‘खोस्का सिरङमा समूह’ ले ८६ वर्षीय पाँचवीर थुलुङ राईकाे ‘जीवनका जंघार’ लोकार्पण गरेको छ।
खोस्का सिरङमा समूहका अध्यक्ष बाडेन थुलुङ राईको अध्यक्षता र पूर्व रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण भएको हो।
स्रष्टाकी नातिनी पुजा राईले ‘जीवनका जंघार’ प्रकाशनमा ल्याएकी हुन्। सोलुखुम्बुको देउसा रनेम चारघरेका ८६ वर्षीय राईको पुस्तकमा जीवन भोगाइ, दुःखसुख, अनुभव र अनुभूति समेटिएकाे छ। लेखक थुलुङ थुलुङ समुदायकै अगुवा व्यक्तित्व मानिन्छन्।
प्रकाशक पुजा राईले आफ्नो बेबे (बाजे) को जीवनलाई नै एउटा पुस्तकको रूपमा देखिरहेकी बताइन्। जीवनका जङ्घार आत्मकथा मात्र होइन, संघर्ष, समाज परिवर्तनका लागि जीवनभर गाउँ र समाजका लागि गरेकाे यथार्थ भएकाे बताइन्।
यसैगरी प्रमुख अतिथि मानवीर राईले लेखक थुलुङले शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा पुर्याएको योगदान अविस्मरणीय रहेकाे बताए। ‘सोलुखुम्बुमा न्यून साक्षरता रहेको बेला शिक्षाको उज्यालो बाँड्न लेखककाे योगदान अभिनन्दनीय छ। ‘जीवनका जङ्घार’ वयाेवृद्ध भए पनि थुलुङको क्रियाशीलता प्रमाण भएकाे उनले बताए।
समालाेचक डा. सुकराज राईले ‘पाँचवीर थुलुङ, थुलुङ वंशका अद्वितीय पुरुष रहेकाे बताए। उनले समाजमा चेतना फैलाउनकाे साथै थुलुङ भाषा, संस्कृति, संस्कार र सम्बन्धी थुलुङ भाषाको शब्दकोश निर्माणमा उनकाे उल्लेखनीय भूमिका रहेको बताए।
यसैगरी थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईले ‘पाँचवीर थुलुङ जिउँदाे इतिहास रहेकाे बताए। समाज रूपान्तरण तथा गाउँसमाजलाई सत्मार्गमा हिँडाउन खेलेको भूमिका उल्लेख्य रहेकाे बताए। उनको हरकार्य स्मरणीय रहेकाले उनी जस्ताे व्यक्तिलाई अभिनन्दन गर्नुपर्ने बताउँदै स्थानीय सरकारले आगामी कृति प्रकाशनको जिम्मा लिने वचन पनि दिए।
त्रिलोक सिं राईकाे स्वागत मन्तव्य तथा रामकुमार राईकाे सञ्चालन रहेकाे कार्यक्रम काठमाडौंस्थित म्हेपी पारिजात स्मृति केन्द्रमा भएकाे थियाे।

कार्यक्रममा दामोदर ढकाल ‘दीपक’ ले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।
पुस्तकमा जीवन भोगाइका रोमाञ्चक प्रसङ्गले पाठककाे मन तानिरहने बताए। त्यस्तै समीक्षक ‘दीपक’ ले आदर्शवान् बन्न नखाेजी जीवन भाेगाइकाे कुनै प्रसङ्ग नलुकाई यथार्थ रूपमा प्रस्तुत गरेकाे बताए।
जीवनको ऊर्जावान् समय, शक्ति र क्षमता समाजका लागि दिएकाे, आफ्नो पितापुर्खाको संस्कार, संस्कृति र परम्परा जीवन्त राख्नुपर्छ भन्ने एक पितृभक्त व्यक्तित्व पुस्तकमा रहेकाे बताए।
समीक्षक ढकालले थुलुङ समाज र राष्ट्रको एउटा दस्तावेज र एउटा युग पुरुषले बाँचेको युगको कथा हो भनेर समीक्षा गरेका थिए।
यस्तै समीक्षक जीवनजित राई (एस खम्बू) ले पुस्तक व्यक्तिगत कथा मात्र होइन, गाउँको शिक्षा र सामाजिक विकासको इतिहास समेटिएको बताए।
पुस्तकमा थुलुङको बाल्यकालको संघर्ष, शिक्षक बन्ने यात्रा, विद्यालयको पुननिर्माण कथा र समाज परिवर्तनका घटना समेटिएकाे बताए। उनले पुस्तकले सङ्कटमा पनि संघर्ष गर्दै अगाडि बढ्न हाैस्याउने बताए।
प्रकाशित: २२ मंसिर २०८२ १०:३४ सोमबार





