१२ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सम्झनुपर्छ आफ्नो इतिहास र संस्कार

इतिहास

इतिहासका मुख्य स्रोतहरूमध्ये लेखिएका इतिहास, देखिएका अभिलेख र सुनिजानेका भनाइहरू हुन्। अर्थात् इतिहासका स्रोतहरू मूर्त र अमूर्त दुवै थरी हुन्छन्। धर्मको इतिहास हुन्छ, संस्कार–संस्कृतिको इतिहास हुन्छ, नैतिक शिक्षाको इतिहास हुन्छ, न्यायको इतिहास हुन्छ, देशप्रेम र देशभक्तहरूको इतिहास हुन्छ र सार्वभौमिकताका लागि गरिएका लडाइँ–भिडाइका इतिहास हुन्छन्। ती सबैको निचोडबाट नै राजनीति शास्त्र जन्मन्छ । अनि राजनीति शास्त्रकी आमा इतिहास हो। अनि राजनीति शास्त्रले देशमा जनताको लागि भलो हुने शासन गर्न सिकाउँछ। राजनीतिक शास्त्रले असल नेता र असल जनता जन्माउँछ। इतिहासले अभिलेख राखेका उत्तम र सर्वोत्तम शासन व्यवस्थाबाट पाठ सिकेर देशले राजनीतिक व्यवस्था निर्क्याेल गर्छ भने राजनीतिक व्यवस्था देशको मेरुदण्ड हो। त्यो मेरुदण्डमा मासु भर्ने, छाला भर्ने र रगत भर्ने काम विदेश नीति, शिक्षा नीति, सैनिक नीति, आर्थिक नीति, सामाजिक, सांस्कृतिक नीति आदिले गर्छन्।

सत्य कुरा के हो भने अनुशासित नेताको राजनीति, बहादुर र देशभक्त सिपाहीको बलिदानी, नैतिकशास्त्र पढाउने गुरु र नैतिकताले भरिएका शिष्यहरू, धर्म, संस्कार र संस्कृतिले भरिएको समाज र देश बचाउनका लागि एकै ठाउँमा उभिने जनताको इतिहासले नै कुनै पनि देशको राष्ट्रिय ऊर्जा भरिन्छ र जनताले, नेताले अनि कर्मचारीले आफ्नो कर्तव्य भुल्दैनन्। भन्नै पर्दा नेपालको किरात काल, लिच्छवि काल, मल्ल काल, शाह कालका इतिहासमा धेरै–धेरै राजनीतिक सुकर्मका इतिहास भेटिन्छन्।

अर्को कुरा, नेपालभन्दा टाढा भएका रामायण–महाभारतकालीन इतिहासले समेत हाम्रो सैनिक, सामाजिक र सांस्कृतिक पाटोमा ठुलो प्रभाव पारेको छ। ती इतिहासका अभिलेखहरूले नेपालीलाई व्यक्ति, परिवार, देश, र आम प्राणीजगत्को लागि के गर्दा पुण्य हुन्छ र के गर्दा पाप हुन्छ भनेर मनोवैज्ञानिक रूपमा एउटा नागरिकलाई नैतिक बन्धनमा बाँधेको थियो। घरघरका आमाहरूले, श्रीमतीहरूले आफ्ना छोरा, श्रीमान्हरूलाई देशका लागि मर्न–मार्न मनोबल दिए र कहिल्यै पनि कातर मन नदेखाएको इतिहास पढाइयो, सुनाइयो। जुन इतिहासले व्यक्तिलाई देशका लागि ज्यान–प्राण आहुति दिन अभिप्रेरित गरायो। अन्ततः हामीले बृहत् नेपाल जन्मायौं र नेपालको सार्वभौमिकताविरुद्ध आउने हजारौं–हजार बैरीहरूको प्रतिकार गर्‍यौं।

