हाल रसुवामा आएको आकस्मिक बाढीले देशलाई नै दुखी बनाएको छ। यस अवस्थामा सकेसम्म सबैले आफ्नो सानो सहयोगले भए पनि त्यहाँका पीडितलाई उद्धार गर्नुपर्छ भन्ने छ। तर यही विपत्तिको समयमा भने नेपाली एयरलाइन्सले आफ्नो हवाई जहाज टिकेटको मूल्य झनै दुई गुणा बढाएको छ।
देशलाई विपत् परेको समयमा हवाई सेवाको टिकेटमा वृद्धि हुनुलाई लिएर अभिनेत्री पूजा शर्माले असन्तुष्टि जनाएकी छन्।
हाल छोटो दुरीको टिकेटको मूल्य समेत दश हजारसम्म पुगेको बताउँदै उनले संवेदनशील अवस्थामा बाध्यताको फाइदा नउठाउन आग्रह गरिन्।
हवाई जहाज टिकेटको स्क्रिनसर्ट सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा लेखिन्, ‘अलिकति मानवता भन्ने कुरा पनि राखौँ है, व्यवसायी तथा व्यापारी साथीहरू। कुन बेला कस्तो अवस्थामा व्यापार गर्ने र नाफा कमाउने भन्ने कुरा तपाईँहरूलाई राम्ररी थाहा छ। तर आज देश यस्तो विपत्तिमा परेको बेला, मानिसहरू आफ्नो ज्यान बचाउन र घर फर्किनसमेत सङ्घर्ष गरिरहेका छन्।’
मानवीयता र संवेदनशीलता भन्दा माथि नाफा नहुने बताउँदै उनले भनिन्, ‘यस्तो संवेदनशील समयमा बाध्यताको फाइदा उठाएर हवाई टिकटको भाडा बढाई अत्यधिक नाफा कमाउने प्रयास नगरौँ। व्यापारमा नाफा आवश्यक छ, तर मानवीयता र संवेदनशीलता त्यसभन्दा ठुलो कुरा हो। आज कमाएको नाफाभन्दा आज देखाएको मानवता ठुलो हुन्छ।’
प्रकाशित: १० भाद्र २०८३ १८:२५ बुधबार





