एकदिन, अवकाशप्राप्त गुरु आफ्ना पुराना दिन सम्झँदै, शिष्यहरूको नियति नियाल्न थाले।
आफूले अध्यापन गराएका प्रथम श्रेणीका ज्ञानीहरू विज्ञान र औषधिको रहस्य खोज्दै थिए तर तिनीहरू दोस्रो श्रेणीका पदाधिकारी, प्रबन्धक र वकिलहरूका नियमभित्र कैद थिए तर कस्तो विडम्बना, माथिल्लो दुवै श्रेणीका विद्वान्हरूलाई तेस्रो श्रेणीका राजनीतिज्ञहरूले आफ्नो इशारामा नचाइरहेका थिए। एकछिन साेचेर हेर्नुहाेस्? राजनीतिज्ञहरूको डोरी पनि पर्दापछाडि समाजका विद्रोही र अपराधीहरूको हातमा थियो। त्यसैले शक्तिको तुजुकमा कानुन मिचिँदै थियो।
कथाको महाभ्रम तब देखियो जब गुरुले एउटा दृश्य आफ्नै नाङ्गो आँखाले देखे।
पदाधिकारी, डाक्टर, प्रबन्धक, शासक र विद्रोही सबै एउटा अन्धकार कुटीअघि लम्पसार थिए।
भित्र एक कालाे अक्षर रङ्ग बराबरका बाबा विराजमान थिए। उनी अज्ञानका प्रतीक थिए। उनले एउटै हुङ्कारमा सबै विद्वान्लाई आफ्नो पैतालामुनि झुकाइदिन्थे।
यो शाश्वत विडम्बना देखेर गुरुले लामो सुस्केरा हाले। हातको पुस्तक भुइँमा फ्यात्त फाले अनि गुरुले कुटीभित्रका बाबाको मुहारमा एकाएक आफ्नै पुरानो प्रतिविम्ब देखेझैं गरी टक्क अडिए।
उनले भुइँमा फालेको पुस्तक पुन उठाएर पाना पल्टाउन थाले वा त्यो सधैंका लागि बन्द गरे? देख्नेहरूले नदेखेझैँ गरे।
त्यहाँ बाबाको चरणमा परेका शिष्यहरू चेतनाको अन्तिम सत्यमा थिए वा अन्धकारको अन्धविश्वासमा। गुरूले बुझ्न काेसिस गरे।
तत्कालै गुरु दुई पाइला अघि बढेर शून्यतर्फ हेर्दै मुस्कुराइरहे, त्यो मुस्कान आफ्नाे हारको थियो वा..... जितकाे?
प्रकाशित: १३ श्रावण २०८३ १३:२९ बुधबार





-600x400.jpg)