आउँदाे माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले २ पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरी दुई पोस्टर सार्वजनिक गरेको हो।
‘बाआमाले पसिनाले घर बनाउनुभयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनुपर्याे’ भन्नै स्लोगन राखिएको छ। यस शब्दले पनि आमाबुबाप्रति छोराछोरीबीचको कथा प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ।
एउटा पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह र सिमरन पन्त खुशी देखिएका छन्। सोही ठाउँमा साइग्रेस पोखरेल पनि खुशी मुन्द्रामा देखिन्छन्। त्यसपछि अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान् र श्रीमतीको भूमिकामा रहेको विपना र प्रदीप अँगालोमा बेरिएर रोइरहेको र छोराको भूमिकामा रहेका पल शाह रक्ताम्मे देखिन्छन्।
ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानको भावनात्मक सम्बन्ध केन्द्रमा राखेको निर्माण भएको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै लेखन र पटकथामा निर्माण भएको यो फिल्ममा आर्या पन्तको प्रस्तुति छ।
फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम लगायत रहेका छन्।
फिल्म ‘आ बाट आमा’ मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन्। त्यस्तै करण सिंह रसाइली कार्यकारी निर्माता हुन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम छन्।
यो फिल्मको विदेश प्रदर्शन अधिकार केही देशमा बिक्री समेत भइसकेको छ। एकदुई साताअघि नै यो फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रालिले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ।
प्रकाशित: २६ कार्तिक २०८२ ११:५५ बुधबार





