१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

छोरो जन्मिनुअघि जन्मिएको चिन्ता

कथा

“सपना देख्नु मानिसको स्वभाव हो तर सपना भन्दैमा चाहिने-नचाहिने कुरामा आफ्नो समय बर्बाद गर्नु उचित होइन नि। तिमी कसरी भन्न सक्छ्यौ - छोरो नै हुन्छ भनेर?

“आखिर आमाको मन पनि केही त हो नि। अवश्य पनि छोरै जन्मिन्छ। हेर्नुहोला।”

उनको स्वरमा विश्वासभन्दा बढी चुनौती थियो। खैर, उनले भनिन् भने मानिलिऊँ - छोरो नै जन्मिएला।

त्यसपछि हामी दुवै नजन्मिएको एउटा मानिसको स्वागतको तयारीमा लाग्यौँ। हाम्रो घरमा ऊ अझै कल्पना मात्र थियो तर उसको उपस्थितिले भने घरका धेरै कुरा बदलिसकेको थियो। मेरी श्रीमतीजीको दिनचर्या अब छोराको कल्पना गर्न र उसका लागि लुगा बुन्नमै सीमित भएको थियो। नानी पाउनु कैल्यैकैल्यै, कन्दनी बाट्नु ऐले भनेझैँ।

म पनि कहिलेकाहीँ त्यो नदेखेको, नजन्मिएको छोरासँग मनमनै कुरा गर्न थाल्थेँ।

“बुझ्याै, हाम्रो छोरालाई म आफू जस्तो जागिरे कदापि हुन दिन्नँ।”

म यस्तो दृढताका साथ भन्थेँ, मानौँ जागिर खानु मेरो आफ्नै रोजाइ थियो र अब छोराको भविष्य मेरो हातमा थियो।

“किन र?”

उनले अपेक्षा गरेभन्दा निकै कम उत्सुकताका साथ सोधिन्।

“साह्रै दुःखी जीवन हुन्छ जागिरेको।”

“मलाई त सबैभन्दा सुखी जीवन जागिरकै लाग्छ। न कसैको पीर न कसैको टन्टा। दस बजे हाजिर भयो, दिनभरि आराम गर्‍यो, पाँच बजे घर फर्क्यो। श्रीमती सदैव सेवामा हाजिर। घरकाज श्रीमतीको जिम्मा, कामकाज सरकारको जिम्मा।”

कति निर्दोष र सरल थियो उनको जागिरको परिभाषा!

सायद जागिर नखाएकाहरूका लागि जागिर यस्तै हुन्छ - समयमा कार्यालय पुग्यो, कुर्सीमा बस्यो, फाइल पल्टायो, बेलुका घर फर्कियो। जीवनको दुःख कार्यालयको ढोकामै छोडेर आयो तर जागिर खाइसकेपछि मात्र थाहा हुन्छ - कुर्सीमा बसेर पनि मानिस कति लामो बाटो हिँड्दोरहेछ।

“तिमीले जागिर गरेर परिवार पाल्नु परेको भए थाहा पाउँथ्यौ,” मैले भनेँ, “जागिर खानुभन्दा पहिले मलाई पनि त्यस्तै लाग्थ्यो। हुन त मैले जागिर रहरले होइन, करले खाएको हुँ। मेरा लागि जागिर त अनकण्टार जंगलको भीरमा भेटिएको मीठो फल हो - नखाए बाँच्नै नसकिने, खान खोज्दा लडेर मरिने डर!”

म एकछिन रोकिएँ।

“तर अनिवार्य आवश्यकता भएपछि जोखिमसँग डराएर कहाँ बस्न सकिन्छ र?”

हिजो मात्र एकजना साथीले भनेको कुरा सम्झिएँ।

“यार! जागिरे भनेको उकालोको चौतारीमा उभिएको बरपिपलजस्तै हो। मान्छेहरू माथि चढ्छन्, तल झर्छन्, एकछिन त्यही छहारीमा सुस्ताउन आइपुग्छन् र माथिको प्रगति र रमझम अनि तलको अवस्थाको वर्णन गर्छन्। जागिरेले त्यसैको अनुभूति लिन्छ, कल्पनामा एउटा चित्र उतार्छ अनि फेरि यथास्थितिमा उभिइरहन्छ। उन्नति गर्नु भनेको आखिर आफ्नो आकार बढाउनु मात्रै हो!”

मैले बीचैमा कुरा थपेँ, “त्यो पनि मलजल पाए त हो नि!” 

“अग्लो भएर दुनियाँ देख्ला भन्ने डरले र जरा फैलाउला भन्ने आशङ्काले मान्छेले ढुङ्गाले बाँधिदिएका हुन्छन् उसका सम्पूर्ण आधारलाई।”

“ठीक भन्यौ यार!” ऊ भन्दै गयो, “जागिर पनि त्यस्तै हो। दिनभरि अफिसमा घोटियो। बिहान घरबाट निस्कँदा र बेलुका घर फर्कंदा आफ्नै घरायसी समस्याहरू विकराल मुख आँ गरेर बसेका हुन्छन्। जागिरेले आत्मसमर्पण गरेर तिनलाई आत्मसात् गर्नैपर्छ।”

हाम्रो कुराकानी सकिएको थिएन। बरु जागिरका दुःखहरू एकपछि अर्को गर्दै हामीबीच आउँदै थिए - जसरी वर्षा याममा छानाबाट पानीका थोपा एकपछि अर्को झरिरहन्छन्।

