म भत्किन लागेको पर्खाल हूँ
यो वर्षाको भार झन्
गहकिलो भइरहेको छ
इन्द्र म उभिन्छु वा ढल्छु
यो सब तिम्रो हातमा छ।
उता चिता तयार छ जलाउन
आफन्त लामबद्ध छन् खरानी पखाल्न
सेतो धरामा छरिएको छ रातो रङ
जहिल्यै आँसु दिनेहरू
अहिले पनि दिइरहेछन्
अपमानको सौगात
आँखा बन्द गराएर
नाकमा रुवा खाँदिएको म
उसै गरेर थापिरहेको छु हात
ओ! म मर्दा लाम लागेर
सहयोग गरेका मान्छेहरू
अरूको जिउँदैमा हात थामिदिनु
नत्र तिम्रै आँखा अगाडि ढल्ने छ
अर्को उस्तै अवस्थामा रहेको पर्खाल।
प्रकाशित: ३ श्रावण २०८३ ०८:०७ आइतबार





