८ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘वीर गणेशमान’मा लौह पुरुषको साहस र निष्ठाको कथा

ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।

गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी र प्रतिष्ठित रङ्गमञ्च समूह सर्वनामको प्रस्तुतिमा नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित यस नाटकलाई वरिष्ठ रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन गरेका छन्।

आफ्नो करिब पाँच दशक लामो नाट्य यात्रामा यस प्रकारको यथार्थपरक नाटक पहिलोपटक गर्न लागेको भन्दै निर्देशक मल्लले भने–‘वीर गणेशमान’ केवल कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो। एउटा निष्ठावान्, इमानदार र सच्चरित्र योद्धाको तेस्रो आयाम दर्शकसम्म सञ्चारित गर्ने प्रयास हो।’

नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको सङ्घर्ष, भद्रगोल जेल जीवन तथा ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डसमेत बेवास्ता गर्दै निरन्तर सङ्घर्ष गरेका गणेशमान सिंहको त्याग, साहस र अडिग निष्ठालाई नाटकले रङ्गमञ्चमार्फत जीवन्त बनाउने प्रयास गरेको छ।  

यसमा २०४६ सालको जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक घटनालाई नाटकको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ। व्यक्तिगत स्वार्थ, परिवार, पार्टी, पद र सत्ताभन्दा माथि देश र जनताको अधिकार तथा स्वतन्त्रतालाई सधैँ प्राथमिकता दिने लौहपुरुष गणेशमान सिंहको राजनीतिक दर्शनलाई यस नाटकले उजागर गर्नेछ।

‘वीर गणेशमान’मार्फत सर्वनामले नेपाली इतिहासको महत्त्वपूर्ण अध्यायलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्यलाई पुनः स्मरण गराउने प्रयास गरेको जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३ १७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App