त्यत्तिकैमा अर्को मित्रको सम्झना आयो - अर्थशास्त्री मित्र।

सबै कुरालाई अर्थशास्त्रीय भाषा र परिभाषामा तौलिन खोज्ने मेरो मित्र एकदिन अचम्म मान्दै भन्दै थियो, “यार! नेपालका जागिरहरूको स्थिति देख्दा मलाई अनौठो लाग्छ। तँ आफैँ विचार गर् त। प्रत्येक असार मसान्तपछि हाम्रो देशमा व्यापारिक मालसामानको मोल बढ्छ। व्यापारीले बढेको मोल सिंगै उपभोक्तामाथि थोपर्छ।”

ऊ बोल्दै गयो, “श्रमजीवी उपभोक्ता तीन प्रकारका छन् यो देशमा - किसान, स्वतन्त्र मजदुर र जागिरे अर्थात् परतन्त्र मजदुर!”

उसले आफ्नो व्याख्यान जारी राख्यो, “मालको मोल बढेपछि किसानले अनाजको भाउ बढाएर आफ्नो सन्तुलन मिलाउन सक्छ। मजदुरले मजदुरी बढाउन सक्छ तर तिमीहरूजस्ता जागिरेले कसरी मिलाउँछौ सन्तुलन - मालसामानको बढ्दो मोलसँग, अनाजको बढ्दो भाउसँग र मजदुरीको बढ्दो दरसँग?”

ऊ एकछिन रोकियो अनि आफैँले आफ्नो प्रश्नको सम्भावित उत्तर सम्झिएझैँ भन्यो, “तिमीहरूको पनि तलब बढ्छ क्यारे, हैन? बर्सेनि।”

“हो, बढ्छ,” मैले भनेँ, “ बर्सेनि पन्ध्रबीस रुपैयाँ तलब बढ्छ तर अर्थशास्त्री भाइ, भाउ त जम्माजम्मी पन्ध्र रुपैयाँ मात्रै बढ्दैन नि!”

मेरो मुखबाट एउटा लामो सुस्केरा निस्कियो।

“कमजोरी तिमीहरूको के हो नि।” उसले फेरि प्रश्न गर्‍यो।

“सङ्गठन खोलेर आफ्ना समस्याका लागि किन लड्दैनौ?”

लाग्थ्यो, मेरो मित्रमा पनि कानुनी भूत सवार भएको थियो।

उहिले हामीले कानुन पढ्दा मलाई पनि लाग्थ्यो - हरेक समस्याको कानुनी उपचार हुन्छ, हरेक अन्यायको एउटा समाधान हुन्छ, हरेक निरीहताका लागि कानुनको एउटा ढोका खुल्छ।

तर त्यो मेरो कानुन किताबका पानाभित्र मात्र सीमित थियो। व्यवहारमा आएपछि थाहा भयो - कानुनका अक्षरहरू मेटाउन कुनै ठूलो प्रयास आवश्यक पर्दैन रहेछ। एउटा व्यावहारिक ‘इङ्क-रिमुभर’ काफी हुँदो रहेछ।

कानुनका मोटामोटा ठेलीभित्र लेखिएका अक्षरहरू कसरी बिस्तारै फिक्का हुँदै जान्छन्, त्यसको अर्थ मैले कानुनी उपचार खोज्ने क्रममा नै सिकेँ। अन्ततः किताब पढेर चित्त बुझाउनु नै मेरो कानुनी उपचार बन्न पुग्यो।

त्यसैले मित्रलाई छोटो तर रामबाण जवाफ दिएँ, “यो नेपाल हो, यार! यहाँ जे पनि सम्भव छ तर केही पनि सम्भव छैन।”

यति भनेपछि हामी दुवै केहीबेर चुप लाग्यौँ। सायद त्यो एउटा वाक्यभित्र हाम्रो समयको धेरै ठूलो कथा अटाएको थियो।

यथास्थितिमा फर्केपछि म श्रीमतीतिर हेर्छु। सायद मेरो दुःखेसो पोख्ने ठाउँ अन्त कतै छैन।

उनी आफ्नै संसारमा छिन् - हातमा ऊन छ, आँखामा नदेखिएको छोराको अनुहार।

म भने आफ्नै संसारमा छु - हातमा जागिर छ, आँखामा नदेखिएको भविष्य।

म फेरि भन्छु, “जागिर एउटा भाङको लड्डु हो। नखाउन्जेल खाऊँखाऊँ लाग्ने, खाएपछि उपर्तली हुने।”

उनी मेरो अनुहारतिर हेर्छिन् र मुस्कुराउँछिन्। मैले भनेको कुरा उनले ध्यान दिएर सुनिन् कि सुनिनन्, म निर्क्यौल गर्न सक्दिनँ तर म भने त्यो नजन्मिएको छोराको बारेमा सोचिरहन्छु।

ऊ जन्मिएपछि के होला? के उसले पनि मैले जस्तै जागिर खानुपर्नेछ? के उसले पनि आफ्नो बुबाले जस्तै कुनै दिन थाकेर घर फर्किनेछ? के उसले पनि आफ्नो सन्तानलाई अँगालो हालेर भन्नेछ, “मेरो छोरो, तँलाई म आफूजस्तो जागिरे कदापि हुन दिन्नँ?”

मलाई थाहा छैन।

तर एउटा कुरा भने थाहा छ - अहिले ऊ जन्मिएको छैन तर उसको भविष्यको चिन्ता भने आजैदेखि जन्मिसकेको छ।

प्रकाशित: १८ आश्विन २०८३ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App