१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
ब्लग

आहा त्यो रारा !

नियात्रा

भौगोलिक रूपमा दुर्गम कर्णाली जस्तै मुगुको रारा ताल पनि अत्यन्तै विकट छ। मुगुको भिरालो जमिन त्यति खेतीयोग्य पनि छैन। हुन त जौं, गहुँ, आलु, फापर, कोदोलगायतको खेती गर्ने गरिन्छ। तर अहिले कतिपय खेती गर्नै छाडिएको छ।

मुगुका गाउँहरूमा गतवर्ष भदौमा छरेको जौं बैशाखको पहिलो हप्तासम्म पनि काट्ने बेला भएको थिएन्। अझै हरियो अवस्थामै देखिन्थ्यो। त्यहाँ बाली पाक्न ठ्याक्कै एक वर्ष लाग्छ।  ४ वटा स्थानीय तह रहेको मुगुको सदरमुकाम गमगढी सबैको माझमा नै अवस्थित छ।

रारा छेउबाट चंखेली हिमालमा हिउँ टलक्क देखिन्थ्यो। रारा तालबाट ३ घण्टाभन्दा बढीको दूरीमा अवस्थित उक्त हिमाल रारा झै सधै हासिरहेको छ। एक रुपैयाँको नोटमा राखिएको चंखेली हिमाललाई स्थानीयहरू गौरवकै रूपमा लिन्छन्।

मुगु सदरमुकाम गमगढीको सल्लेरीसम्म अहिले मोटरबाटो पुगेको छ। बाहरिबाट रारा घुम्न आउने धेरैलाई बाटोले दुःख पनि दिने गरेको छ। रारा तालको छेउमा पुग्ने जो कोहीँलाई बाटोमा पाइएको दुःखलाई राराको दृश्यले भुलेर पठाउने गरेको छ। अझै सडकको अवस्था सुधार भएको भए त्यहाँबाट अन्यत्र आवत जाउत गर्न कम्तीमा सहज हुने थियो ? 

अहिले सडक पनि उस्तै कठिन छ,भने भाडा पनि त्यत्तिकै महँगो छ। उसो त कर्णालीलाई दुर्गम भएकै कारण राज्यले ठगेको छ। रारा तालको पूरा आकृति हेर्ने हो भने समुद्री सतहदेखि करिब ४ हजार मिटर उँचाइमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ। यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिन्छ,भने राराको सबै भाग नियाल्न सकिन्छ।

यो तालमा विश्वमै कहीँ नपाइने स्नो ट्राउट माछा पाइन्छ। तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ,भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ। ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ।

मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको हो। रारामा घोडाबाट घुम्ने रहर गरेकाहरुका लागि सल्लेरीबाट राराताल सम्म पुग्न घोडसवारु पाइने गरेका छन्। सल्लेरीमा बास बस्नेहका लागि भने केही होटल पनि छन्।

विशेष गरी रारा यात्राको लागी भदौ देखि कार्तिकसम्म र चैत्रदेखि असारसम्म आन्तरीक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ। यो समयमा ऋतु परिवर्तन हुने भएकाले अत्याधिक चिसो नहुने,मौसम उचित हुने र वातावरण पनि सुन्दर हुने भएकाले यो समय पर्यटकको रोजाईमा पर्ने गर्दछ। सुन्दर हिमाली फाटहरुमा मनलोभ्याउने फरक रंग र आकृतिका फुलहरुले पर्यटक तान्ने गरेको छ। बाटोमा देखिने काठका पुराना घरहरुले पनि मन लोभ्याउने गरेको छ। 

नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने इच्छा राखि कालीकोटबाट गएका हामी दुईजना पत्रकार ललित बिष्ट र किरण अधिकारीसँगै कालीकोटका मेडिकल ब्यवसायी तुलाराम बिष्ट,उनका छोरा भिजन बिष्ट,जिल्ला अस्पताल कालीकोटका डाक्टर शुभनारायण  ठाकुरसँगै दाङका डाक्टर सहितको टोली राराको लागि वैशाख १ गते कालिकोटबाट गाडीको यात्रा तय भयो। 

बाटोमा रमाउँदै साझ पख मुगु र जुम्लाको सिमाना भुलभुले लेकको एक होटलमा बास बस्ने निधोसँगै होटलमा झर्र्यौ, होटेल सञ्चालक एक महिला थिइन् । उनीसँग पिउने तातो पानी माग्दा उनीले हाम्रो टिमलाई पानी दिदैँ खषभाषमा ‘लय खाव’ भनिन् त्यो उनको खष लवज सुन्दा डाक्टरहरु ट्वाल परे।

हल्का बुझिने त्यो भाषाको अर्थ लिनुस् खानुस् भन्ने हो। पानी पिएपछि आगोको अगेना नजिक बसेका हामीहरुलाई पोलेको लोकल आलुले स्वागत गरिन्। विस्तारै आलुखाई सक्काएपछि उनले खाना पस्कन सुरु गरिन्।

स्थानीय च्याँङग्राको मासुसँगै अर्गानिक मार्सी चामलको भात, लोकल आलुको तरकारीको स्वादसँगै हाम्रो साझँको भोजन भयो। खाना खाएर सबै जनालाई जाव पाण (घरको माथिल्लो तला) का कोठामा सुत भन्दै कोठा देखाएपछि सबै जना आफ्नो कोठामा सुते।

