गीतकार नारायण खतिवडाको अर्को एक नयाँ गीतको भिडियो सार्वजनिक भएसँगै नेपाली साङ्गीतिक क्षेत्रले अर्को सन्देशमूलक गीत पाएको छ।
नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतले प्रेम भनेको भगवान् राधाकृष्णको जस्तो हुनुपर्छ, अन्धाधुन्ध र स्वार्थका लागि गाँसिएको साइनो जस्तो हुनु हुँदैन भन्ने सन्देश छ।
यस गीतका केही शब्द मर्मस्पर्शी छन्। जस्तो:-
"साँचो प्रेम अमर हुन्छ झूटो टिक्न सक्दैन,
सच्चा प्रेम ईश्वरको वरदान केहीले रोक्न सक्दैन"
आजभोलि मानिसहरूको आपसी सम्बन्ध अल्पकाल र बजारमा बिकाउ बस्तु जस्तो भएको अवस्थामा गीतकारले
"घमण्ड र अहङ्कारले आफैलाई सक्ने गर्छ, गङ्गा जल चाहिँदैन मन सफा भए पुग्छ" भन्ने शब्दले मानिसमा अनायासै मानिसमा म चढ्दै गरेको अवस्थालाई सरल शब्दमार्फत गहिरो सन्देश दिएको छ।
त्यस्तै, सम्बन्धमा तीतामीठा क्षणहरू आउछन् तर त्यसलाई आपसी सद्भाव, सहिष्णुता र धैर्य कायम गर्नुपर्छ। एउटा रिसाएको अवस्थामा पनि अर्काले बुझ्नुपर्छ।
जीवनमा अनेक आरोह- अवरोह आउँछन् । त्यस्तो बेलामा एकले अर्कालाई सम्हाल्नुपर्छ; न कि दूरी बढाउँदै गएमा झन टाढा हुँदै जान्छ। जीवनमा धेरै चोट पटक, अपमान, घृणा र बेईज्यत गरे पनि जीवनमा हार खानु हुँदैन भन्ने अर्थ्याएको छ। मानिसको जीवनमा सधै सुखका दिनहरू मात्र आउँदैनन् कि दु:खका दिनहरू पनि आउछन्।
नमस्ते नेपाल डिजिटल स्टिडियोबाट सार्वजनिक भएको गीतको भिडियोमा अर्जुन कटुवाल र अविशा थापा मगरको मुख्य अभिनय छ।
गीतको मुख्य सन्देश रूखमुनिकै बास किन नहोस् साँचो प्रेम र माया ममतामा सम्बन्ध टिकेको हुन्छ भन्ने सन्देश छ। भिडियोमा दम्पतीले दु:ख र अभावमा घरभाडा तिर्न नसकेर निकालेको र दम्पतीको रूखमुनिको बास भए पनि आपसमा खुशी भएको तर अर्कोतिर धनसम्पत्ति र सुखसयल भए पनि परिवार छुटेको देखिन्छ। यसरी भिडियोले आपसमा सच्चा प्रेम भएमा सो सम्बन्ध खुशी र सुखी हुने सन्देश दिएको छ।
भिडियोको छायांकन तथा दृष्य सम्पादन अर्नुज खड्काको रहेको छ। सार्वजनिक भएको गीतको लेखन तथा निर्देशन गीतकार नारायण खतिवडा आफैँको रहेको छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १०:३८ मंगलबार





