समय र सन्दर्भ पुरानै भए पनि नेपालले भारतसित मिलेर बनाएको पहिलो फिल्म ‘पञ्चवटी’ सधैं चर्चामा आउँछ तर यो फिल्म नेपालमा रिलिज हुन पाएन।
‘पञ्चवटी’ रिलिज नहुनुका पछाडि एउटै कारण थियो– तत्कालीन दरबारको चलखेल। दरबार यसमा अनौठो किसिमले जोडियो। पञ्चायती शासनकालको शाही नेपाल चलचित्र संस्थानमा त्यतिबेला दुई ओटा पद महाप्रबन्धक र उपमहाप्रबन्धकमा दरबारका निकटवर्ती रानीकी फुपूकी छोरी र राजाका ज्वाइँका भाइ थिए। यी दुईको आन्तरिक कलहले सार्वजनिकीकरण हुनुअगि नै भारतसित मिलेर बनेको सिनेमा ‘पञ्चवटी’ रद्दी टोकरीमा खस्यो।
फिल्म त बन्यो तर यसका निर्देशक वासु भट्टाचार्यले चाहेर पनि नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउन सकेनन्। भट्टाचार्य निर्देशित ‘पञ्चवटी’ मा दिप्ती नवल, सुरेश ओबेराय, अकबार खानबाहेक नेपालबाट जयनेन्द्र चन्द, शान्ति मास्के सहभागी थिए।
सिनेमा बनेर अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाइसक्दा पनि यसका निर्माताद्वय भारतका शोभा डाक्टर र शाही नेपाल चलचित्र संस्थानका टीका सिंहबिच समन्वय हुन सकेन। सिनेमाको छायाङ्कन नेपालमै भए पनि यसको सम्पूर्ण पश्चगामी कार्य भारतको मुम्बईमा सम्पन्न भयो।
भारतको मुम्बईमा संघर्षरत मुरलीधर, उदीतनारायण झा, प्रकाश सायमी, दीपा गहतराज यसमा आबद्ध भए। यसको पटकथा संवाद नवेन्दु घोष अनि कथा कुसुम अंशलको थियो।
सिनेमा बन्नका लागि खर्च भएको बजेटमा नेपालले आधा लगानी गरेको भए पनि यसमा नेपालको सहभागिता पछि गएर शून्य बराबार नै भयो।
‘पञ्चवटी’ का निर्देशक वासु भट्टाचार्य आफैं एक कुशल निर्माता/निर्देशक भएर पनि यस चलचित्रलाई नेपाली बजारमा रिलिज गर्न असफल भए। भट्टाचार्यले यसअगि बनाएका ‘तिसरी कसम’, ‘तिसरा पत्थर’, ‘आविष्कार’ सफल नै साबित भएका थिए तर उनले स्वयं निर्माण गरेको सई पराञ्जपे निर्देशित ‘स्पर्श’ भारतमै पनि रिलिज हुन सकेको थिएन। नयाँ धारको आन्दोलनको परिवेशमा बनेको ‘स्पर्श’मा नायकमा नसीरुद्दीन शाह, नायिकामा शबाना आजमी थिए। ‘स्पर्श’ रिलिज गर्न नसकेर वासु भट्टाचार्यले निकै आरोप ब्यहोर्नु परेको थियो।
‘पञ्चवटी’पछि भट्टाचार्यले ओम पुरी र रेखालाई लिएर ‘आस्था’ बनाए। यो सिनेमाले उनलाई विशिष्ट पहिचान दियो।
भट्टाचार्यले नेपालमा आएर सिनेमा बनाउँदा नेपालमा प्रकाश थापाको व्यावसायिक सिनेमको सूत्र सफल भइसकेको थियो।
प्रकाश थापा नै वास्तविक रूपमा नेपाली सिनेमालाई स्थापित गर्ने एक निर्देशक थिए। भारतको मुम्बईमा प्रशिक्षित थापाले मुम्बईमै हुँदा हिन्दी सिनेमामा अभिनय गरिसकेका थिए। मुम्बईबाट आएर उनले शाही नेपाल चलचित्र संस्थानको पहिलो सिनेमा ‘मनको बाँध’ बनाए।
‘मनको बाँध’ असफल भए पनि थापाले पछि ‘सिन्दूर’, ‘जीवन रेखा’, ‘सन्तान’, ‘कन्यादान’ जस्ता सिनेमालाई सफलता दिलाए।
यिनै थापाले नेपाली सिनेमामा नायिका सुषमा शाही, मीना सिंह, विश्व बस्नेत, मीनाक्षी आनन्द, गौरी मल्ल, करिष्मा केसी, अर्जुनजंग शाही आदिलाई स्थापित कलाकार बनाए।
