२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

नेपाली चलचित्रका सच्चा ‘हिरा’

चलचित्र

हालैका दिनमा नेपालमा सिनेमाले साठी वर्षायुको इतिहासको घोषणा गर्‍यो, नेपाली भाषामा बनेको पहिलो सिनेमा ‘आमा’लाई आधार मानेर।

‘आमा’ फिल्मका निर्देशक हिरा सिंह खत्री भारतको देहरादुनमा जन्मेहुर्केका नेपाली हुन्। उनले भारतको मुम्बईमा बसेर साबुन, तेल र चुरोटका छोटामोटा विज्ञापन बनाउने काम गर्दै गरेका बेला नेपालका तत्कालीन राजा महेन्द्र फ्रान्स भ्रमण सकेर आउँदा मुम्बईमा उनको भेट भएको थियो। देहरादुनमा उनका स्कुलका सहपाठी तत्कालीन राजाका एडिसी थिए। उनैमार्फत सिंहको राजा महेन्द्रसित परिचय भयो। राजाले तत्कालै उनलाई नेपाल आएर सिनेमा बनाउन आग्रह गरे।

हिरा सिंह नेपाल आउँदा यहाँको राजनीतिक स्थिति डामाडोल थियो। उनले यहाँ काम गर्न सक्ने वातावरण देखेनन्। उनी फर्केर गए। पछि आएर उनले राजा महेन्द्रको बयालिसौं जन्मोत्सवको उपलक्ष्यमा वृत्तचित्र बनाए। त्यही वृत्तचित्र मार्फत संगीतकार शिवशंकर पाश्र्व गायकका रूपमा देखिए भने श्यामदास वैष्णवले गीत लेखे -‘स्वराष्ट्रका हे नायक’।

यो वृत्तचित्र बनाएको तीन वर्षपछि हिरा सिंहले नेपाली चलचित्र ‘आमा’ बनाए। भाषागत रूपमा यो पहिलो नेपाली चलचित्र थियो। ‘आमा’मा साहित्यकार दुर्गाप्रसाद श्रेष्ठले कथा र संवाद लेखे। चलचित्र समयमा बनेर समयमै प्रदर्शित भयो।

यसपछि हिरा सिंहले ‘हिजो आज भोलि’ नामक दोस्रो सिनेमा बनाए। यी सिनेमा बनाउन्जेल हिरा सिंहको नेपाल र नेपालीसित सम्बन्ध गहिरो भइसकेको थियो। हिरा सिंहले यी दुई सिनेमा बनाउँदासम्म निर्माण संस्थाका प्रमुख नारायण बाँस्कोटासित घनिष्टता बनिसकेको थियो।

बाँस्कोटा त्यतिबेला राष्ट्रिय निर्देशन मन्त्रालयअन्तर्गत प्रचारप्रसार डिभिजनमा आबद्ध थिए। राजा महेन्द्रले यो प्रचारप्रसार डिभिजनको परिकल्पना रुसमा लेनिन आइसकेपछि उनले राष्ट्रिय फिल्म विभागको घोषणा गरेर कुलेशाव, डबजेन्को र सर्जेई आइजेन्स्टाइनलाई राखेर जुन विकासको परिकल्पना गरेका थिए, सायद त्यही धारमा पछि राजा महेन्द्रले कल्पना गरेका हुन् कि भन्न सकिन्छ। किनकि उनले रुसमा बनेको ‘मदर’ र भारतमा बनेको ‘मदर इन्डिया’कै कारण ‘आमा’को परिकल्पना गरेका थिए कि? यो अनुसन्धानको विषय भयो।

राजा र राजदरबारसित सम्बन्धमा कटुता आएपछि फिल्म निर्देशक हिरा सिंह फर्केर आफ्नो कर्मभूमि मुम्बई गए तर फर्केर आएनन्। उनको दरबारसित दुरी बढ्नुको कारणबारे साहित्यकार धच गोतामे आफ्नो संस्मरणमा लेखेका छन् -दरबारको कान कमजोर हुन्छ, हिरा सिंहका विरुद्ध अनेक कुरा लगाइए उनी नेपालबाट पलायन भए।

