नेपाली लेखक सङ्घ कास्कीले लेखक कृति पुरस्कार २०८१ र स्रष्टा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ।
गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशील लेखकको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले स्थापित लेखक कृति पुरस्कार यसपटक २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट छनौट गरी नवलपुरका स्रष्टा वरिष्ठ कवि गोविन्दराज विनोदीको पुस्तक अलङ्कार इन्द्रेणीलाई पच्चीस हजार रूपैयाँसहित पुरस्कृत गरिएको छ।
त्यसैगरी वरिष्ठ कवि तारा पाखेलाई लामो समय नेपाली साहित्यमा योगदान दिए वापत स्रष्टा सम्मान गरिएको छ।
डा. लक्ष्मीशरण अधिकारीको संयोकत्वमा डा. गणेश शर्मा र डा . विष्णुप्रसाद शर्मा सदस्य साथै संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहेको समितिले कृति छनोट गरी कार्यसमितिलाई पुरस्कारका लागि सिफारिस गर्दै कार्यसमितिको बैठकले सिफारिस अनुमोदन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली लेखक सङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठले स्रष्टाद्वयलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कृत व्यक्तित्वहरूको साहित्यिक यात्राहरु र योगदानको चर्चा गरी बधाई दिएका थिए।
कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक डा लक्ष्मीशरण अधिकारीले पुरस्कृत पुस्तक र पुस्तकका लेखक गोविन्दराज विनोदीको बारेमा प्रकाश पारेका थिए भने संस्थाका उपाध्यक्ष कमल पौडेल अथकले आगन्तुकहरुलाई स्वागत गर्दै अर्का सम्मनित स्रष्टा तारा पाखेको व्यक्तित्वको बारे आफ्नाधारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले आफ्ना सारगर्भित मन्तव्य दिदैं पुरस्कृत र सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना दिएका थिए।
नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी र नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष दीपक समीपले शुभकामना मन्तव्य दिएका थिए।
संस्थाका अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव प्राञ्जलले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा कवि तारानाथ पराजुलीले पुरस्कृत कृतिबाट कविता वाचेका थिए।
प्रकाशित: २५ माघ २०८२ १२:३८ आइतबार





