जीवन उनीहरूलाई लामो लाग्छ, जो सक्रिय हुँदैनन् तर नुवाकोटका ९१ वर्षीय रामहरि रिमाल अर्थात् ‘बिरुवा बाजे’ यति सक्रिय छन् कि ९१ वर्ष बितेको पत्तै पाएका छैनन्। हेर्दा चिटिक्क, रसिलो मुहार।
गत साता नागरिक कार्यालयमा सम्पादक गुणराज लुइँटेललाई भेट्न उनी आइपुगेका थिए। बिस वर्षअघि भएको चिनजानलाई जीवित राख्न उनी गत आइतबार खोज्दै सम्पादक लुइँटेलको कार्यकक्षमा पुगेका हुन्। भेटमा बुढेसकालमा गरिरहेका क्रियाकलापको बेलिविस्तार लगाए।
उमेरले ९१ वर्ष पुगे पनि उनका सबै गतिविधि कुनै युवकभन्दा कम देखिँदैनन्। चिटिक्क परेको पोसाक– सर्ट, पाइन्ट र इस्टकोट, शिरमा ढाका टोपी, मुहार उस्तै चम्किलो, कुरा रसिला। एउटा झोलामा ट्याबलेट राखेर काँधमा भिरेका। यही हो बिरुवा बाजेको हुलिया। उनको जीवनकथा सुन्दा जोकोहीलाई अनौठो लाग्छ।
नुवाकोटमा १९९३ जेठ २२ गते पिता बद्रीनाथ रिमाल र आमा मोहमायाको कोखबाट उनको जन्म भएको हो। कान्छा सन्तानका रूपमा जन्मिएका रिमालले सानैमा आमाबुबा गुमाए। २२ महिनाको हुँदा बुबा र ११ वर्षको हुँदा आमा बिते। जागिरको खोजीमा दाजु भारततिर थिए। जेठी भाउजूको हेरचाहमा हुर्किए। स्कुल जाने चलन थिएन, कुटो–कोदालो चलाउँदै हुर्किए। २००३ सालमा माइजूबाट धुलौटे अक्षर चिने। खेतीबाहेक अर्को काम थिएन।
जागिरे यात्रा
रिमाल पन्ध्र–सोह्र वर्षका थिए। भारतमा जागिर खाने उद्देश्यले जेएमसी ट्रक चढेर बाइरोड हुँदै रक्सौल पुगे। त्यहाँ पैसा ठगिएपछि फर्केर वीरगन्ज आए र भैरवनाथ घिमिरेको घरमा भान्छे बसे। भैरवनाथ ठाकुरराम कलेजमा पढ्थे। उनैसँग अंग्रेजी अक्षर सिके। रिमाल रोमन लिपिमा लेख्न सक्ने भए। त्यसपछि वीरगन्जमै मासिक दुई रुपैयाँ तलबमा चौकीदारको जागिर पाए।
त्यही बेला स्याङ्जा भाटखोलाका प्रतापसिंह रानाभाटसँग भेट भयो। उनले हेटौंडास्थित फलाम कारखानामा जागिर लगाइदिए। त्यहाँ तीन वर्ष काम गरे। पैसा नभएर एसएलसी दिन नपाएका कवि क्षेत्रप्रताप अधिकारी पनि त्यही कारखानामा काम गर्न आएका थिए। उनको संगतले रिमालमा पढ्ने जाँगर चल्यो। दिनभर काम गर्थे, बेलुकी अंग्रेजी पढ्न सिक्थे।
त्यही बेला नेपालमा रिजनल ट्रान्सपोर्टेसन गठन भयो । फलाम वर्कसपको जागिर छोडेर फेरि आसामको सिल्मोनाइड कम्पनीमा मिस्त्रीका रूपमा मासिक १८ रुपैयाँ तलबमा आठ–नौ महिना काम गरे। नेपालमा हेटौंडा–नारायणघाट ७२ माइल सडक निर्माणमा पनि काम गरे। पछि आसाममै रहँदा नेपालमा जागिर खुलेको थाहा पाएपछि त्यो छोडेर आनन्द निकेतनमा जागिर खाए।
२०१८ सालतिर त्रिशूली जलविद्युत् परियोजनाको काम सुरु भयो। त्यहाँ भारतीय इन्जिनियरसँग हिन्दीमा कुरा गरे। काम र भाषा दुवै जानेकाले पहिलो नम्बरमै छनोट भए। परियोजना २०२८ सालमा विद्युत् कर्पोरेसनलाई हस्तान्तरण भएपछि त्यहीं उनको पदस्थापन भयो।
