१० श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘अग्रजहरूले दर्शाएको मार्गचित्र व्यवहारमा उतार्न सक्नुपर्छ’

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीले कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा भव्य काव्य गोष्ठी गरेको छ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीको आयोजनामा इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा एक भव्य काव्य गोष्ठी सम्पन्न भएको हाे।

नेपालका क्रान्तिकारी व्यक्तित्व नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा साहित्य, कला र विचारको त्रिवेणी बग्दै राष्ट्रिय स्तरका ख्यातिप्राप्त स्रष्टाहरूले आत्मीय भावका रचना वाचेका थिए।

सुनसरी र मोरङका विभिन्न क्षेत्रबाट उपस्थित लब्धप्रतिष्ठित स्रष्टा, द्रष्टा, बुद्धिजीवी, प्राध्यापक तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त गोष्ठीका दौरानमा वरिष्ठ साहित्यकारहरू कुन्ता शर्मा, वम देवान, डा. दिवाकर क्षेत्री, प्रल्हाद पहरेदार, नानुमैया दाहाल, सुविद गुरागाई, गायत्री लम्साल, जनकऋषि राई, भोलामान गुरुङ, जयकृष्ण यादव र विमला पोखरेलले सिर्जनामार्फत श्रमजीवी वर्ग, सामाजिक रूपान्तरण र कर्माचार्यको योगदान स्मरण गरेका थिए।

उनीहरूका कविता र मन्तव्यले हलमा उपस्थित दर्शक तथा साहित्यप्रेमीहरूलाई भावुक बनाउनुका साथै क्रान्तिकारी चेतनाले ऊर्जावान् बनाएको थियो।

कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष निर्मल बरालले महान् व्यक्तित्वहरू पद वा प्रतिष्ठालेभन्दा पनि आफ्ना विचार, त्याग र उच्च कर्मका कारण युगौँसम्म अमर रहने बताए। उनले भने, “अग्रजहरूले दर्शाएको मार्गचित्र स्मरणमा मात्र नराखी जीवन व्यवहारमा उतार्न सक्नुपर्छ, तब मात्र राष्ट्रिय विकास र सामाजिक रूपान्तरणको वास्तविक लक्ष्य हासिल हुन्छ।"

त्यस्तै प्रतिष्ठानका सचिव पुष्प ढुङ्गानाले साहित्य शब्दहरूको मात्र श्रृङ्गार नभएर समाज परिवर्तनको चेतना बोकेको सर्वशक्तिमान् अस्त्र भएको धारणा व्यक्त गरे।

साहित्यले समाजमा रहेका कुरीति, अन्धविश्वास र अन्धकारलाई चिरेर क्रान्तिको उज्यालो प्रकाश छर्ने विश्वास व्यक्त गर्दै उनले प्रतिष्ठानले यस्ता रचनात्मक तथा साहित्यिक गोष्ठीलाई आगामी दिनमा अझै निरन्तरता दिने बताए।

कार्यक्रमको समीक्षा गर्दै वरिष्ठ साहित्यकार कुन्ता शर्माले गोष्ठी अत्यन्त भव्य, अनुशासित र वैचारिक रूपमा सार्थक रहेको प्रतिक्रिया दिए। उनले नरबहादुर कर्माचार्यको विचारलाई साहित्यिक माध्यमबाट जनस्तरसम्म पुर्‍याउने प्रतिष्ठानको प्रयास प्रशंसनीय रहेको बताए।

विविध साहित्यिक सिर्जना र वैचारिक मन्तव्यसहित सम्पन्न उक्त काव्य गोष्ठीले सुनसरीको साहित्यिक तथा साँस्कृतिक वातावरणलाई थप सुवासित बनाएको थियो।

प्रकाशित: १० श्रावण २०८३ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App