१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

हिजोआजका कुरा

कविता

हामी

हिजो लाइन लाग्थ्यौं

विद्यालयको प्रार्थना सभामा

प्राकृतिक नीतिको लाइन

सानो अघि र क्रमश: ठूलो पछि भएर

आज पनि लाइन लाग्छौं

पहुँचको लाइन

तर,

ठूलो अघि र क्रमश: सानो पछि भएर 

हिजो हामी

समवेदित हुन्थ्यौं

सडकमा चरोमुसो मरेको देख्दा पनि

सहानुभूति प्रकट गर्थ्यौं

विचरा! भनेर

तर,

आज मान्छे मरेको देख्दा पनि

स्वार्थ अँगाल्न दगुर्छौं लास कुल्चिएर

सम्झन्छु म

कति कुराहरू हिजोका

र

देख्छु कति कुरा आजका

हामी हिजो

राजा आए अरे, प्रधानमन्त्री आए अरे

भनेर दौडन्थ्यौं

तर

हाम्रो नियति आज

ग्यास आयो अरे भनेर दौड्नुमा छ

हिजो हामी

घरबाहिर निस्केको बेला

पाहुना आए अरे भन्ने सूचना पाउनासाथ

घरतर्फ दगुर्थ्यौं

तर

अचेल घरतर्फ दगुर्ने त

बिजुली आयो अरे भनेर मात्रै हो

पाहुना भएको छ बिजुली अचेल

तर

थेत्तरो पाहुना बिजुली

कहिलेकाहीँ त

एक्काइस पटकसम्म आउँछ

र

बाइसौं पटक गएपछि चाहिँ

फेरि कतिञ्जेल आउँदैन

हिजोको सुनको भाउमा

आज नुन पुगेको छ

सबैभन्दा मूल्यहीन वस्तुमा

आज मान्छेको खुन भएको छ

धर्मनीतिका रक्षकहरू नै

अनीतिको झोला भिरेर

भष्मासुरको भूमिकामा छन्

त्यसैले

नीतिले नीति छोड्दै गएको छ

धर्मसंस्कृतिले बाटो मोड्दै गएको छ

आस्था र विश्वासमा खडेरी परेको छ

मानव सभ्यता

शिरदेखि पाउसम्म झरेको छ

सम्वेदनशीलता हराएको मात्र होइन

स्वयम् समवेदना नै मरेको छ।

प्रकाशित: १८ आश्विन २०८३ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App