‘घामका पाइलाहरू’का लेखक गोतामेको सरकारी जागिरका सिलसिलामा हिरा सिंहसित निकटता थियो भन्ने बुझिन्छ। त्यस्तै गीतकार तीर्थराज तुलाधर, चेतन कार्की, दुर्गाप्रसाद श्रेष्ठ, जनार्दन सम पनि सरसङ्गतमा रहे।

सन्दर्भ फेरि त्यही बेलाको।

२०२६ सालतिर साहित्यकार जनार्दन समको नाटक ‘चेतना’ काठमाडौंमा मञ्चन भयो। यो नाटकको सफल मञ्चनपश्चात् राजासमक्ष कसैले निवेदन गरे - यो नाटकलाई चलचित्र बनाउनुपर्छ। ‘चेतना’ नाटक चलचित्र बनाउने भएपछि हिरा सिंहलाई यसको निर्देशनको जिम्मा दिइयो। हिरा सिंह नेपालबाट पलायन हुनुअघि बनेको यो सिनेमा एक अर्थमा साहित्यिक कृतिमा बनेको पहिलो चलचित्र हुन पुग्यो।

जनार्दन समको नाटक ‘चेतना’को चलचित्र बनाउँदा नाम के राख्ने भनेर राजालाई प्रश्न गर्दा राजाले नाम परिर्वतन गर्नु भनेका रहेछन्। तर उनका भक्तहरूले चलचित्रको नाम नै ‘परिवर्तन’ राख्नु भन्ने बुझे अनि चलचित्रको नाम ‘परिवर्तन’ हुन पुग्यो। पञ्चायत काल, दरबार र शक्तिसँग खेल्नेहरूको यो दौडधुपमा हिरा सिंहले आफ्नो निर्देशनमा तेस्रो नेपाली चलचित्र ‘परिर्वतन’ बनाए।

‘परिवर्तन’ धेरै अर्थमा नेपालको एक मानक चलचित्र हुन पुग्यो। हिरा सिंहलाई यसका लागि सदा सम्झनुपर्ने हुन्छ। हिरा सिंह फिल्मी निर्देशनको बागडोरमा आउँदा नेपाली मूलका दुई पात्र बिएस थापा र नारायणसिंह थापा मात्र सिनेमासित आबद्घ थिए। अर्का एक नेपाली भरत शमशेर कोलकत्तामा बसेर बङ्गाली चलचित्र बनाउँदै थिए। होटल पारसका साहु मथुरादास श्रेष्ठले एउटा हिन्दी चलचित्र बनाइसकेका थिए। बाँकी नेपालीमा चलचित्रको त्यति ज्ञान वा पहुँच थिएन।

‘परिवर्तन’ चलचित्र बन्दै गर्दा भारतमा रङ्गीन चलचित्रको परिकल्पना सुरु भएर केही चलचित्र प्रदर्शन पनि भइसकेका थिए। भारतीय सिने उद्योगमा गुरुदत्तले पहिलो सिनेमास्कोप फिल्म ‘कागज के फूल’ बनाइसकेका थिए। ‘कागज के फूल’ बनाउने गुरुदत्तले साहित्यिक कृतिमा विमल मित्रको उपन्यास ‘साहब बिबी और गुलाम’ बनाएर विश्वप्रसिद्ध भइसकेको कथा छ।

भनिन्छ, यही समय गुरुदत्त नेपाली वा हिन्दी चलचित्र बनाउने उद्देश्यले नेपाल पनि आएका थिए तर उनको यो असफल यात्रापश्चात् उनी कहिल्यै फर्केर नेपाल आएनन्। पछि उनले आत्महत्या नै गरे।

