२ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

दसैंमा प्रदर्शित तीन चलचित्रको यस्तो छ व्यापार

दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन्। दसैँको बिदा भए पनि तीनै चलचित्रले घरेलु बजारमा अपेक्षा गरे जस्तै व्यापार भने गर्न सकेका छैनन्।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राति ११ बजेर ५५ मिनेटसम्म तीन करोड ७५ लाख ५३ हजार २५१ रूपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ।

उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो। सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायत कलाकारले अभिनय गरेका छन्।

यस्तै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले तीन करोड २१ लाख ७० हजार १६० रूपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको छ। यसका ९० हजार ९४७ टिकट बेचिएका छन्।

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्।

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ ले सबैभन्दा कम दुई करोड १३ लाख ६४ हजार ६९२ रूपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ।

उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएवापत सो व्यापार भएको हो। रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत  कलाकारले अभिनय गरेका छन्।

पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन्। बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाए त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ। यद्यपि व्यापारको तथ्याङ्क हेर्दा अघिल्लो दसैंको तुलनामा यसपटक चलचित्रहरूको व्यापार उत्साहजनक हुन सकेको छैन। 

प्रकाशित: २३ आश्विन २०८२ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App