भुलभुलेको लेकबाट चिरबिर चराको आवाज र हिउँको चिसो सिरेटोसँगै बिहान ५ बजे टोलीका सबै जना उठे चिसो धेरै भएकाले सबैले बिहानको तातो पानी पिउँदै बिहानको नित्यकर्म सके ।

हिमाली जडिबुटी युक्त चियाको स्वाद लिई होटेलबाट बिदा हुदै सबैले आफ्नो झोला गाडीमा राखेर रारातालको लागि बैशाख २ गते बिहानै हाम्रो दोस्रो दिनको यात्रा सुरु भयो।

भुलभुले लेखबाट भिरालो सडकसँगै सात मोडहुदै रारा जाने मुलबाटोबाट सल्लेरी पुग्दा हाम्रो गाडीको यात्रा सकियो। गाडीको यात्रा सकिएसँगै रारा राष्ट्रिय निकुञ्जको गेटले हाम्रो स्वागत गर्‍याे।

वैशाख २ गते दिनमा अलि मधुरो घाम लागेको थियो। अग्ला कोर्णधारी बनस्पतिले भरिपुर्ण सल्लेरी चौर घुम्दै रारा तालको छेउमा रहेको मिलि चौरमा पुग्दा रारा ताल देखिन सुरु भयो। हामी सल्लेरीबाट रारा निकुञ्ज हुदैँ रारा ताल पुग्यौं, पहिलो पटक रारा पुग्दा बाटोमा पाइएको जति दुःख एकै छिनमा बिर्सियौ एक किसिमले मन हलुंगो भयो। 

रारा तालको सुन्दरताको दृश्य अवलोकन गर्दै कोही तस्बिर खिचाउन ब्यस्त भए,भने कोही घोडावलासँग घोडसवारको लागि मुल्य मोलमोलाई गर्दैँ थिए। सामान्य घोडामा चढेर फोटो खिचेको एक सय र घोडसवारको पाँच सय सम्म घोडावालाले लिने रहेछन्। हामी राराको दृश्य अवलोकन गर्दैँ डुङंगा चढ्ने ठाउँसम्म हिडेर पुग्यौं। त्याँ पुग्दा अन्य आन्तरिक तथा वाहृय पर्यटकसँग घुलमिल हुदैँ कुराकानी भयो।

रारा पुगेका दाङका डाक्टरले लगेको साइकलमा चढेर रारा अवलोन गर्दैँ फोटो खिच्न सुरु गरेपछि सबैले साइकल चढ्ने रहर पुरा गर्दै फोटो खिचेर सकिएपछि रारा ताल घुम्न डुङगा चढ्ने ठाउँ सम्म पुग्यौं। डुङगा चढेपछि रारा पुगेको अनुभुति सुरु भयो।

बिहान ७ बजे देखि १२ बजे सम्म मात्र डुङगा चढेर वारपार र घुम्न पाइने रहेछ।  हामीले डुङगा चढ्दा  बिहानको ११ बजेको थियो। ११ बजे देखि १२ बजेसम्म डुङगा चढेर रारा घुम्न सुरु भयो। डुङगामा घुम्दै रारामा एक फन्को मारेपछि हावा चल्न सुरु भएपछि हाम्रो यात्रा पनि तालको छेउमा आएर रोकियो।

रारा छेउमा धेरै घोडावालहरु लाइनमा थिए। सबै जनाले एकएक घोडामा चढेपछि सल्लेरीको रमाइलो घोडेयात्रा सुरु भयो। करिव ३० मिनेटको रमाइलो घोडेयात्रापछि सल्लेरी पुगेर एक होटलमा खाना खाएर केही समयको आराम पछि कालीकोटको यात्रा तय भयो।

 

बाटोमा विस्तारै गाडीमा सवार भएपछि कोर्णधारी वनको सुन्दर दृश्य खिच्दै,बाटोमा फुलेका गुराँस,हिमालमा रहेको हिउँ,हिमाली फुलसँगै रमाउदै,खष सभ्यताको राजधानी सिंजाँमा पुगियो।

पहिले बाइसे–चौबिसे राज्य हुँदा राजाहरुले राजगरेको दरबार भएको ठाउँमा हाल कनकासुन्दरी मन्दिर रहेछ। वरिपरी सिंजाँ नदी र बिचको अग्लो थुम्कोमा रहेको कनकासुन्दरीको मन्दिर र सिंजाँ उपत्यकाको मनोरम दृश्यले सबैको मन लोभ्यायो।  

सिंजा उपत्यकाको ईतिहास सुन्दै स्याउँ फुलेर सेताम्य भएका बगैँचाका फाटहरु नियाल्दै कालीकोट र जुम्लाको सिमाना नाग्म बजार पुगियो। अति कठिन बाटोको यात्राले थकित हामीहरुले बाटोमा खाजा खादैँ २ गते राती ११ बजे कालीकोटको सदरमुकाम मान्म बजार पुगियो। 

यो दुई दिनको रारा यात्राले केही सिकाई थप्दै रारा पुग्ने पर्यटकको लागि सडक कठिनाई भए पनि राराको सुन्दर दृश्यले फेरी पुग्न उत्साहा थपेको महसुस भएको छ। राराको सौन्दर्यता, कर्णालीको जनजीवन र खस राज्यको एैतिहासिक पृष्ठभुमिको बारेमा बृह्त ज्ञान हासिल गर्ने हाम्रो उपलब्धिमुलक रारा यात्रा रह्यो।  

प्रकाशित: १२ वैशाख २०८१ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App