गुरुदत्तजस्तै राजकपुर पनि रञ्जना हलका साहु राजकृष्ण श्रेष्ठको निम्तोमा नेपाल आएका थिए। उनी आफ्नै सिनेमा प्रदर्शन गर्ने र नेपालसित सम्बन्ध बनाउने ध्येयले मात्र आएका हुन सक्छन्। गुरुदत्त, राजकपुर वा सत्यजित रेले भारतीय चलचित्रलाई अन्तर्राष्ट्रिय परिचय दिइरहेको बेला हाम्रो नेपाली चलचित्र उद्योग भर्खर बामे सर्दै थियो र हिरा सिंह ‘परिवर्तन’ बनाउँदै थिए।

‘परिवर्तन’ चलचित्रमार्फत हिरा सिंहले नेपाली चलचित्र जगत्मा ठुलो परिवर्तन ल्याए। उनले यही चलचित्रमार्फत पहिलो पटक कथा, पटकथा र संवाद लेखनमा सम्भावना बोकेका एक युवा चेतबहादुर कार्कीलाई सिनेमामा प्रविष्टि दिए। तिनै चेतबहादुर पछि नेपाली चलचित्र जगत्मा गीतकार, संवाद लेखक एवं निर्देशक चेतन कार्कीका रूपमा स्थापित भए र उनले धेरै नेपाली चलचित्र पनि बनाए।

चेतन कार्कीजस्तै यस चलचित्रमा तीर्थ शेरचन गीतकारका रूपमा पदार्पण भए। शेरचनले पछिसम्म नेपाली सिनेमामा योगदान दिइरहे। पोखरा निवासी शेरचन नेपालबाट भारतको दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयमा पढ्न जाने पहिलो नेपाली भए।

‘परिवर्तन’मा भारतको मुम्बईबाट पलायन भएर कोलकत्ता आई बसेका हिन्दी चलचित्रका सङ्गीतकार भी बल्साराले सुन्दर गीतहरू सङ्गीत गरे। बल्सारा आफैं एक कुशल एकोर्डियनवादक र भ्वाइलेन प्लेयर भएकाले गीतमा उनले गहन अनुभूति दिन सके। एक किसिमले पहिलो पटक नेपाली गीत नेपाली हावापानी, माटो सुहाउँदो बनेको देखिन्छ।

 यसअघि हिरा सिंहले बनाएका चलचित्र ‘आमा’ र ‘हिजो आज भोलि’का गीत त्यति यादगार भएनन् बरु सिंहले ‘आमा’ बनाएकै समय बनेको निजी क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’मा सङ्गीतकार जयदेवले गीतकार किरण खरेल, मविवि शाह र प्रदीप रिमालका गीतमा बनाएका धुनहरू फिल्मी सूत्रका गीतका रूपमा लोकप्रिय भए। ‘माइतीघर’का गायक प्रेमध्वज प्रधानबाहेक अन्य सबै गायिका भारतीय मूलका थिए।

माइतीघर बनेको ६ वर्षपछि बनेको चलचित्र ‘परिवर्तन’मा सङ्गीतकार भी बल्साराले नेपाली थातथलोमा हुर्केबढेका नेपाली भाषी गायकगायिकालाई पाश्र्वगायनमा ल्याए। त्यसमध्ये नारायणगोपाल र मीरा राणा यही चलचित्रको गीतबाट चर्चामा आए।

‘बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’

‘बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो’

यी दुई गीतले गायक नारायणगोपाल र गायिका मीरा राणालाई पर्दाको भाषामा भन्दा ‘डेब्यु’ नै गराए। गीतले पछिसम्म चलचित्रलाई काँधमा बोकिरह्यो। यही चलचित्रमा पहिलो पटक तारादेवीले क्याब्रे गीत गाइन्-‘सुन पवनले के भन्छ’।

गीतकार चेतन कार्कीलाई पहिलो पटक गीतकार अनि संवाद लेखकका रूपमा यही चलचित्रले परिचय दिलायो। कार्कीजस्तै महत्त्वपूर्ण रूपमा अर्का एक पात्रले ब्रेक पाए। ती हुन् कलाकार नीर शाह। शाहले यही चलचित्रमार्फत नेपाली चलचित्रमा प्रवेश गरे। एक नवप्रतिभाका रूपमा चलचित्रमा प्रवेश गरेका शाहले पछि नेपाली सिनेमामा वासुदेव, पच्चीस वसन्त, मसान, सेतो बाघ, राजमति, वसन्तीजस्ता उत्कृष्ट चलचित्रको निर्देशन गरे।

