नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजेको आरोप लगाएका छन्। उनले कानुन संशोधनको नाममा राज्य संयन्त्रको दुरुपयोग हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले सरकारले चालु आर्थिक वर्षमै डेढ सयभन्दा बढी कानुन संशोधन गर्ने तयारी गरिरहेको विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसको उद्देश्यप्रति प्रश्न उठाए।
‘कानुनमा समयानुकूल सुधार र संशोधन आवश्यक हुन्छ। तर सरकार जुन दृष्टिकोणका साथ अघि बढिरहेको छ, त्यसले गर्ने परिवर्तन कानुन सुधारका लागि हो कि दुरुपयोगका लागि हो भन्ने विषयमा गम्भीर रूपमा ध्यान दिनुपर्छ,’ उनले भने।
उनले कानुनको दुरुपयोगमार्फत राज्य सञ्चालन स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ जान सक्ने जोखिम रहेको दाबी गरे।
महासचिव पोखरेलले सरकारको कार्यसम्पादनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको काम गर्ने शैलीमाथि कटाक्ष गरे। कार्यक्रममा विद्युत् आपूर्तिमा आएको अवरोधलाई उदाहरण दिँदै उनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए।
‘कामबाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत् आपूर्तिको पीडा बेहोर्दै हामी कार्यक्रम सुरु गर्दैछौँ। यसले पनि काम कसरी भइरहेको छ भन्ने देखाउँछ,’ उनले भने।
उनले सामाजिक सञ्जाल र भर्चुअल माध्यममा सरकारको चर्चा भए पनि आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी काम हुन नसकेको टिप्पणी गरे। जनताले अत्यन्त लोकप्रिय जनादेश दिएर बनाएको सरकारबाट आश्वस्त हुनुपर्नेमा उल्टै सन्त्रस्त हुने वातावरण सिर्जना भएको उनको भनाइ थियो।
पोखरेलले यस्तो परिस्थितिमा एमाले संसदीय दलले संसद्भित्र अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए। उनले जनताका सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउँदै सरकारलाई जवाफदेही बनाउन सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए।
प्रकाशित: ३ श्रावण २०८३ १४:४९ आइतबार





