गीतकार नारायण खतिवडाको अर्को एक नयाँ गीतको भिडियो सार्वजनिक भएसँगै नेपाली साङ्गीतिक क्षेत्रले अर्को सन्देशमूलक गीत पाएको छ।
नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतले प्रेम भनेको भगवान् राधाकृष्णको जस्तो हुनुपर्छ, अन्धाधुन्ध र स्वार्थका लागि गाँसिएको साइनो जस्तो हुनु हुँदैन भन्ने सन्देश दिएकाे छ।
मर्मस्पर्शी यस गीतका केही शब्द,
"साँचो प्रेम अमर हुन्छ झूटो टिक्न सक्दैन,
सच्चा प्रेम ईश्वरको वरदान केहीले रोक्न सक्दैन"
आजभोलि मानिसहरूको आपसी सम्बन्ध अल्पकाल र बजारमा बिकाउ वस्तु जस्तो भएको अवस्थामा गीतकारले "घमण्ड र अहङ्कारले आफैंलाई सक्छ, गङ्गाजल चाहिँदैन, मन सफा भए पुग्छ" भन्ने शब्दले मानिसमा बढ्दै गरेकाे अहम्त्याइँ सरल शब्दमार्फत गहिरो सन्देश दिएको छ।
त्यस्तै, सम्बन्धमा तीतामीठा क्षणहरू आउँछन् तर त्यसलाई आपसी सद्भाव, सहिष्णुता र धैर्य कायम गर्नुपर्छ। एउटा रिसाए पनि अर्काले बुझ्नुपर्छ।
जीवनमा अनेक आरोह- अवरोह आउँछन्। त्यस्तो बेलामा एकले अर्कालाई सम्हाल्नुपर्छ। दूरी बढाउँदै गए झन् टाढा हुँदै जान्छ। जीवनमा धेरै चोटपटक, अपमान, घृणा र बेइज्जत गरे पनि जीवनमा हार खानु हुँदैन भन्ने अर्थ्याएको छ। मानिसको जीवनमा सधैं सुख मात्र आउँदैन, दु:ख पनि आउँछन् भन्ने गीतमा देखाइएकाे छ।
नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतको भिडियोमा अर्जुन कटुवाल र अविशा थापा मगरको मुख्य अभिनय छ।
रूखमुनिकै बास किन नहोस्, साँचो प्रेम र मायाममतामा सम्बन्ध टिकेको हुन्छ भन्ने गीतकाे सन्देश रहेकाे छ। भिडियोमा दम्पतीले दु:ख र अभावमा घरभाडा तिर्न नसकेर निकालेको र दम्पतीको रूखमुनिको बास भए पनि आपसमा खुशी भएको तर अर्कातिर धनसम्पत्ति र सुखसयल भए पनि परिवार छुटेको देखिन्छ।
यसरी भिडियोले आपसमा सच्चा प्रेम भएमा सो सम्बन्ध खुशी र सुखी हुने सन्देश दिएको छ।
भिडियोको छायांकन तथा दृष्य सम्पादन अर्नुज खड्काको छ। गीतकार खतिवडा आफैंले गीतको लेखन तथा निर्देशन गरेका हुन्।
प्रकाशित: १२ फाल्गुन २०८२ १०:३८ मंगलबार