दिव्य उपदेश नेपालको हितकारी नीतिसंग्रह हो

बडामहाराजले आफू स्वर्गे हुनु केही दिनअगाडि मात्र आफ्ना राजपरिवार, काजी, भारदारलगायतलाई आफ्नो अगाडि राखेर नेपाली राज्य व्यवस्था चलाउन थुप्रै अर्ती–उपदेश दिएका थिए। ती उपदेशहरू बडामहाराजले पढेका र सुनेका इतिहास, आफूले भोगेका र देखेका अनि राज्यको माटो जोड्दा र राज्य बचाउँदा आइपरेका सहज र आपतकालीन अवस्थाको अनुभव र अन्तर्राष्ट्रिय मामिलामा उनले महसुस गरेका सबल र कमजोरी पक्षहरूलाई समेटेर व्यक्त गरेका अनुभवको सँगालो थियो। धेरै भारदारहरूले अभिलेखीकरण गरेको हुन सक्छ। तीमध्ये त्यहाँ उपस्थित काजी प्रधानसेनापति अभिमानसिंह बस्न्यातले अभिलेख गरेको कागजातमा जे भेटियो, धेरै वर्षपछि अरू थुप्रै कागजको पोकोमा राखिएको यो अमूल्य कागजातलाई फेला पारी काजी अभिमानसिंह बस्न्यातका पलाती बखतमान सिंह बस्न्यात (श्रीपाली) मार्फत यो श्री ५ महेन्द्रसमक्ष पुगेको थियो। यसलाई पछि ‘दिव्य उपदेश’ नाम दिइयो।

निचोडमा भन्नुपर्दा दिव्य उपदेश कुनै दार्शनिकले लेखेको काल्पनिक सिद्धान्त जस्तो नभई बडामहाराज पृथ्वीनारायण शाह आफैंले एउटा अब्बल लडाकु सिपाही बनी लडेको अनुभव, उनले बेहोरेका भोट, चीन र ब्रिटिस इन्डियासँगका कूटनीतिक उतार–चढावका भोगाइ, नेपाललाई देशभित्रका सबैको फूलबारी बनाएको व्यावहारिक सिप, गरिबी र दुःखमा पनि सही नेतृत्वले काम गराउन सक्छ भन्ने प्रमाण अनि धर्मशास्त्रलाई मनमा राखेर न्याय–निसाफले देश चल्नुपर्छ र खाली पेटमा कसैले काम गर्न सक्दैन भन्ने ज्ञानको प्रस्फुटनको सँगालो हो। यसमा नभोगेका र नबेहोरेका कुनै अर्ति–उपदेश छैनन्। नेपालको भूगोल र नेपाल रहुन्जेल दिव्य उपदेशका अर्ती–उपदेशहरू नेपालका लागि संविधानका कालजयी मार्गदर्शक सिद्धान्तका मूलमन्त्र रहेका थिए। नेपालले अपनाउनुपर्ने देशभित्रका जातीय एकता, राष्ट्रप्रेम, कर्मचारीको धर्म, आर्थिक विकास, परराष्ट्र नीति, सैनिक नीति र सेना कस्तो हुनुपर्छ भन्ने अठोट, कानुनी राज्यको अवधारणा अनि नेतृत्वले आफू उदाहरणयोग्य बन्नुपर्छ भन्ने उदाहरणलगायतका मौलिक मूलनीति यही दिव्य उपदेशमा छन्।

यो सरकारले ध्यान दिने कुरा

नेपालको भूगोल र दुई ठुला छिमेकीलाई हामीले कदापि बदल्न सक्दैनौं। अनि हाम्रो देशमा करिब १४२ थरी जात, १२४ जति भाषा र आठ थरी जति धर्मावलम्बी भएको तथ्यलाई शिरमा राखेर देशको संविधान र राजनीतिको श्रीगणेश गर्नुपर्छ । ती सबै जात, भाषा र धर्मावलम्बीहरूलाई राष्ट्रिय एकतामा बाँध्नका लागि सोहीअनुसारको राजनीतिक मार्गचित्र कोर्नुपर्छ। कारण के हो भने हामी सम्पूर्ण नेपालीले ‘मेरो नेपाल–मेरो गौरव’ भन्ने वातावरण भएन भने हाम्रो सार्वभौमिकता नै खतरामा पर्छ। अर्थात् मतदान गरेर नै हाम्रो देश खण्डीकृत हुन सक्छ। उदाहरणका लागि विविध दलले अहिले नेपालमा हिमाल, पहाड प्रदेशलाई अनि धर्म–धर्मलाई छुट्टाएर र डर लाग्दो कुरा जातजातिहरूको समूह अर्थात् क्लस्टर बनाएर, तिनलाई टुक्राएर राजनीति गरिरहेका छन्। दुःखको कुरा, नेपालका राष्ट्रसेवक कर्मचारीहरूमा समेत दलगत झुन्ड बनाई कानुनविहीन राज्य बनाएका नजिर छन्। तसर्थ, भूगोल टुक्रिने र नेपाली टुक्राउने राजनीति तुरुन्त बन्द गर्नु अब हुने राज्य व्यवस्थाको पहिलो माग हो।

