२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

को हुन् ‘गौँथली’का निर्देशक कपिल?

यतिबेला चलचित्र ‘गौँथली’ चर्चाको केन्द्रमा छ। यसको विषयवस्तुले सुरुमा तानेका दर्शकलाई निर्माण टिमले गरेको प्रचार शैलीले थप आकर्षित गरिरहेको छ।

प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ। यसको गीत सार्वजनिक कार्यक्रममा ‘गौँथली’ का मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला र बेहुलीको भेषमा पुगेका थिए। किनकि त्यो गीतमा र सिनेमामा उनीहरू त्यही भेषमा थिए।

यही मेहनत यी दुई कलाकारले चलचित्रको प्रचार अघि बढाउँदै जाँदा पनि गरिरहेका छन्। केही दिनअघि अरुण र सिम्रन एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन त्यही भेषमा पुगे। सिनम्रनले आफू १५ वर्षको उमेरमै एक अटिजम भएको व्यक्तिसँग विवाह गर्न पुगेको बताइन्। अरुणले अटिजम भएको क्यारेक्टर सिनेमामा जसरी निर्वाह गरेका छन्, त्यही क्यारेक्टरमा अन्तर्वार्ता दिए।

सुरुमा धेरै साँच्चै कोही रियल क्यारेक्टरले अन्तर्वार्ता दिइहेको भनेर झुक्किएका थिए। जुन शैली यी दुई क्यारेक्टरले सिनेमाको प्रचारमा अपनाएका छन् र मेहनत गरिरहेका छन्। यसले सिनेमालाई थप धेरै दर्शकमाझ पुर्‍याएको छ।

‘गौँथली’ मा यो विषय उठान गर्ने र कलाकारले प्रचारका लागि यो शैली अपनाउन हौसला निर्देशक कपिल रिजाल र प्रकाश सुवेदीले दिएका हुन्।

निर्देशक रिजालले यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका थिए। यसमा उनले पहिलोपटक जितु नेपाललाई हिरोका रूपमा ब्रेक दिएका थिए। ‘ह्यारी कि प्यारी’ उनको डेब्यु निर्देशन थियो।

यसपटक पनि उनले जोखिम मोलेर अटिजमको विषय उठान गरेका छन्। यही विषयको उठान र प्रस्तुति दर्शकले मन पराइहेका छन्, जसले सिनेमाको हाइप बढाउने काम गरिरहेको छ।

कपिल आफैँमा भने पेशाले चिकित्सक हुन्। लामो समय बेलायत बसेर उनले डेन्टल चिकित्सकको रूपमा काम गरेका थिए तर उनी पछिल्लो समय निर्देशनमा आइपुगेका छन्।

कपिल स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन्। गीतकार र चलचित्रकर्मी समेत रहेका भोला रिजालको कलाप्रतिको समर्पणको छाप सानैदेखि कपिलमा पनि परेको थियो। त्यसैले त्यसको प्रभावस्वरूप ढिलै भए पनि कपिल चलचित्र निर्देशनमा आइपुगेका हुन्।

डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय  छ। बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ।

चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी छ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।

‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।

अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्। यो चलचित्र साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ।

 

प्रकाशित: १८ असार २०८३ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App