५ श्रावण २०८१ शनिबार
image/svg+xml
ब्लग

तम्घासमाथि रेसुंगाको वन

झट्ट सुन्दा गुल्मी जिल्ला भन्ने बित्तिकै जो कोहीले अझै पनि कफि खेतीको लागि प्रसिद्ध जिल्ला भन्ने बुझ्छन्। तर, गुल्मी जिल्लाको परिचय यतिमा मात्रै सीमित राख्नु कदापी उचित हुँदैन। यहाँ अनगिन्ती बिबिधताहरु छन, जसले मानिसलाई सधै आनन्दित गर्न सक्छ र पटक पटकको यात्राको लागि लालायित बनाउन सक्दछ।

नेपालका पहाडी जिल्ला मध्ये पश्चिममा पर्ने गुल्मी जिल्ला नेपालको एकीकरण अगाडि देखि नै एउटा छुट्टै इतिहास बोकेको जिल्ला मानिन्छ। यहाँका भौगोलिक, सांस्कृतिक, पुरातात्विक र पौराणिक अवस्थितिको वर्णन कम्तिमा पनि यो एउटा लेखमा मात्र कदापि समेट्न सकिदैन।  

संघियताको सुरुवातसँगै नेपालको भौगोलिक बिभाजन हुनु अगाडी पनि गुल्मी जिल्ला साबिक लुम्बिनी अञ्चलमा पर्दथ्यो भने अहिले यो लुम्बिनी प्रदेशको पर्यायको रुपमा रहेको छ। यो प्रदेशले धार्मिक, सांस्कृतिक, जैविक  र पर्यटकीय हिसाबले अत्यन्त महत्व र सम्भावना बोकेको छ। यस अन्तरगत पर्ने प्रत्येक जिल्लाहरुको  नेपाललाई आन्तरिक र बाह्य रुपमा पहिचान गराउने कुनै न कुनै बिशेषता र सम्भावनाको प्रचुरता  रहेको छ।  

भैगोलिक बिबिधता, सांस्कृतिक पहिचान र नागरिकको आपसी भाइचाराको आधारमा यहाँ बसोबास गर्ने नागरिकहरु बीचमा रहेको सहिष्णुता, सद्भाव र सहयोगी भावना अन्य प्रदेशमा बिरलै पाउन सकिन्छ। राज्यका राजनीतिक, प्रशासनिक र अन्य निकायहरुमा निम्न देखि उच्च तह सम्म यहाँका मानिसहरुको जर्बदस्त उपस्थिति रहेको छ।  

लुम्बिनी प्रदेशको प्रमुख ब्यापारिक केन्द्र बुटवल बाट १३८ किमी उत्तर तर्फ पाल्पा जिल्लाको पबित्र तीर्थस्थल सिद्धबावा मन्दिरको बाँया हुंदै तिनाउ नदीको तिरैतिर पहाडको अनकन्टार खोँचमा पहरो कोपेर बनाइएको सिद्धार्थ राजमार्ग सडकको बाटो हुंदै गुल्मीको लागि प्रमुख सडक सञ्जाल बनेको छ। छिमेकी जिल्ला पाल्पाको सदरमुकाम तानसेन पुग्नु भन्दा अगावै साँघुरो र घुम्टी नै घुम्ती पार गर्दै बर्तुङमा पुगेपछि सिद्धार्थ राजमार्गलाई छोडेर बायाँ पट्टिको झनै साँघुरो सडक समाते पछि जो कोहीले पनि सहजै अनुमान गर्न सक्छन की गुल्मी जाने सवारी मार्ग यही नै हो भन्ने।

स्याङजा, गुल्मी र पाल्पा जिल्लाको संगमस्थलको रुपमा रहेको  प्रसिद्ध तीर्थस्थल रहेको रिडी क्षेत्रको पश्चिमी साँध सीमाना भएर बग्ने रिडी खोलामाथि एक पटकमा एउटा गाडी मात्र अट्ने गरि बनाइएको साँघुरो पुललाई पार गर्नासाथ गुल्मी जिल्ला टेकिन्छ। रिडी बजारबाट उकालो यात्रा सुरु गरी करिब ४५ किमी साँघुरो सडकको यात्रा पार गरेपछि प्रसिद्ध ऋषी ऋङयले तपस्या गरेको पबित्रस्थल रहेको रेसुंगाको काखमा अबस्थित तम्घास बजार पुग्दा जो कोहीलाई पनि भारतको प्रसिद्ध पर्यटकीय स्थल दार्जिलिङ पुगेको भावानुभुति हुन्छ।