दिव्य उपदेशमा उल्लेख भएका राजनीतिक, कूटनीतिक, सैनिक, आर्थिक, धार्मिक सुझावहरूलाई एक–एक गरी केलाउने हो भने नेपालको राज्य व्यवस्था चलाउने चुरो कुराहरू त्यहीं भेटिन्छन्। राष्ट्रको सम्पत्ति भनेकै जनता हुन् भन्ने अभिप्राय त्यहीं छ। अब चल्ने राज्य पद्धतिको दोस्रो माग भनेको नेपाल सरकार अर्थात् कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले जनता आफ्ना श्रीसम्पत्ति हुन् र यिनकै श्रीवृद्धिका लागि काम गर्ने नेता र राष्ट्रसेवक तयार पार्नुपर्छ। राष्ट्रसेवक अर्थात् कर्मचारीहरू भनेको देशको स्थायी सत्ता हुन्। यो समूहले राजनीतिलाई दुरुपयोग गर्न दिँदैन र अनि मात्र राजनीतिले सही बाटोमा हिँड्न बाध्य हुन्छ। राष्ट्रसेवकहरूको परिवारसहित गास, बास र कपास तथा शिक्षाको व्यवस्था सरकारले नगर्दासम्म राजनीति असफल हुने मुख्य कारक तत्त्व तिनै राष्ट्रसेवक नै बन्नेछन्। त्यसमा पनि कुनै पनि देशको सेना भनेको राष्ट्रको खम्बा हो भने यो संस्थाको मनोबल उच्च हुनैपर्छ । यिनका लागि चाहिने सैनिक उपकरण, तलब, रासन र कल्याणकारी व्यवस्थामा देशले मन सानो पार्नु हुँदैन। जनताले गरिखाने थलो नेपालभित्र नै तयार हुनुपर्छ। सबैभन्दा ठुलो खाँचो भनेको देशलाई माया गर्ने र गरिखाने शिक्षा नीति बन्नुपर्छ। नैतिक शिक्षाको पाठ्यक्रम बनाई नेपालीले मान्दै आएका मूर्त र अमूर्त संस्कार, शिष्टता र संस्कृतिको पढाइ तुरुन्त सुरु गराउनुपर्छ। अनि हजारौं वर्षदेखिका हाम्रा सबै खालका इतिहास अनिवार्य पढाइनुपर्छ।

हाम्रा राष्ट्रिय मूल्य मान्यता

त्यति धेरै जात, भाषा र धर्म भएको हाम्रो देश सयौं फूलको बगैंचा नै हो, जुन दिव्य उपदेशमा उल्लेखित छ। राष्ट्रिय एकता, जात, धर्म, संस्कार, संस्कृति, अवसर आदिको व्यवस्थापन हुनैपर्छ। यो कसरी बन्नुपर्छ र हाम्रा मूल्य र मान्यता के–के हुन् र हाम्रा इतिहासले के बताउँछ भन्ने बुझ्न कम्तीमा अन्तिमतिरको काठमाडौं उपत्यकाका मल्ल राज्यको थिति–मिति, लिम्बुवान–खुम्बुवान, मगरात, खसान, नेवार, तामाङलगायतका जातका लागि बनेका कम्तिमा १०० वर्षदेखिका राणा प्रशासनिक काल, पञ्चायत काल र प्रजातान्त्रिक कालमा केके कुरालाई हाम्रा मूल्य र मान्यता मानिएको रहेछ भन्ने केलाउनैपर्छ। त्यहाँबाट लिनुपर्छ अनि मात्र हामीले नयाँ कुरा थप्न आधार मिल्नेछ। नेपालका नेता, विज्ञ, योजनाकारहरूले २०६३ साल अगाडिका हाम्रा राजनीतिक, कूटनीतिक, सामाजिक, धार्मिक र शैक्षिक इतिहासलाई चटक्कै बिर्संदाको परिणामले समेत हाम्रो राजनीतिक र आर्थिक गतिमा बाधा–व्यवधान आइरहेका छन्।

