादी अहिले नेकपा माओवादी केन्द्रसम्म आइपुगेको छ। १० वर्षे सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधान निर्माणसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मको यात्रामा प्रत्यक्ष जोडिएर माओवादी पुगेको छ। र, पछिल्लो डेढ दशक माओवादी केन्द्र सत्ता राजनीतिको केन्द्रमा पनि छ।

करिब तीन दशकको यस दौरानमा सबै थोक फेरिएका छन्, तर नफेरिएको एउटै कुरा छ, पार्टी नेतृत्वमा दाहाल। अर्थात् २०५२ सालमा सशस्त्र संघर्ष थाल्दाका ‘सुप्रिमो प्रचण्ड’ अहिलेसम्म पनि अध्यक्षका रूपमा पार्टीको कमान्ड सम्हालिरहेका छन्।

समय क्रममा दाहालका सहयोद्धाहरूमा फरक मत विकास हुँदै गयो। वैद्यदेखि बाबुरामसम्म, बादल (रामबहादुर थापा) देखि विप्लव (नेत्रविक्रम चन्द) सम्मले दाहालसँग फरक मत राख्दै लाखापाखा लाग्दै गए। दाहालको कठिन परीक्षा लिन सकेनन्।

अहिले दाहालसँग सशस्त्र सङ्घर्षकालीन फरक विचार राख्नेहरू कोही बाँकी छैनन्। उनिहरूले कुनैपनि कालखण्डमा फरक विचार राख्दा दाहालसँग भिड्न सकेनन्। बरु पार्टी नै छाडी तितरबितर भए।

यस्तोमा दाहाल प्रतिस्पर्धीविहीन नेता त बन्दै गए, पार्टी भने दिनानुदिन ओरालो यात्रामा छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा २२० सिटसहित पहिलो दल बनेको माओवादी अहिले प्रतिनिधिसभामा ३२ सिटमा खुम्चिएको छ।

३२ सिटकै बलमा कहिले नेपाली कांग्रेस र कहिले नेकपा एमालेको काँध चढेर दाहालले झण्डै १८ महिना सरकार चलाए। यो अंकलाई ‘जादुयी नम्बर’ भनेर कार्यकर्ता हौस्याउने काम पनि गरे। तर, कांग्रेस–एमालेको ‘असार १७ को सहमति’ ले माओवादी केन्द्रको ३२ अंकको जादु निस्प्रभावी बनाइदिएको छ।

अध्यक्ष दाहालले आफूलाई सत्ताबाट हटाउन देशीविदेशी शक्तिले भूमिका खेलेको बयानबाजी दिँदै आएका छन्। कहिले भ्रष्टाचारका फाइल खोल्दा डराएर ठुला दल मिलेको त कहिले बिचौलिया र व्यापारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाइदिएको अभिव्यक्ति दिन्छन्।

आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा त सिँधै अमेरिकासम्मलाई मुछेका छन्। बंगलादेशबाट भर्खरै प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत भागेकी शेख हसिना र आफूलाई अमेरिकाले एकै ढंगले हटाएको अभिव्यक्ति दिएका छन्। उनले राज्य साझेदारी कार्यक्रम (एसपिपी) स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेसक्याम्प राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी पेस गरेको एक स्थायी कमिटी सदस्य बताउँछन्।

एकातिर दाहालले यसरी अभिव्यक्ति राखेर बैठकमा पार्टी नेताहरूको ध्यान केन्द्रित गर्न खोजी रहँदा अर्कातिर उनैलाई अप्रिय लाग्नेगरी उपमहासचिव जनार्दन शर्माले दुईवटा विषयमा ‘लिखित धारणा’ नै राखेका छन्। जसमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पेज र ‘पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा’ शीर्षकमा थप दुई पेज धारणा उल्लेख छ।

पहिलो धारणामा शर्माले पार्टी कमजोर हुनुका कारण औँल्याएका छन्। त्यो दोषको केन्द्रमा अध्यक्ष दाहाललाई बढी भूमिका रहेको देखिनेगरी शर्मा प्रस्तुत भएका छन्। अर्को अर्थमा अध्यक्ष दाहालका कमजोरीको ऐना देखाउँदै माओवादी केन्द्र कमजोर भएको रूपमा शर्माको धारणा देखिन्छ।