थापाले बनाएका सिनेमामा ‘सिन्दूर’ ले काठमाडौं उपत्यकामा ५२ हप्ता चलेर व्यावसायिक रेकर्ड कायम राख्यो, जुन रेकर्ड अहिलेसम्म कुनै नेपाली सिनेमाले तोड्न सकेको छैन। ‘बम्बइया फर्मुला’ बाट अत्यधिक प्रभावित थापाले आफ्ना प्रायः सिनेमाको पटकथा मुम्बईमै लेखाउँथे। मुम्बईमै संघर्षरत देवु सेन उनका ‘अथराइज्ड स्क्रिप्टराइटर’ थिए। देवव्रत सेन नामले परिचित देवु सेन फिल्म निर्देशक विमल रायका सहायक थिए। देवु सेन, वासु भट्टाचार्य, गुलजार यी सबै विमल रायका सहायक थिए। एक हिसाबले यी सबै विमल रायका प्रोडक्ट थिए।

प्रकाश थापाले भेटेका सेन र शाही नेपाल चलचित्र संस्थानले ‘पञ्चवटी’ बनाउन निम्त्याएका भट्टाचार्यले त्यस समय नेपाली सिनेमाका लागि गरेको गुण वा कार्य ‘प्रोफेसनल कम्प्लसन’ मात्र थियो तर पछि जब हाम्रो आफ्नै बजार बन्दै गयो, प्रकाश थापा, प्रताप सुब्बाले बागडोर सम्हाले। दार्जिलिङबाट आएका प्रताप सुब्बाले परालको आगो बनाएर ख्याति कमाइसकेका थिए। उनैलाई पछ्याएर पछि दार्जिलिङबाट अन्य सिनेकर्मी पनि आए तर प्रकाश थापाले बनाएको व्यावसायिक बाटोको विरोध गरे पनि पछि सुब्बाले ‘भीष्म प्रतिज्ञा’ वा ‘चट्याङ’मा त्यही सिको गरे, जुन थापाले पहिले अपनाइसकेका थिए।
धनकुटाको मुगामा जन्मेर भारतको मुम्बईमा हुर्केबढेका प्रकाश थापाले नेपाली सिनेमा लगाएको गुन बिर्सिनसक्नुको छ। उनले आफ्ना सिनेमामार्फत गीतसङ्गीत, संवाद अनि नेपालका दुर्लभ मानिने लोकेसनलाई पर्दामा सजीव बनाए। पाल्पाको तानसेन, श्रीनगर डाँडा, पोखराका विभिन्न लोमहर्षक स्थानलाई नेपाली सिनेमामा स्थापित गराउनुमा थापाको अमूल्य योगदान छ।
थापाले बनाएको ‘कन्यादान’ सिनेमाको लोकप्रिय गीत ‘तीजको रहर आयो बरिलै’ ४० वर्षदेखि निरन्तर हरितालिका तिज आउँदा ‘एन्थेम’जस्तै भएर गुन्जिन्छ। चेतन कार्कीका शब्दमा मनोहरि सिंहले सङ्गीतबद्ध गरेको यो गीत नारीहरूको हौसलाप्रदत्त गीत बनेको छ। ‘सिन्दूर’, ‘जीवन रेखा’, ‘सन्तानका गीत’ आजसम्म लोकप्रिय छन्।
प्रकाश थापाले खलनायकका रूपमा पर्दामा ल्याएका कलाकार अर्जुनजंग शाही पछि नायकका रूपमा चर्चित भए।
‘युगदेखि युगसम्म’ बाट नायकका रूपमा आएका राजेश हमाललाई दोस्रो सिनेमा ‘अधिकार’मा प्रकाश थापाले अझै माझेर प्रस्तुत गरे। नायक राजेश हमाल, भुवन केसी, अर्जुनजंग शाही, शिव श्रेष्ठ, गणेश उप्रेती सबै थापाले परिष्कृत गरेका कलाकार हुन्। नेपाली चलचित्रको सदाबहार हास्यजोडी नक्कली र चङ्खेका रूपमा परिचित वसुन्धरा भुसाल र गोपालराज मैनाली पनि उनकै देन हुन्।
नेपाली सिनेमाका पायोनियर थापाका छोरा विजय थापा पनि पछि निर्देशकका रूपमा आए। उनले आफ्ना पिताको बाटो पछ्याएर सफल सिनेमा बनाए।
शाही नेपाल चलचित्र संस्थान आज अन्धकारमा विलय भइसक्यो तर सिनेमामा प्रकाश थापा र वासु भट्टाचार्यको नाम सधैं रहनेछ।
प्रकाशित: ११ आश्विन २०८२ ०९:०३ शनिबार