अहिलेका चुनौती

सबैभन्दा ठुलो चुनौती भनेको देशको माटो, जनता र संस्कृतिले मागेको र देशले बोक्न सक्ने राजनीतिक व्यवस्था नभएमा देश अशान्त नै रहन्छ। नेपालले यो पाटोमा एकपटक मनन गर्नैपर्छ। हामीमा भएका चरम भ्रष्टाचार, कानुनी शासनको ह्रास, विकास र रोजगारी नहुनु, युवा शक्तिले नेपाल छाड्नु, कृषिप्रधान देशमा कृषि नै बन्द हुनु अत्यन्त ठुलो समस्या बनेको छ। त्योभन्दा ठुलो पाटो भनेको राज्यले गरेको दलगत ‘तेरो–मेरो’ले गर्दा र न्याय महँगो बन्दा जनता र राज्यबिचको सम्बन्धमा ठुलो खाडल परेको छ। जबसम्म जनताले ‘मेरो देश’ र ‘मेरो सरकार’ भन्दैनन्, त्यो देशका लागि हलाहलसरह हुनेछ। देशलाई नचाहिँदा र देशलाई घात गर्ने एनजिओ–आइएनजिओहरूलाई नेपालले नियन्त्रण गर्नैपर्छ। यसले नेपाली–नेपालीबिच ठुलो फाटो ल्याएको छ, साथै नेपालीलाई परजीवीसमेत बनाइएको छ।

अर्को डर लाग्दो चुनौती भनेको विगतमा स्वघोषित माओवादी जनयुद्धको नाममा र त्यसपछि पनि नेपालमा कहिल्यै नभएको काम नगरी पैसा कमाउने र मोज गर्ने माओवादी कुसंस्कार भित्रियो। यो एमालेले सिक्यो, कांग्रेसले सिक्यो। खड्गप्रसाद ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतले काम नगरी पैसा कमाउने र मोज गर्ने जमातलाई खुब प्रयोग गरे। समाजमा गुन्डागर्दी मौलायो। बिस्तारै यो कर्मचारी तन्त्रमा पनि सर्न थाल्यो। जसले गर्दा हाम्रो समाजमा र सरकारमा हुनेलाई समेत बिचौलिया र गुन्डाले नियन्त्रणमा लिए। जसको परिणाम गत भदौ २३ र २४ गते देखियो। अब वर्तमान सरकारले र आम जनताले नेपालमा गरिखाने युवा जमात बनाउने काम गर्नुपर्छ। जसका लागि काम गर्ने अवसर दिने र कडा अनुशासन पनि पालना गराउनुपर्छ।

चौबिसै घण्टा ब्यारेक बसी अनि १२ महिनामा एक महिना पनि घर बस्न नपाउने नेपाली सेना र नेपालका दुवै थरी प्रहरीहरूको तलब, भत्ता र सुविधा एसिया महादेशकै सबैभन्दा न्यून स्तरको छ। यिनलाई सरकारी अस्पताल, स्कुल, कलेज दिइएको छैन। नेपाली सेनाले सैनिकका पैसा काटेर प्राइभेट अस्पताल चलाएको छ। संसारमा यस्तो काम गर्ने नेपाली सेनाका प्रधानसेनापतिहरू मात्र हुन्, किनकि यीसँग सेनाका पैसा काटेर जम्मा गरिएको अर्बाैं रुपैयाँको सैनिक कल्याणकारी कोष छ। यही कोषबाट मह पनि काढ्ने, हात पनि चाट्ने लोभ–पापले गर्दा सेनाका नेतृत्वले सरकारी अस्पताल र स्कुल मागेनन् र लाज पचाएर बसेका छन्। नेपाल सरकारले अब सिपाहीको पैसा काटेर अस्पताल र स्कुल चलाउने काम बन्द गर्नुपर्छ। सिपाहीका व्यक्तिगत पैसा काट्नु अपराध हो।

अबको मार्गचित्र

यो पाटो विचारणीय हुन्छ। अबको सरकारले अल्पकालीन योजनाबाट नै जनताका लागि धेरै काम गर्न सक्नुपर्छ । जनता र राज्यबिचको अविश्वासिलो खाडल अलिकति भए पनि नपुरीकन मध्यकालीन र त्यसमा पनि दीर्घकालीन योजनालाई जनताले कुर्न र पत्याउन धैर्य गर्लान्जस्तो लाग्दैन किनकि केही दशकदेखि नेपाली दलहरूले चुनावअगाडि जनतालाई बुझाएका मेनिफेस्टो अर्थात् विकासका योजना लाखौं भइसके तर सयको हाराहारीमा पनि काम नहुँदा राज्यका योजना जनताले पत्याउन छाडे । जसका लागि अल्पकालीन योजना र कामबाट जनताको मन जित्ने कामको थालनी गर्नैपर्छ । हामीले दीर्घकालीन योजना बनाउनका लागि निम्न सुझाव प्रस्तुत गरेका छौं ः

