२८ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘हावामा उड्दा तिम्रो केश मिलाउने को थिइन्!’

चारु

१) चारु

नढाँटी भन हात समाई आउने को थिइन्

हावामा उड्दा तिम्रो केश मिलाउने को थिइन्  

जानीबुझी रिसाएझैँ गरेर झर्किन खोज्दा

साँच्चिकै सम्झी मनैदेखि रिझाउने को थिइन् 

सुसेली हाली लोकभाकाहरू निकाल्न खोज्दा

गुनगुनाई साथ दिँदै गीत गाउने को थिइन् 

चोट लाग्दा दुःखी हुने नभेटेमा सम्झी रुने

साथमा हुँदा बच्चा जस्तै रमाउने को थिइन्

बिर्सिएर समाजले बर्साएका कोर्राहरू

देउतै मानी नानीभित्र बसाउने को थिइन्?

(राग /विराग (१६ अक्षर)

२) चारु

पाएर न्यानो स्पर्श तिम्रो त्यो हातको

ओढें पछ्यौरी लाज ढाक्न जमातको

नभए पनि यहाँ खासै आशा अरूको

गर्नेछु भरोसा तिम्रै प्रेमिल सौगातको

मन एउटै भएर नै होला यसरी आज

बनाएछन् भगवानले एउटै जातको

कर्म गर्दा पसिना बगे निधारमा तिम्रा

बनाउँला पङ्खा म सालैको पातको

सकिन्न रैछ मेटाउन लेखेको भावीले

मिलेर गरौंला सामना पाइने घातको।

स्रष्टा कल्पना मरासिनी

३) चारु

नगरी कुनै गल्ती शिर झुक्दैन यसै यति कुरा बुझ्नू तिमी

जति गर ढाकछोप सत्य लुक्दैन यसै यति कुरा बुझ्नू तिमी

गाउँभरि नै रमझम अनि खुसीयाली दोहोरै हुँदा पनि

एकोहोरो शङ्ख कोही फुक्दैन यसै यति कुरा बुझ्नू तिमी

बिर्सिएर लगाएका गुनहरू सत्तोसराप नै गरे पनि

आकाशतर्फ फर्की कोही थुक्दैन यसै यति कुरा बुझ्नू तिमी

अँधेरी रातमा सऱ्याकसुरुक आवाज कतै नआएसम्म

छिमेकीको भोटे कुकुर भुक्दैन यसै यति कुरा बुझ्नू तिमी

भूक्षय वन फँडानी डढेलोलाई जति दोष लगाए पनि

विनाखडेरी त्यो मुहान सुक्दैन यसै यति कुरा बुझ्नू तिमी।

(राग /विराग (२२ अक्षर)

प्रकाशित: ३ श्रावण २०८२ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App