शाहलाई सिनेमासित परिचित गराउने श्रेय पनि हिरा सिंहलाई जान्छ। यद्यपि उनले पहिलो फिल्म ‘आमा’मा नायक शिवशंकर, नायिका भुवन थापा, खलनायक उत्तम नेपाली, चैत्यदेवी सिंह, हरिप्रसाद रिमाल, श्रीधर खनाल, वसुन्धरा भुसाल, इन्द्रलाल आदिलाई ल्याइसकेका थिए। त्यसको श्रेय पनि उनैलाई जान्छ।

नेपाली सिने उद्योगका ‘ग्रिफिथ’ नै मानिने हिरा सिंहको यो देन नेपाली सिने उद्योगले कहिल्यै बिर्सन मिल्दैन तर सम्झेका पनि छैनन्, सिवाय चेतन कार्कीले। कार्कीको कोरोनाकालमा निधन भएपछि हिरा सिंहको सम्झनामा गरिने एक कार्यक्रम पनि इतिहासको गर्तमा हराएको छ।

राजा, राणाको रुचिमा चलचित्र बन्ने नेपाली सिने उद्योगमा हिरा सिंहले केही यस्ता कलाकार, लेखक पनि जन्माए, जसले पछि चलचित्रमा कहिल्यै काम गरेनन्। त्यसमध्ये ‘परिवर्तन’का कथाकार जनार्दन सम र आमाका लेखक दुर्गाप्रसाद श्रेष्ठ। बरु जनार्दन समका पिता बालकृष्ण समको कथामा ‘प्रेमपिण्ड’ चलचित्र बन्यो। जनार्दन फर्किन सकेनन्। बनारस निवासी दुर्गाप्रसाद श्रेष्ठ अहिले साहित्यिक जीवनमा सक्रिय छन्, चलचित्रमा आउन सकेनन्।

‘परिवर्तन’का अन्य प्रमुख पात्रमा नीता थापा, यज्ञनाथ घिमिरे, सुषमा शाही, शैल्यान केसी आदि पछि पनि चलचित्रमा सक्रिय रहे। शैल्यान केसीले पछि ‘मनको बाँध’, ‘कुमारी’ जस्ता चलचित्रमा अभिनय गरे भने सुषमा शाहीले ‘मनको बाँध’, ‘कान्छी’, ‘बदलिँदो आकाश’, ‘हामी एक हौं’ आदि चलचित्रमा सशक्त अभिनय गरिन्।

नेपाली चलचित्र ‘परिवर्तन’ बनाएर परिवर्तनको धार ल्याउने हिरा सिंहको विक्रमाब्द चालिसको दशकमा भारतको मुम्बईमा निधन भयो तर उनको निधनको खबर पुष्टि गरेर नेपाली सिने पत्रिका ‘कामना’ले ६ महिनापछि मात्र समाचार छाप्यो। हिरा सिंहले नेपाली चलचित्र बनाएकै समय दुई नेपाली चलचित्रको घोषणा भएको थियो, गोपालजी नेपालीको ‘लाहुरे’ र नवीन केसीको ‘कहीं दियो कहीं बत्ती’। यी दुवै चलचित्र कहिल्यै प्रदर्शनमा आएनन्।

हिरा सिंह नेपाल आएपछि नेपाली चलचित्र निर्माणमा परिवर्तन आएको हो। चलचित्र निर्माणको निरन्तरताका निम्ति पछि बिएस थापा, प्रकाश थापा, चेतन कार्की, प्रदीप रिमाल, नीर शाहको योगदान अमूल्य रह्यो। यस अर्थमा हिरा सिंह नेपाली चलचित्रका अमूल्य हिरा नै थिए।  

प्रकाशित: ३१ श्रावण २०८२ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App