आख्यानकार हिरण्यकुमारी पाठकका लघुकथासङ्ग्रह ‘तेल भिसा’ र कवितासङ्ग्रह ‘सम्बन्धको चुकुल’ तथा पाठकद्वारा सम्पादित पुस्तक ‘सर्जक गणेश रसिक स्मृति अङ्क -नारीस्वर’को लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, प्रा. गोविन्दमानसिंह कार्की, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली तथा कवि शैलेन्द्र साकारले कृतिहरूको लोकार्पण गरेका हुन्।
कार्यक्रममा उप्रेतीले स्रष्टा हिरण्यकुमारी पाठकको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै आठ दशकको उमेरमा पनि यस्ता कृतिको सिर्जना हुनु गौरवको विषय भएको बताए।
कवि शैलेन्द्र साकारले गणेश रसिक आफ्नो गाउँले दौंतरी रहेको र हिरण्य भोजपुरे तथा रसिक गायन क्षेत्रमा लागेर भोजपुरको लोकलयलाई गीत संगीत मार्फत चिनाउन सफल भएको बताए। रसिकलाई सम्झेर साकार भावुक हुँदै मान्छे कामले बाँच्छ, उमेरले होइन भन्ने उक्तिमा आफू रहेको बताए।
प्रा. गोविन्दमानसिंह कार्कीले लघुकथाकृति ‘तेल भिसा’का बारेमा बोल्दै सरल भाषामा लेखिएका लघुकथाहरू समसामयिक विषयवस्तुमा आधारित रहेको, सामाजिक विकृति र विसंगति प्रस्तुत गरेका बताए।
कवि ज्ञाननिष्ठ ज्ञवालीले कविताकृति ‘सम्बन्धको चुकुल’का बारेमा बोलेका थिए। उनले पाठकका कविताहरू आलंकारिक भएर पनि सरल रहेका र थोरै शब्दमा धेरै कुरा कवितामा उल्लेख भएको बताए। कार्यक्रम साहित्यिक पत्रकार संघको आयोजनामा आयोजना भएको हो।
प्रकाशित: १ कार्तिक २०८२ १०:०९ शनिबार


-600x400.jpg)


