१३ पुस २०८१ शनिबार
image/svg+xml
कला

सुदूर पश्चिमको संस्कृति

नियात्रा

नेपाली संस्कृति अनेक थरी फूलको एउटा माला।

सतहत्तर जिल्ला भ्रमण सक्ने रनाहाले इटहरीबाट सप्तरीको कन्चनसम्म बसयात्रा र पैदल गरी कन्चनदेखि महुलीसम्म पैदल यात्रा गरेको छु। सप्तरीको महुलीमा पुगेपछि बास बस्नुपर्ने भयो। महुली बजारका शम्भुनाथ होटलका साहु शम्भुनारायण यादवज्यू दयालु र पाहुनापाछाका मनकारी हुनुहुँदो रहेछ। मैले भ्रमणको उद्देश्य बताएँ। उहाँले माया गरेर पाहुना राख्नुभयो।

भोलिपल्ट नुहाइधुवाइ सकेर चिया पिएर बाटो लागें। बारा जिल्ला निजगढ। पर्सा जिल्ला जितपुर। बाराको निजगढ नगरपालिका हुँदै पर्साको जितपुर पथलैया निस्किन्छ। सचिव अशोक सिंह विरगंज नपा वडा- ३२ (वदननगर)सँग भेट भयो। जितपुर बजार पर्सा जिल्लामा पर्दोरहेछ। जितपुर पर्सा र बारा दुवै जिल्लामा पर्छ। विरगंंज महानगरपालिका हो। विरगंज बारा र पर्सा जिल्लामा पर्छ। प्रदेश २ को यात्रा सकेर जितपुरबाट चितवन नारायनघाट लागियो ७९ फागुन १२ दिनको एघार बजे। जितपुर सिमरा उपमहानगरपालिका-१, पथलैयाबाट हेटौडातिर लागियो र हाम्रो बस अबेला नारायणगढ पुग्यो। मधेसबाट आएको बस यहींसम्मको थियो।

बस फेर्दै बुटवल पुगियो राति नौ बजेतिर। नारायणगढदेखि बुटवलको बाटो चिनियाँ कम्पनी एउटाले ठेक्कामा बनाउँदै छ। बनिएपछि त बाटो छ वटा गाडी गुड्न सक्छन्। तर, अहिलेको अवस्था एकदमै खराब छ। पाँच घण्टा बस गुडेपछि बुटवल पुगियो। के गरूँ, के नगरूँ बुटवलमै रात बसूँ कि रात्रिसेवामा अतरिया जाऊँ दोधारमा बस्ने ठाउँ खोज्दै गएँ।

देशभरि जिल्ला उत्सव चल्दै छ। कहीं खाली ठाउँ छैन। एकछिनपछि काठमाडौंबाट एउटा बस आयो र रोक्यो। चढें सिट छैन। नगै भा छैन। लास्टैको क्याविन सिट। ट्वाइलेट गार्डको सिट रहेछ। आजकलका डिलक्स बसमा ट्वाइलेट हुँदोरहेछ।

अतरियाबाट दार्चुलाका लागि ६,१५ मिनट बिहान रात्रिसेवा बस छुट्यो। बस आफू आएकै हो रहेछ। फेरि त्यहीं बसमा चढेर क्याविनमै बस्नुपर्‍यो। बस कैलालीबाट डडेलधुरा हुँदै डोटीको बाटो कट्यो। दार्चुला जान डोटी जिल्ला छोएरै जानुपर्ने रहेछ। डोटीको जोरायल गाउँपालिका हुंँदै जाने रहेछ। सिट जे नै होस्, रातभरिको निद्रा जे नै होस्, बाटाभरिको रमिता हेर्न यहाँ प्रशस्त लालीगुराँस फूल रहेछन्। पहाडहरू लालीगुराँसले भरिएको देखिन्थ्यो। डडेलधुरामा खाना खाइयो। दार्चुला जाँदा कैलाली, डोटी, डढेलधुरा र बैतडी जिल्ला कट्नुपर्छ।

बैतडीको पाटन नगरपालिका रहेछ। पाटन भनेको मध्य पहाडी लोकमार्गको परिकल्पित नयाँ शहर। सुनेको कुरा, मध्यपहाडी लोकमार्ग राष्ट्रकै लामो बाटो। पूर्वदेखि पश्चिमसम्मका लागि दश परिकल्पित शहर बन्दै छन् रे यस बाटामा। बाटो सम्पूर्ण बनिएर सकिएको छैन। बनिंदै छ र बन्छ भन्ने विश्वास छ। मध्यपहाडी लोकमार्ग बनिसकेपछि हिमाल भेकतिर जान सहज हुन्छ।

बैतडीको पाटन शहर पुग्दा १२ बजिसकेको थियो। ४ बजे दार्चुला प्रवेश भयो। बैतडी जिल्ला डिलाशैनी सकिएर दार्चुला जिल्ला गोकुलेश्वर लाग्दोरहेछ। यहाँको चौलेनी खोला नै दुई जिल्लाको सिमाना। चमेली बिजुली उत्पादन यहीं खोलाबाट भएको कुरा गर्दै थिए। अतरियाबाट बिहान ६ बजेर १५ मिनटमा छुटेको बस दार्चुला सदर खलङ्गा आइपुग्दा ९ बज्यो।

बाटाभरि बसले देउडा गीत बजायो। एउटा गीतले सुदूरपश्चिम हिमाली भेकको गाउँबस्तीको दृश्य नै दुरुस्तै देखियो। गीतको भाव यस्तो थियो, ‘हल गोरु नारेर खेत रोपेर मार्सी धान फलाउँछौं। घरमा भैंसी लैनो छ। सानो मायासँग पिरती गाँसिएको छ।’

यस गीतले पूर्वेली लोकगीतसँग जुवारी नै खेलेको छ। लोकप्रिय लोकगीत ‘रिङकेबुङको राँगोलाई,ताप्लेजुङमा ताकेर कालेबुङमा काटेर’जनप्रिय छ। सुदूर पश्चिमको देउडाचाहिं ठ्याक्कै विपरीत छ। जुवारी नै खेलेको छ। दुवै गीत जनप्रिय छन्। गीतकारले आआफ्ना मनपराइका शब्द चयन गरेका छन्। ठाउँ र संस्कृति विछुट्टै मजाका छन्। कहीं राँगो काटिदा खुसी मनाइन्छ। कहीं भैंसी लैनो भइदिंदा दूध खान पाइन्छ भनेर खुसी मनाइन्छ। अनेक थरी फूलको एक नेपाली माला भनेको यही त हो नि।

प्रकाशित: ९ चैत्र २०७९ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App