यस्तै दोस्रो धारणामा अध्यक्ष दाहालबाटै पार्टी फुटबारे चलाइएको हल्ला चलाइएको आरोप शर्माको छ।

शर्माका आरोपै–आरोप 

शर्माले लिखित धारणामा शान्ति सम्झौतापछिका कार्यभार पूरा गर्नमा पार्टी नेतृत्व (दाहाल) ले तदारुकता देखाउन नसकेको आरोप लगाएका छन्।

त्यसमध्येको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भर्खरै सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमा सहमति जुटेको उल्लेख गर्दै दोस्रो कार्यभार भनेर जनतन्त्र, राष्ट्रियता र जनजीविको विषय कार्यान्वयन हुन नसकेको उल्लेख छ।

जनजीविकाका सवालामा पार्टी रनभुल्लमा परेको र पार्टीभित्र प्रस्ताव राख्दा पनि सुनुवाइ नभएको, आर्थिक, सामाजिक र सांस्कृतिक सुधारमा ध्यान नदिएको, देश आफै बनाउनुपर्छ भन्ने विश्वास युवालाई दिलाउन नसकेकाे, संघीयताको कार्यान्वयन र सम्बर्धन गर्न नसकिएको, संवैधानिक तथा राजकीय अंगलाई जनताका पक्षमा रूपान्तरण गर्न नसकिएको, समाजवादको सार्थकतालाई ध्यानमा नदिइएको आरोप पनि शर्माको लिखित धारणामा छ।

‘आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ। केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ। हाम्रा एजेण्डाहरु खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ,’ शर्माको लिखित धारणामा भनिएको छ।

यस्तै २०६४ को निर्वाचनमा प्रत्यक्षमा १२० सिटमा जितेको उल्लेख गर्दै अहिलै प्रायः सबै निर्वाचन क्षेत्र माओवादीबाट खोसिएको पनि शर्माले उल्लेख गरेका छन्।

शर्माले अगाडि भनेका छन्, ‘हामी शून्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं।’ पार्टीमा जो जति छन् सबै असन्तुष्टि बोकेर बाँचिरहेको विडम्बनापूर्ण स्थिति रहेको शर्माले उल्लेख गरेका छन्।

‘यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौं ?’ शर्माले प्रश्न गरेका छन्। पार्टी साँघुरिँदै जानुको कारण जनता नभएर पार्टीका नारा, आश्वासन सरकारमा हुँदा पूरा नभएको पनि शर्माको दाबी छ।

अहिले माओवादी नेताको बसाईउठाई, रहनसहन ‘राजामहाराजाको जस्तो’ भएको पनि शर्माको टिप्पणी छ। ‘सीमित मान्छेको घेरामा टाढैबाट दर्शनभेट हुने वातावरणमै हामी रमाउन थाल्यौं। के हामी यो अवस्थाको अन्त्य गरी पुरै जनतामा जानसक्ने वातावरण बनाउन सकौंला ?,’ उनले भनेका छन्।

यस्तै शर्माले समस्याका मूल कारणमा नौ वटा बुँदा उठाएका छन्। जसमा सीमान्तकृत समुदाय माओवादीबाट टाढा हुनु, पार्टीभित्र घटेको जनमतबारे चिन्ता नहुनु, पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिनु, पार्टीभित्र परिवारवाद हाबी गराइनु, पार्टीभित्र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइनु जस्ता विषय समेटेका छन्।

यस्तै राज्य शक्तिको दुरुपयोग हुनु, पार्टीभित्र विधि पद्धतिको धज्जी उडाइनु, लक्ष्यविहीन र एजेन्डाविहीन हुँदै जानु, नेताहरू पद र सुविधामा  कार्यकर्ता अभाव र पीडा हुनु पनि मूल समस्याका रुपमा उल्लेख छ।

अध्यक्षबाटै जनार्दनले पार्टी फुटाउने हल्ला 

शर्माको अर्को धारणामा आफूले पार्टी फुटाउन लागेको भन्ने हल्ला अध्यक्ष दाहालबाटै फैलिएको आरोप लगाएका छन्।

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो,’ शर्माले उल्लेख गरेका छन्। उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा अध्यक्ष दाहालले नै ‘पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए’पछि पार्टी फुट्ने हल्ला व्यापक भयो भनिएको छ।

