३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

कवि उदाशीले ल्याए ‘पानीको पर्खाल’

कवि कृष्ण उदाशीको ‘पानीको पर्खाल’ कवितासंग्रह लाेकार्पण भएको छ। प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यमा कवितासंग्रहको लाेकार्पण भएको हो।

प्रमुख अतिथि मुकारुङ, डा. अशोक थापा, जयराम तिम्सिना र कवि कृष्ण उदाशीले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।

कार्यक्रममा डा. अम्बिका अर्याल र डा. अशोक थापाले लाेकार्पित कृति ‘पानीको पर्खाल’ काे समीक्षात्मक टिप्पणी गरेका गरेका थिए।

डा. अर्यालले कलात्मकता, गहना र दार्शनिकता कविकाे काव्यगत विशेषता रहेकाे बताए। त्यस्तै डा. थापाले ‘पानीको पर्खाल’ का कविताहरू सशक्त र शालीन रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि मुकारुङले उदासीकाे कवितामा सार र दर्शनकाे सुन्दर तादाम्य रहेकाे बताए।

कवि उदाशीले काठमाडौंले मोफसललाई सधैं पर्खालभित्र थुनेकाे बिस्मात् पाेखे। उनले ‘पानीको पर्खाल’ त्यही विभेदीय पर्खाल भत्काउने प्रयासको प्रतीक भएकाे बताए।

सर्वनाम थिएटरमा भएकाे कार्यक्रममा गायक-संगीतकार राजनराज शिवाकोटी, गायक गौरभ दर्पण, प्राडा जनार्दन घिमिरे, श्याम सिंहक, मिथोच, विशाल नाल्बो, योगमाया दाहाल, शरद अधिकारी जस्ता सर्जकहरूको उपस्थिति रहेको थियो।

उदासीको ‘दाइजो’ (उपन्यास,२०६४), दोभानपारि बाबरी (गजलसंग्रह,२०६७) र ‘म हराएको साँझ’ (संयुक्त कथासंग्रह, २०७०, वविता घिमिरे) प्रकाशित छन्।

कार्यक्रममा लोकार्पित कृतिका विभिन्न कविता वाचिएको थियो। कवि उदासीले ‘हिउँद र मेरा बा’ र ‘गाउँ र आमाहरू’, सञ्चालक महेश क्षितिजले ‘बाबुको गर्भ’, राधा कँडेलले ‘अनुभव’, महेश पौडेलले ‘ईश्वरको परमधाम’ र चन्द्रवीर तुम्बोपोले ‘बुद्धको अनावरण’ कविता वाचेका थिए।  

प्रकाशित: २४ कार्तिक २०८२ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App