(क) चीनका राष्ट्रपिता सन यात सेन, भारतका महात्मा गान्धी, अमेरिकाका जर्ज वासिङ्टन, पाकिस्तानका मोहम्मद अली जिन्ना, बंगलादेशका सेख मुजिबुर रहमान, जर्मनीका ओट्टो भोन बिस्मार्क भएजस्तै नेपालमा पनि तत्काल रूपमा एक जना राष्ट्रपिता निक्र्योल गरी संविधानमा लेखिनैपर्छ। यो देश र देशवासीको गौरव तथा राष्ट्रिय एकताका लागि हो। यो प्रतिष्ठित पदमा पृथ्वीनारायण शाहको विकल्प अरू नदेखिने सत्यतामा द्विविधा छैन। पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा गरौं। त्यसपछि नेपालको वर्तमान संविधानमा जे–जे लेखिएको भए तापनि दिव्य उपदेशमा लेखिएका आन्तरिक, कूटनीतिक, आर्थिक, सैनिक, धार्मिक, कानुनी शासनलगायतका सुझावहरूलाई केलाएर संविधानमा समावेश गरौं। अर्थात् नेपालको संविधान दिव्य उपदेशमा आधारित भई तयार गरिनेछ भन्ने संकल्प सरकारले गरोस्। नेपाल दुई ढुंगाबिचको तरुल हो। तसर्थ नेपालको भलाइका लागि असंलग्न परराष्ट्र नीति नै उत्तम हुन्छ। अनि कहिल्यै र कुनै पनि देशसँग नेपालको सैनिक गठबन्धन हुनुहुँदैन। अर्को कुरा, पृग्वीनारायणले नेपाललाई दुई ढुंगाबिचको तरुल भनेका हुन्, दुई ढुंगामुनिको अर्थात् दुई ढुंगाले थिचेको तरुल भनेका होइनन्। अहिले नचाहिने तर्क दिएर यो शाश्वत सत्यलाई नबिगारियोस्।

(ख) नेपालले खुला सिमाना राख्दा दुवैतिरका छिमेकीहरूको जनसंख्याको चापलाई मनन गरी विभिन्न देशका शरणार्थीहरूको चापलाई छेक्न र विभिन्न आतंककारी तथा तस्करीका कामबाट नेपाललाई बचाउन तथा छिमेकीलाई पनि बचाउनका लागि हाम्रा अन्तर्राष्ट्रिय सिमानामा मानिस र गाडी छिर्न नसक्ने गरी सीमा बार लगाउन ढिला नगरौं।

(ग) छिमेकीसँग भएका सन्धिले नेपालको सार्वभौमिकतामा अड्चन ल्याउने सन्धिका धारालाई संशोधन गर्नैपर्छ। जस्तै: नेपालले हातहतियार, गोली–गट्ठा र सैनिक सामग्री खरिद गर्दा कि त छिमेकबाट, कि त छिमेक भएर किन्नुपर्ने वा ल्याउनुपर्ने भन्ने धाराले नेपाललाई स्वतन्त्र देश हो भनी मान्न अप्ठेरो पारेको छ। तिनै शब्दजालबाट विगतको माओवादीसँगको आन्तरिक युद्धमा छिमेक र छिमेकमार्फत नेपाली सेनालाई हातहतियार रोकिएको नजिरलाई मनन गर्नुपर्छ।

(घ) राष्ट्रिय शिक्षा नीतिमा हरेक विद्यालयदेखि विश्वविद्यालय तहसम्म, पढाइको तहअनुसारको पाठ्यक्रम बनाई नेपालको पौराणिक काल, मध्यकाल र आधुनिक कालका इतिहास अनिवार्य रूपमा पढाउनुपर्छ। साथै नैतिक शिक्षा समेटिने गरी संस्कृतको पनि पढाइ गराउनुपर्छ। अनि कक्षा ८ देखि भोकेसनल एजुकेसन र जनरल एजुकेसन गरी विश्वविद्यालय तहसम्म छुट्याएर पढाउनुपर्छ।

(ङ) धर्मनिरपेक्षता नेपालका लागि घातक छ। सनातनदेखिका हाम्रा धर्म, संस्कार, संस्कृति भनेका अलिखित संविधान हुन्। यसले राज्य सञ्चालनमा र सामाजिक अनुशासनमा ठुलो अर्थ राखेको थियो र राख्नेछ।

