१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

राजनेताका रूपमा अाेली

२००८ फागुन ११ गते पूर्वी नेपालको तेह्रथुममा जन्मनुभएका खड्गप्रसाद शर्मा ओली २०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभन्दा अगाडिदेखि निरन्तर पूर्णकालीन राजनीतिमा हुनुहुन्छ । ५ दशकभन्दा लामो राजनीतिक यात्रामा देशको कार्यकारी पदमा भने २९ महिना मात्र रहनुभएको रहेछ । २०२८ सालमा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएर राजनीतिक जिम्मेवारी बहन गर्नुभएका ओली २०३० देखि १४ वर्ष जेल जीवन पश्चात् २०४४ असार ११ मा रिहापछि नेकपा मालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहनु भयो ।

बहुदलीय व्यवस्था स्थापनापछि २०४८ सालमा झापा–६ बाट निर्वाचित भएर प्रतिनिधि सभाको सदस्यका रूपमा काम गरेका ओली २०५१ मा मध्यावधिमा पुन झापा–२ बाट निर्वाचित भएपछि २०५१ साल मंसिर १४ गते कम्युनिस्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रिय सरकारको गृहमन्त्रीका रूपमा २०५२ भदौ २७ गतेसम्म कार्यकारी मन्त्री पदमा रहेर देशको अन्तरिक शान्ति सुरक्षा र शासन प्रणालीको पहिलो अनुभव सफलतापूर्वक ९ महिना सञ्चालन गर्नुभएको थियो । २०५६ सालमा संसद्मा झापा–६ बाट प्रतिनिधि सभामा निर्वाचित भएर २०५९ सम्म प्रमुख प्रतिपक्षी दलको उपनेताका रूपमा जिम्मेवारी वहन गर्नुभएको थियो । २०६२÷६३ को आन्दोलन पछाडिको २०६३ वैशाख १९ देखि उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको जिम्मेवारी चैत १८ सम्म ११ महिना समाल्नुभएको ओलीले परराष्ट्रसँगको पनि राम्रो सम्बन्ध बनाएर काम गर्नुको साथै नेपालमा रहेका १ लाखभन्दा बढी भुटानी शरणार्थीको व्यवस्थापनमा विशेष भूमिका खेलेर भुटानी शरणर्थीको समस्या समाधान गर्ने काम गर्नुभएको सबैलाई जानकारी नै छ । २०७० मंसिरमा झापा–७ बाट संविधान सभामा निर्वाचित भएपश्चात् २०७२ असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भएपछिको पहिलो ३८ औँ प्रधानमन्त्रीका रूपमा २०७२ असोज २५ गते शपथग्रहण गर्नुभयो र २०७३ साउन २० गते औपचारिक रूपमा प्रधानमन्त्री पद हस्तान्तरण गर्नुभयो । ९ महिना नेपालको प्रधानमन्त्री भएर देशलाई अगाडि बढाउनु भयो। 

२०४९ माघमा भएको पार्टीको पाँचौँ महाधिवेशनपछि केन्द्रीय पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभयो । २०५४ माघमा भएको पार्टीको छैटौँ महाधिवेशनबाट स्थायी कमिटी सदस्यमा निर्वाचित भएयता २०५९ माघको पार्टीको सातौँ महाधिवेशनमा आन्तरिक लोकतन्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव प्रस्तुत गरे पनि अर्को महाधिवेशनसम्मका लागि स्थगित हुँदा पनि पुनः स्थायी समिती सदस्य हुनुभएको थियो । २०६५ फागुनमा आठौँ महाधिवेशनमा आन्तरिक लोकतन्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने स्थगित प्रस्ताव स्वीकृत भयो र नेतृत्वका लागि अध्यक्ष पदको प्रत्यासी भए पनि विजय हासिल गर्न सक्नुभएन भने २०७१ साउन १ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि मात्र पार्टीको कार्यकारी पदको जिम्मेवारी सम्हाल्नुभएको हो । नेकपा एमालेको अध्यक्ष पदमा ४२ महिना रहिसक्नु भएको छ । उहाँ नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित भएपछि एमालेको मात्र होइन, देशको नै नेतृत्व गर्नुभएको कुरा राजनीतिमा चासो राख्ने प्रत्येक व्यक्तिलाई अनुभूति भएको सर्वविदितै छ । पहिलो संविधान सभाबाट संविधान बनाउन नसकेर देश नै अस्थिर राजनीतिक चरणबाट गुज्रिरहेका बेलामा ठूला दलहरूबीच सहमति गरेर विभिन्न दबाबको कुनै प्रवाह नगरी नेपालको संविधान २०७२ घोषणा गर्ने काममा जुन नेतृत्व लिनुभयो, यसबाट निर्णय क्षमता र देशप्रतिको राष्ट्रिय भावना प्रत्येक नेपालीले गर्व गरेको विषय हो । प्रधानमन्त्री पदबाट २०७३ साल साउन ९ गते राजीनामासँगै संसद्को सम्बोधन मात्र होइन ९ महिना सरकार सञ्चालन गर्दा उहाँले समृद्धिको विषयमा उठान गरेका विषयले कार्यकारी भूमिकाको नेपाली जनताले अझै माग गरिरहेका थिए। 

