२००८ फागुन ११ गते पूर्वी नेपालको तेह्रथुममा जन्मनुभएका खड्गप्रसाद शर्मा ओली २०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभन्दा अगाडिदेखि निरन्तर पूर्णकालीन राजनीतिमा हुनुहुन्छ । ५ दशकभन्दा लामो राजनीतिक यात्रामा देशको कार्यकारी पदमा भने २९ महिना मात्र रहनुभएको रहेछ । २०२८ सालमा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएर राजनीतिक जिम्मेवारी बहन गर्नुभएका ओली २०३० देखि १४ वर्ष जेल जीवन पश्चात् २०४४ असार ११ मा रिहापछि नेकपा मालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहनु भयो ।