नेपाली चलचित्रमा दर्पण छायाले दर्शकको बेग्लै माया पाएको थियो । त्यही मायाबाट उदाएका कलाकार अहिले पनि चर्चामा आउने गर्छन् । दर्पणछायाँले चिनाएका दुई कलाकारलाई नयाँ निर्देशक किरण नेपालीले फेरि सँगै काम गराउने भएका छन् ।
फिल्मी नगरीबाट केही टाढा रहेका उत्तम प्रधान र निरुता सिंहले नेपाली निर्देशित चलचित्र महादशामा अभिनय गर्ने छन् ।
दुई नायक नायिकालाई नयाँ फिल्ममा अनुबन्द गर्दै नेपालीले आफ्नो नयाँ टिमसँग काम गर्ने उत्साह र खुसीलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले खुसी हुँदै लेखेका छन्, ‘उत्तम र निरुताले अन्तिम पटक सन् २००३ मा एकै स्क्रिनमा काम गरेका थिए । उपहारमा सँगै काम गरेका दुवै जनालाई २२ वर्षपछि एकै पर्दामा देखिने भएको छ ।’
उत्तम र निरुताको तस्बिरसहितका खुसीका शब्द लेख्दै उनले यो पुरानो जोडीसँग काम गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
यो चलचित्रलाई निर्माण पक्षले आगामी दशैँपछि छायाकन गर्ने तयारी गरेको छ । चलचित्रमा उत्तम, निरुतासँगै प्रमोद अग्रहरि, प्रेमा लामगादे, हाकिम गुरुङ र रेआर राईलगायतका कलाकारको अभिनय छ।
मनिष गौतमको लेखन रहेको चलचित्र ‘महादशा’ राज के. शाह, श्याम मगर र अमलादेवी राईले निर्माण गर्दैछन् ।
यो चलचित्रमा नेपाली परम्परा, संस्कार र संस्कृतिसँगै नागरिकको जीवन तथा ग्रह र नक्षत्रले पार्ने प्रभावलाई देखाइने छ।
महादशाबाट निर्देशनमा डेब्यू गर्ने निर्देशक नेपालीले यसअघि ‘दुई नम्बरी’, ‘हात्तिछाप’लगायतका चलचित्र निमार्ण गरेका छन् ।
पछिल्लो समय पुराना कलाकार पनि अभिनयमा फर्कने क्रमलाई उत्तम र निरुताले पनि पछ्याएका छन् । उत्तम चलचित्र ‘कल्ली’बाट १३ वर्षपछि फिल्म नगरी फर्किए भने निरुता चलचित्र ‘३६ को आँकडा’ माफर्त फेरि यो क्षेत्रमा आइन ।
प्रकाशित: ४ आश्विन २०८२ १५:४८ शनिबार