प्राधिकरणमा हुँदा हाकिमहरूको पंखा बिग्रिए घरमै गएर मर्मत गरिदिन्थे। लुगा सिउने मेसिन बिग्रिँदा गोरखाबाट दमाईंहरू मेसिन बोकेर आउँथे। ती सबै रिमालले नै मर्मत गर्थे।
त्यही बेला नुवाकोटकै घरेलु उद्योग कार्यालयका हाकिम रविन्द्रनाथ अर्यालले रिमालको सिप चिने। उनले उद्योग खोल्न प्रेरित गरे। २०३१ सालतिर रिमालले वर्कसप खोले। दिनभर प्राधिकरणको काम, बिहान–साँझ वर्कसप। त्यहाँ विभिन्न औजार मर्मत र निर्माण हुन्थे। घरेलु उद्योगकै मागमा उनले पहिलो पटक ठुलो संख्यामा हाते चर्खा बनाएर दिए।
आफ्नो सिप आफैंमा सीमित राखेनन्। कम्तीमा २५ जनालाई सिकाए। आज उनीहरू सबै वर्कसपका मालिक भइसकेको देख्दा उनलाई खुसी मिलेको छ।
२०४० सालमा जागिर छोडेर पूर्ण समय आफ्नै कारखानामा लागे। रिमाल वर्कसपमै सीमित रहेनन्। कारखानाको नजिकै रहेको भैरव उच्च माध्यमिक विद्यालयमा नौ सय वटा रुख रोपेर हुर्काएर विद्यालयलाई नै दिए। यही कारण साहित्यकारहरूले उनलाई ‘बिरुवा बाजे’ भनेर चिन्ने गरेका छन्।
वर्कसप र जागिरे जीवनमा रिमाल ८८ वर्षसम्म सक्रिय रहे। पछिल्लो समय लेखनमा लागेका छन्। तीन वर्षदेखि ठमेल गल्कोपाखास्थित आफ्नै घरमा बस्दै आएका छन्। तीन सन्तानका पिता बनेका उनलाई नातिनातिनाको साथ उस्तै छ।
व्यवसायसँगै फुर्सदमा कविता र लेखन रिमालको खास समय हो। सानैमा विवाह–व्रतबन्धमा गाइने श्लोक नै उनका कविताको सुरुवात बने। यिनै झ्याउरे श्लोक कविता लेखनको आधार बने। यस अवधिमा उनले दुई कवितासंग्रह– ‘भेट्न आएँ’ र ‘माउसुलीको पुच्छर’ प्रकाशन गरिसकेका छन्।
वर्तमान शिक्षा पद्धतिले नेपालमा परनिर्भरता बढाएकोप्रति उनी चिन्तित छन्। ‘हामी बिग्रियौं,’ उनी भन्छन्। उनको रचनामा विसंगतिका विषय छन् । अहिलेको शिक्षाले जागिरे मानसिकता जन्माएको र त्यसैले देश परनिर्भर बन्दै गएको उनको धारणा छ। ‘म सन्तुष्ट छु, तर हामी सक्षम छैनौं,’ उनी भन्छन्।
सक्रिय बुढ्यौली
९१ वर्षको उमेरमा पनि उनको दिनचर्या अत्यन्त रमाइलो छ। गाउँले खाना खाएर हुर्किएका उनी स्वस्थ जीवनशैली अपनाउँछन्। नियमित व्यायाम, योग र सन्तुलित भोजन नै उनको बुढ्यौली जवानीको रहस्य हो।
उनी बेलुकी ८ बजे सुत्छन्, बिहान ४ बजे उठेर रामदेवको योग गर्छन्। मनतातो पानी पिउँछन्। घरमै भिजाएको काजु–बदाम, किसमिस र एउटा स्याउ उनको बिहानी खाजा हो। त्यसपछि लेखेका सामग्री फोटो खिचेर साथीहरूलाई पठाउँछन्। दिनको खाना खान्छन्, लेख्छन्, नातिनीले अस्ट्रेलियाबाट पठाएको ट्याबलेटमा समाचार सुन्छन्, फोटो खिच्छन् र पठाउँछन्।
‘सक्रियता जीवनको रस हो,’ रिमाल भन्छन्, ‘जो निष्क्रिय हुन्छ, निष्क्रियता कहिल्यै मिठो हुँदैन।’
प्रकाशित: २४ माघ २०८२ ०८:०२ शनिबार