पुर्वमा रेसुंगा र पश्चिममा समानान्तर अर्जुनको गगनचुम्बी पहाडको काखमा अबस्थित रमणीय तम्घास बजार देखेर मन लोभ्याउने सायदै कोही नहोला। समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा घना जङगलको माथि डाडोमा रहेको रेसुंगा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण रहेको एउटा पबित्र क्षेत्र मानिन्छ।

सवारी साधनको उपलब्धता र सडक सञ्जालको सुबिधा नहुँदासम्म तम्घास बजारको खोँच खानिगाउँ  वा बाख्रछेँडा देखि माथि रेसुंगा लेकमा पुग्न करिब दुई घण्टाको कठिन उकालो यात्रा पार गर्नु पर्दथ्यो। तर अहिले त्यहाँको अबस्था फेरिएको छ। सवारी साधन गुड्ने बाटो निर्माण भए पश्चात रेसुंगाको यात्रा पनि छोटिएको छ।  

गुल्मी जिल्लालाई नेपाली मानचित्रमा परिचित गराउने बिभिन्न भौगोलिक र धार्मिक तथा सांस्कृतिक सम्पदाहरु रहेका छन, रिडि क्षेत्र, सत्यवती लेक, धुर्कोट गुफा, गुल्मी चारपाला दरवार, आँपचौर कफी खेती आदि हुन भने प्रत्येक बर्षको दशैंमा देवीका मन्दिरहरुमा खेलिने सराय नाच गुल्मीको अलावा अर्घाखाँचीमा मत्र खेलिन्छ। तर रेसुंगाको बारेमा गुल्मेली माझ र नेपाली मानचित्रमा जुन परिचर्चा छ त्यो सायदै अरुसँग तुलना होला।  

गुल्मी जिल्लाको गहनाको रुपमा रहेको रेसुंगा आफैमा एउटा परिचित र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ। यसलाई जिल्लाको पर्यायवाची नै मानिन्छ। जिल्ला सदरमुकाम तम्घासलाई काखमा छपक्कै राखेर शीरमा रहेको रेसुंगाले गुल्मीलाई चिनाएको मात्र छैन एउटा मनमोहकरुपी आनन्द समेत प्रदान गरेको छ। प्रायः शीरमा बादलको घेराले लपेटिने रेसुंगा साउनमा हरियो सारीको सप्को हालेको कुनै सुन्दर महिला भन्दा कम देखिदैन।  धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण रेसुंगाको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने एउटा किताबमा मात्र सीमित राख्नु पनि अपुर्ण नै हुन जान्छ।  

दुईघण्टा पैदल हिडेर पुगिने रेसुङगमा केही वर्षयता पर्यटकीय स्थल गर्जुराको बाटो हँंदै प्रसिद्ध स्थल रेसुंगा पोखरी सम्म सवारी साधनको सुलभताले गर्दा करिब २० मिनेटमा पुग्न सकिन्छ। पोखरी देखि करिब २५ मिनेटको उकालो (डुङगाको कलात्मक सिँढी) पैदल यात्रापछि मुख्य गन्तव्य स्थल चुचुरोमा पुगिन्छ। उकालो यात्रामा सहजताको लागि करिव एकहजार सिंढी निर्माण गरिएको छ। कतिपयले यसलाई अपाङगता मैत्री नभएको भनि गुनासो समेत  गर्ने गरेका छन्।  

तथापी  माथी डाँडामा  पुगेपछि जो कोही पनि स्वच्छ हावा, वरीपरि रहेका सुन्दर पहाडका चुचुराहरु र उत्तरमा सेतै चाँदी जस्तै फैलिएर रहेको हिमाल श्रृंखलाको मनोरम दृष्यमा रमाउन सकिन्छ। यहाँ रहेको भ्यू टावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ। गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङ्जा, अर्घाखाँची र बाग्लुङ जिल्लाको दृश्य अवलोकनको अलावा धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे जस्ता हिमश्रृंखलाहरु पनि यहाँबाट सजिलै देख्न सकिन्छ। कसै कसैले त रेसुंगाको चुचुरोबाट दक्षिण तर्फ नियालेर हेर्यो भने भारतको गोरखपुर सम्म पनि देखिन्छ भन्ने गर्दछन्।  

रेसुंगामा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा गर्ने गरिन्छ। जसको कारण यसको गरिमा चुलिंँदो छ। साउन महिनामा रेसुंगाको पोखरीमा स्नान गर्नाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता र बिश्वास रहि आएको छ। सिद्धभूमि, तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहेको छ। ऋषि श्रृंङगेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रहेको रेसुंगाको महत्व धेरै वेद पुराणमा समेत उल्लेख छ।  

