१६ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘वासु शशी स्मृति परिषद्’ बाट तिन स्रष्टा पुरस्कृत

कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा तिन स्रष्टालाई पुरस्कृत गरिएकाे छ।

साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार अर्पिएको छ।

त्यस्तै साहित्यकार जयदेव भट्टराईलाई वासु शशी स्रष्टा पुरस्कार- २०८२ र

साहित्यकार हरि मञ्जुश्रीलाई  कृष्ण- सरस्वती साहित्य पुरस्कार-२०८२ 

अर्पिएको छ।

वासु शशी स्मृति परिषदले नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरेकाे कार्यक्रममा उक्त पुरस्कार अर्पिएकाे हाे।

वासु शशी साहित्य पुरस्कारको राशि नगद २५,०००/-, वासु शशी स्रष्टा पुरस्कारको राशि नगद २१,०००/- तथा कृष्ण-सरस्वती साहित्य पुरस्कारको राशि नगद २५,०००/- रूपैयाँ रहेको छ।

परिषद्का अध्यक्ष गीतकार कालीप्रसाद रिजाल सभापति रहेको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गीतकार तथा चलचित्र निर्देशक यादव खरेल रहेका थिए।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति कवि डा. विष्णुविभु घिमिरे तथा वासु शशी स्मृति परिषद्का सल्लाहकार राधेश्याम लेकाली, कृष्ण- सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशीको उपस्थिति रहेको थियो।

पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण गर्दै वासु शशी नम्र मिजासका अभिमान नभएको व्यक्तिका रूपमा चित्रण गरे। गद्य र पद्य दुवैमा उनका थुप्रै कृति भएको उल्लेख गर्दै उनले वासु शशीका कृतिहरू रि-प्रिन्ट गरी पुन:बजारमा ल्याउनुपर्ने बताए।

पुरस्कृत हुने तीनै जना स्रष्टालाई बधाई दिंदै गीतकार यादव खरेलले वासु शशी स्मृति परिषद्लाई धन्यवाद पनि दिएका थिए।

सभापतिको आसनबाट बोल्दै गीतकार कालीप्रसाद रिजालले वासु शशीको जीवनको अन्तिम घडिको स्मरण गर्दै घण्टौँ गफ गर्नुपर्ने व्यक्ति चूपचाप बस्नु परेको कुरा भावपूर्ण रूपमा व्यक्त गरेका थिए।

वासु शशी ज्यादै भद्र,असल मान्छे भएको बताउँदै उनले आफ्नो मित्रसमेत रहेका वासु शशी प्रबुद्ध व्यक्तित्व भएको र उनका कृतिहरू ज्यादै उत्कृष्ट भएको बताए। वासु शशीबाट प्रेरणा लिएर अरूले पनि सिर्जना गर्नुपर्ने बताउँदै पुरस्कृत सबैलाई बधाई दिएका थिए।

पुरस्कृत स्रष्टाहरुका बारे परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठले 'रोदन'ले प्रकाश पारेका थिए। उनले पुरस्कृत स्रष्टाहरूलाई चिनाइरहनु नपर्ने र नाम नै काफी भएको बताए।

कार्यक्रममा स्रष्टा वसन्त चौधरीका बारे बोल्दै रोदनले एउटा उद्योगपति भएर पनि नेपाली भाषा, साहित्य, गीत सङ्गीतका क्षेत्रमा उनको कलम चल्ने गरेको बताए।

व्यापारमा नाफा र सिर्जनामा सन्तुष्टि हेरिने भए पनि उनले नाफा र सन्तुष्टि बीच सन्तुलन राख्न सकेको बताए। वसन्त चौधरीका २१ थान कृति रहेको बताउँदै उनका केही कृति हिन्दी तथा अंग्रेजीमा समेत अनुवाद भइसकेको बताए। वसन्त चौधरी फाउन्डेसन तथा श्री लूनकरणदास-गङ्गादेवी चौधरी साहित्य कला मन्दिरमार्फत उनको साहित्य तथा सङ्गीत क्षेत्रमा ठूलो योगदान रहेको बताए।

त्यसैगरी रोदनले जयदेव भट्टराई सकारात्मक सोच राख्ने व्यक्ति भएको र नेपाली भाषा साहित्यमा उनको योगदानको चर्चा गरेका थिए। उनको शारीरिक कद होचो भए पनि साहित्यिक व्यक्तित्व अग्लो भएको बताए। साथै उनले गोरखापत्रको शनिवार अङ्कमार्फत अग्रज साहित्यकारहरू चिनाउने काम गरेको र उनले नव लेखकहरूलाई प्रोत्साहित गर्ने गरेको बताए।गोरखापत्र संस्थानबाट अवकाश प्राप्त गरे पछि पनि उनको साहित्यिक पत्रकारिता अन्त नभएको भन्दै 'आरब्ध' पत्रिकाको चर्चा गर्दै उनका लेखहरू खोजमुलक हुने गरेको बताए। भट्टराईका सात कृति रहेको उनको भनाइ थियो।

त्यसैगरी स्रष्टा हरि मञ्जुश्रीका हालसम्म १२६ कृति प्रकाशन भइसकेको बताउँदै नेपाली भाषा, साहित्य, सम्पादन तथा पत्रकारितामा उनको ठूलो योगदान रहेको बताए। मन्तव्यको क्रममा उनले शब्दयात्रा प्रकाशनको चर्चासमेत गरेका थिए।

कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले आफ्नो मन्तव्यमा वासु शशी जस्ता साहित्यकारका नाममा स्थापित र कवि कृष्ण जोशीको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाएकोमा आभार प्रकट गरेका थिए।

कवि ठाकुर बेलवासे सञ्चालन गरेकाे कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए। जोशीले वासु शशी साहित्य पुरस्कार २०५७ सालदेखि सुरू गरिएको बताउँदै वासु शशी स्रष्टा पुरस्कार भने यसै वर्षदेखि सुरू गरिएको बताए।

परिषद्की संरक्षक श्रीमती जुलुम वैद्यको स्वास्थ्य अस्वस्थका कारण उपस्थित हुन नसकेकाले उनको तर्फबाट दिइएको बधाई सदस्य सचिव प्रद्युम्नले पढेर सुनाए।

कार्यक्रममा कवि तथा नाटककार वासु शशी तथा कवि कृष्ण जोशीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाएर श्रद्धा व्यक्त गरिएको थियो।

प्रकाशित: १६ चैत्र २०८२ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App