६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

किन राजपाल यादवले तिहाड जेलमा आत्मसमर्पण गरे?

बलिउड अभिनेता राजपाल यादवले दिल्ली उच्च अदालतको आदेशपछि बिहीबार दिउँसो चार बजे (स्थानीय समय अनुसार) तिहाड जेलमा आत्मसमर्पण गरेका छन्। 

अदालतले उनको समयसीमा थप्ने निवेदन पटक-पटक अस्वीकार गरेको थियो।

यो घटना सन् २०१० तिर सुरु भएको चेक बाउन्स प्रकरणसँग जोडिएको छ। उनले आफ्नो फिल्म ‘अता पता लापता’ बनाउनका लागि एम/एस मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड कम्पनीबाट पाँच करोड भारतीय रुपैयाँ ऋण लिएका थिए। ऋण फिर्ता गर्न दिएका धेरै चेक बाउन्स भएपछि कम्पनीले सात वटा मुद्दा दर्ता गरेको थियो।

सन् २०१८ मा एक स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो। सन् २०१९ मा अर्को अदालतले सो सजायलाई सदर गर्‍यो। सन् २०२४ जुनमा दिल्ली उच्च अदालतले सजायमा अस्थायी रोक लगाएर मिल्नको लागि मौका दिएको थियो। उनले पटक-पटक अदालतमा भुक्तानी गर्ने वाचा गरेका थिए, तर पूरा गरेनन्।

अक्टोबर २०२५ मा उनले ७५ लाख भारतीय रुपैयाँको दुई बैंक ड्राफ्ट जम्मा गरेका थिए। तर कुल ११ करोड ९० लाख भारतीय रुपैयाँमध्ये अझै ९ करोड भारतीय रुपैयाँ तिर्न बाँकी रहेको अदालतले उल्लेख गरेको छ। जानकारी अनुसार प्रत्येक मुद्दामा उनले एक करोड ३५ लाख भारतीय रुपैयाँ तिर्नुपर्छ।

फेब्रुअरी २, २०२६ मा न्यायाधीश स्वरण कान्त शर्माको इजलासले उनलाई बुधबार (फेब्रुअरी ४) दिउँसो चार बजेसम्म आत्मसमर्पण गर्न आदेश दिएको थियो। अदालतले भनेको थियो, ‘उनले बारम्बार अदालतको अवज्ञा गरेका छन्, उदारता देखाउनुपर्ने कुनै आधार छैन।’

उनको कानुनी टोलीले ५० लाख भारतीय रुपैयाँ व्यवस्था गरेको भन्दै थप समय मागेको थियो। तर अदालतले अनुरोध स्वीकार गरेन। उनले बुधबार आत्मसमर्पण नगरेपछि बिहीबार अदालतले तुरुन्त आत्मसमर्पण गर्न आदेश गरेको थियो। तिहाड जेल स्रोतका अनुसार उनले बिहीबार दिउँसो ४ बजे आत्मसमर्पण गरेका थिए। अब जेल प्रशासनले सामान्य प्रक्रिया अपनाएर सजाय भुक्तानी गराउने छ।

कामको कुरा गर्दा राजपाल यादव यस वर्ष प्रदर्शनमा आउने फिल्म ‘भूत बंगला’ र ‘वेलकम टु द जंगल’ मा देखिनेछन्। निर्माण पक्षका अनुसार भूत बंगला मे १५, २०२६ मा रिलिज हुनेछ भने वेलकम टु द जंगल जुन २६, २०२६ मा रिलिज हुनेछ। दुवै फिल्मको छायांकन सकिएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: २३ माघ २०८२ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App