अध्यक्ष दाहालबाट यस्तो अभिव्यक्ति आउनुका पछाडि केही प्रश्न रहेको शर्माले लेखेका छन्। जसमा आफूले महाधिवेशनमा उठाएका प्रश्नदेखि लिएर पार्टीलाई विधि र पद्धतिमा लैजाने संकल्पको प्रस्तावसम्म उल्लेख गरेका छन्।

यस्तै सरकारमा रहँदा अध्यक्ष दाहालले कहिले जनार्दन त कहिले वर्षमान पुनका विरुद्ध दुष्प्रचार गरिएको पनि आरोप लगाइएको छ।

यस्तै बारम्बार गठबन्धन फेरिएको प्रश्न, प्रधानमन्त्री र गृहमन्त्री आफ्नै पार्टीको हुँदा प्रदेशलाई प्रहरी हस्तान्तरण गरौं भन्ने प्रस्ताव, मझौला र साना योजना स्थानीय र प्रदेश सरकारलाई दिन गरिएको प्रस्तावका कारण आफूविरुद्ध दाहालले हल्ला फैलाएको शर्माले धारणामा आरोप लगाएका छन्।

आफू चार दशक लामो समयदेखि नेतृत्व (दाहाल) प्रति सम्मान, विश्वास र सहकार्य गरेको विषय शर्माले उल्लेख गरेका छन् । तर अध्यक्ष दाहालबाट ‘शंकाले लंका जलाउने, चियाको कपमा तुफान सृजना गर्ने भनेझैं पार्टीलाई नै क्षति हुनेगरी सार्वजनिक रूपमा भ्रम सृजना गर्ने’ काम भएको शर्माको लिखित धारणामा उल्लेख छ।

दाहालविरुद्ध विकल्पको प्रस्ताव

उपमहासचिव शर्माले पार्टी बनाउन ‘पुरानालाई सम्मान गर्दै नयाँलाई प्रात्साहन गर्नुपर्ने’ भन्दै प्रस्ट रुपमा अध्यक्ष दाहालको विकल्पबारे धारणा राखेका छन्।

यसका लागि शर्माले तीनवटा बुँदामा विकल्प अघि सारेका छन्। जसमा पहिलोमा ‘नेतृत्व हस्तान्तरण’ भनेका छन्। जसमा अध्यक्ष दाहाललको योगदानलाई स्थापित गर्न बाँकी समय पनि भूमिका सुनिश्चित गर्दै दाहालले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्।

दोस्रोमा ‘नेतृत्व पुस्तान्तरण’ भनेका छन्। जसमा अध्यक्ष दाहाललाई संरक्षकको भूमिकामा बसेर वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारी सल्लाहकारको भूमिकामा रहेर विभागीय काम, अनुगमन, मुल्याल्यांकन, प्रशिक्षण गर्ने र तेस्रो तहका नेतालाई साङ्गठनिक नेतृत्व दिन भनेका छन्। तेस्रोमा हालको केन्द्रीय कमिटी भंग गरी दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव राखेका छन्। साथै यो प्रस्तावमा कुनै पूर्वाग्रह नराख्न पनि शर्माले आग्रह गरेका छन्।

शर्माले यसपटक दाहाललाई दिएको चुनौती निकै कठिन हुने देखिएको माओवादीनिकट स्रोत बताउँछ। देशभरीबाट साँघुरिँदै गएर पश्चिम क्षेत्र त्यसमा पनि कर्णाली प्रदेशमा माओवादी प्रभाव सीमित भएको छ। शर्मा त्यही प्रभावक्षेत्रका प्रभावशाली नेता हुन्। शर्मा नै अध्यक्ष दाहालको विपक्षमा आवाज उठाउन थाल्दा जोखिम बढ्ने भय दाहाललाई रहेको माओवादी स्रोत बताउँछ।

उसै पनि पछिल्लो समय शर्मा अध्यक्ष दाहालसँग असन्तुष्ट छन्। सोही कारण दाहालले शर्माविरुद्ध पार्टी फुटाउन लागेको हल्ला चलाउन थालेका थिए।

प्रकाशित: २७ श्रावण २०८१ २०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App