१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘रोल नं १’ को ‘मेरो लागि तिमी’ नयाँ गीत सार्वजनिक

‘रोल नं १’ चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ। ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीको छ। गीतले सन्तानका लागि आमाबुबा र आमाबुबाका लागि सन्तान कति महत्त्वपूर्ण छन् भन्ने देखाएको छ।

सन्तानका लागि आमाबुबा नै ईश्वर र मन्दिर हुन् भन्ने वास्तविकता यो गीतको मुख्य सन्देश छ। आफ्नो भाग्य समेत नकोरी सन्तानका लागि त्याग र संघर्ष गर्ने आमाबुबाको महानता तथा माया केन्द्रमा राखेको गीतले सिनेमाको सेन्ट्रल पोइन्ट के हो भन्ने बताएको छ।

सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जस्तोसुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले सिनेमाले दर्शकलाई के देखाउँदैछ भनेर प्रस्ट संकेत गरेको छ। गीतले यो सिनेमाले आम नेपाली ग्रामीण समुदायका गरिब परिवारको कथा भन्ने संकेत गरेको छ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन्। भिडियोमो सिनेमाका फुटेज खेलाइएको छ।

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ। यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असर र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सहनिर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्। यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन्।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन्। चलचित्रका सम्पादक मदन घिमिरे हुन्।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ।

प्रकाशित: १० जेष्ठ २०८३ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App