बिस. २०४१ सालमा योगी नरहरिनाथले एकमहिनासम्म होम गरेर रेसुंगाको महिमा बढाउन गरेको पबित्र प्रयास आज पर्यन्त गुल्मीबासीको मनमा छ। हुनत त्यति बेला नरहरिनाथको उक्त कार्यलाई ब्यवस्था परिवर्तनको लागि गरिएको कार्य भनि तत्कालीन अबस्थामा उक्त कार्यक्रम रोक्ने प्रयास पनि भएको थियो। तर यज्ञ रोकिएन।  तथापी योगी नरहरीनाथको सो प्रयासले गर्दा नै आजको रेसुंगा बनाउन मद्दत पुगेको कुरामा कुनै मतभेद नहोला। 

रेसुंगाको उत्तर पुछारमा रहेको साउने जङगलको बीचमा रहेको गौशालामा त्यतिवेला हवन गरेर छोडेका गाइलाई २०४२ सालदेखि व्यवस्थित रुपमा पाल्न थालिएको हो। गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुंगामा रहेको गौशालमा व्यवस्थित रुपमा गाइहरु हाल रेसुंगा संरक्षण समितिको संरक्षणमा पालिएका छन्। बिगतमा  रेसुंगा मन्दिरमा रहेका अमुल्य मूर्ति तथा धातुहरु चोरी हुने समस्या रहेको भए तापनि हाल सुरक्षा निकायको सकृयताले अपराधिक घटनामा कमी आएको छ।

अन्य महिनाको तुलनामा साउन महिनामा रेसुंगाको महत्व अझ ब्यापक छ। साउन महिनामा रेसुंगामा होम तथा पूजाआजा एवं पबित्र पोखरीमा स्नान गरि पुन्य आर्जनको लागि दैनिक सयौंको संख्यामा श्रदालु भक्तजन तथा पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ। तम्घास तथा आसपासमा ठूलो संख्यामा बसोबास गर्ने वशिष्ठ गोत्रीय पाण्डे समाजले पुर्खौ देखि साउन महिनामा रेसुंगामा खिर चढाउने गरेका छन, जुन आज पर्यन्त  निरन्तर छ।    

वरिपरि घना जङगलले घेरिएको हुंदा रेसुंगाले पनि गर्मी तथा सुख्खा याममा आगलागिको मार खेप्नु परेको छ। नयाँ पालुवा राम्रोसँग पलाउने भनि मानिसहरुले जानीजानी पनि आगलागि गराउने गरेका छन। जसको कारण हजारौको संख्यामा रहेका जङगली जनावरहरु बिस्थापित हुनु परेको छ भने बोटबिरुवाहरु आगोको कारण जल्न गई जङगल कुरुप बन्ने गरेको छ। अन्य बर्षहरुको तुलनामा अहिले रेसुंगाले अकल्पनीय डढेलोको सामना गर्नु प¥यो।

तम्घासबासीको लागि पानीको मुख्य श्रोत रहेको रेसुंगा यसपाली आगलागिको कारण करिब करिब उजाड बनेको छ। अर्को तर्फ यहाँको जैबिक बिबिधता पनि बिनास उन्मुख छ। तसर्थ भबिष्यमा यस्ता घटनाहरु हुन गर्न नदिन सरोकारवालाहरुले गर्मीयाम सुरु हुनु अगावै निश्चित योजना सहित यसको संरक्षण र प्रर्वद्धनका लागि एकजुट भई लाग्नु पर्ने हुन्छ।  

बिगत लामो समय देखि चर्चामा रहेको रेसुंगा बिमानस्थल हाल संचालनमा आएको र नियमित रुपमा उडान भएको कारणले गर्दा पनि रेसुंगालाई पर्यटकको आधारभूमीको रुपमा पनि विकाश गर्न सकिन्छ। तर सबैको पहुँंचमा हवाई यातायात नहुन सक्छ। त्यसकारण यसको लागि सडक सञ्जाललाई ब्यबस्थित बनाउनु अपरिहार्य हुन्छ। बुटवल पाल्पा तमघास मुख्य सडकलाई  ब्यबस्थित बनाउने कार्यहरु पनि भइरहेको छ।

यसको ब्यापकताको लागि राजधानी काठमाण्डौ तथा पोखरा एवं बुटवल र भैरहवाका ठूला होटेल व्यावसायी र ट्राभल एजेन्सीहरु र पर्यटन ब्यवसायीहरुको सहकार्यमा प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली र गुल्मीको रिडी–रेसुंगा तथा पाल्पाको रानीमहल समेतलाई जोड्ने गरि पर्यटकीय गुरु योजना सहित कार्यान्वयन गर्न सकेमा रेसुंगा रुरु क्षेत्र संगै समग्र गुल्मीको  बिकाशमा समेत थप टेपा पुर्याउन सकिन्छ।

प्रकाशित: १८ असार २०८१ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App