जब संघीय संसद् र प्रदेश सभा २०७४ को निर्वाचनको मिति तय भयो र मनोनयन भयो देशव्यापी सभाका लागि ओलीको सम्बोधनको माग बढ्न थाल्यो । ताप्लेजुङदेखि डडेलधुरासम्म, एकैदिन ४ देखि ६ ठाउँसम्म सम्बोधन गरेर नेपाली जनतालाई वाम गठबन्धनको पक्षमा संविधानको कार्यान्वयन, समृद्ध राष्ट्र, सबल र स्थिर सरकारका लागि मत प्रदान गर्न आह्वान गर्नुभयो । झापा आन्दोलनको नेतृत्व गर्दै कोअर्डिनेसन केन्द्र माले, एमाले हुँदै आमगठबन्धनसम्म आइपुग्दा ओलीले धेरै उतारचढाव भोग्नुभयो । पार्टीभित्र र बाहिर, आलोचना र समर्थन, संर्घष र अन्तरसंघर्ष, निर्वाचित र पराजीत, ताली र गाली, माला र भाला, जेल र सिंहदरबार, देश र परदेश, शत्रु र मित्रु, घाम र पानी, उकाली र ओराली सबैबाट खारिएर सतिसाल भएर देश र जनताका लागि केही गर्ने अठोटसाथ आफ्नो जीवन समर्पण गरेका उहाँबाट यो देशले समृद्धिको बाटो लिँदैन भने नेपाली मातृभूमिले कोबाट आश गर्ने ? सजिलो काम त सबैले गर्न सक्छन् जटिल काम गर्नका लागि नै विशेष नेतृत्व चाहिने हो, जुन काम ओलीबाट सम्भव छ भनेर आम नेपालीले कुरेर बसेका छन् । जब नेकपा एमालेको सर्वोच्च कार्यकारी पद अध्यक्षमा निर्वाचित हुनुभयो, त्यसै दिनदेखि उहाँको नेतृत्वको फरकपन र यसबाट राष्ट्र र जनताले अनुभूति गरेको नयाँ दिशानिर्देश टट्कारो रूपमा देखिएको छ । नेपाल राष्ट्रको नै सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीमा निर्वाचित भएपछि छोटो समयमा राष्ट्रियताप्रतिको अडान, दृष्टिकोण तथा समृद्धिको सपना र भिजनले सबैको आशाको केन्द्रविन्दु भएर नै उहाँले बोलेको प्रत्येक सम्बोधन सुन्न सबै नेपाली आजसम्म एकत्रित भएर उपस्थित हुने गरेका छन्। 

अत्यन्त प्रतिकूल अवस्थामा पनि एन्टी करेन्ट प्रस्तुत हुन सक्ने नेतृत्व क्षमता उहाँसँग छ । कार्यकारी भूमिकामा दूरदर्शी नेतृत्व हुँदा राज्यले गर्ने भनेको विकास र समृद्धि कस्तो हो भन्ने कुरा यही पुस्ताले देख्न र भोग्न पाउने गरी देशलाई समृद्ध राष्ट्रको पाइप लाइनमा राख्न सक्ने गरी हिँडाउन सके उहाँको बोली र काम शिलालेखमा लेखिए जस्तो गरी पुस्तौँ पुस्तासम्म अमर रहनेछ । यो विशुद्ध नेपाल र नेपालीका लागि हुनेछ । विश्वको इतिहास हेर्ने हो भने पनि समृद्ध राष्ट्र भएकाहरूमा पनि कुनै न कुनै दूरदर्शी नेताको नेतृत्वले गर्दा नै त्यो देशले विकास र समृद्धिमा फड्को मारेको पाइन्छ । अब नेपालको पनि त्यो दिन आउन लागेको जस्तो सारा नेपालीले अनुभूत गरेका छन् । यो आशा र अपेक्षा निराशामा परिणत हुनु हुँदैन भन्ने आम वामगठबन्धनको मतदाताको चाहना र भावना पनि हो। 

(ओली प्रधानमन्त्री हुँदाका वरिष्ठ आर्थिक विकासविज्ञ तथा नेपाल बुद्धिजीवी परिषद्का सह–कोषाध्यक्ष)

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App