(च) राष्ट्रिय योजना आयोगमा तराई, पहाड, हिमाली क्षेत्रका खाँटी कृषकका प्रतिनिधि, रक्षा मामिलाका लागि सेनाका प्रतिनिधिलगायतका अनुभवी मानिस रहून्। राजनीतिक विभाजनमा जे–जस्तो भए तापनि नेपालको विकास योजनामा चार तह अर्थात् विकट हिमाली भेग, पहाडी भेग, तराई भेग र विकसित भेग गरेर योजना बनाउनुपर्छ।

(छ) नेपालका सुरक्षा अंगहरूका कामकारबाहीमा समन्वय गर्न, अंगबिचको मित्रताका लागि एउटै काममा खटिँदा कामको बाँडफाँटका लागि र अंगअंगभित्र फैलिने राजनीतिक हस्तक्षेप नियन्त्रण गर्नका लागि एउटै आवाज उठाउन समेत नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको मात्र बलियो संयन्त्र बन्नु जरुरी छ।

(ज) पञ्चायत कालमा जस्तै गरी नेपालमा कृषिमैत्री, उद्योगमैत्री, किसानमैत्री, युवा स्वावलम्बनलगायतका योजना बन्नुपर्छ र शिक्षाको नाममा र काम खोज्न जाने युवा–युवतीलाई नेपालमै रोक्ने सयौं काम देखाएर आफ्नै देशको विकास गर्नु अपरिहार्य छ।

सारांश

नेपालको ऐतिहासिक गौरवलाई जीवित राखी पृथ्वीनारायणको दिव्य उपदेशको धरातलमा नेपालले मार्गदर्शन बनाई हामीले आधुनिक राज्य व्यवस्थालाई गति दिने हो भने यो स्थिर र स्थायी बन्नेछ । कुनै पनि देशको राष्ट्रिय मूल्य र मान्यता के हो भनी केलाउनका लागि हाम्रा ‘कस्टमरी ल’ अनि हाम्रा इतिहास, संस्कार र संस्कृति खोतल्ने हो भने अवश्य भेटिन्छन्। अर्को कुरा, नेपालको दुस्मन भनेको गरिबी र चरम भ्रष्टाचार हो। त्योभन्दा पनि ठुलो खतरा भनेको जनताले राज्यप्रति देखाउने अविश्वास हो। जनता र संविधानको बिचमा ठुलो खाडल परेको छ। नेपाली मनले नेपाल चिनेर, नेपाल घुमेर, नेपालीको मागअनुसारको धर्म, विकास र सहयोग जुटाउनु नै दीर्घकालीन मार्गचित्रको जग बन्नेछ।

देश बन्नु र भत्कनु भन्ने आधार नै त्यो देशको राजनीति हो। संसारका हरेक देशले एउटै संस्कार र संस्कृति मान्दैनन्। अर्थात् किन अरेबियन मुलुकमा राजा मान्छन् र प्रजातन्त्रलाई विश्वास गर्दैनन्? किन चीन, मंगोलिया, पहिलाको तिब्बत, जापान, नेपाललगायतका देशहरूले राष्ट्रप्रमुख अनि जेठा–बुढालाई मान्छन्? किन यिनीहरूले प्रजातन्त्रलाई उपयोगी मान्दैनन्? यी कुराहरू भनेका आआफ्ना क्षेत्रका हजारौं वर्षदेखिका परम्परा अनि त्यहाँका मानिसका जीनमा भर पर्ने कुरा हुन्। अमेरिकाले यो गर्‍यो, बेलायतले त्यो गर्‍यो भनेर उनीहरूकै व्यवस्थालाई कुनै देशले प्रयोग गर्न खोज्छ भने त्यो भुल हुनेछ। तसर्थ, देशले अनि जनताले मागेको राजनीतिले नै नेपालको जय हुनेछ । एकै वाक्यमा निचोड निकाल्नुपर्दा ‘एक नेपालीका लागि सबै नेपाली र सबै नेपालीका लागि एक नेपाली’को आदर्श बोकेर हामी नेपाली, हाम्रा नेता र हाम्रो सरकारले काम ग¥यो भने अवश्य पनि नेपालको राष्ट्रिय एकता मजबुत हुनेछ।

प्रकाशित: १२ वैशाख २०८३ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App