आमाले भन्नुहुन्थ्यो,
‘नजाने गाउँको बाटो नसोध्नु नानी!’
तर,
म सोधिरहेछु त्यहीँ जाने बाटो
जहाँ म, पुग्नु छैन कहिल्यै।
उभिएको छ अगाडि
अक्करजस्तै तारेभिर
बिच्छ्याइएको छ बाटोमा
अनगिन्ती सिरुपाते खुकुरीको धार
छेक्न तयार छन् बाटा
गगनचुम्बी डाँडाहरू
तर पनि फेरि सोधिरहेछु
त्यहीँ जाने बाटो
जहाँ म पुग्नु छैन कहिल्यै।
सेतीले गहिर्याएको
खोँचजस्तै धरातलमा उभिएर
गनिरहेछु जूनतारा
लेखिरहेछु बादलमाथि
आकाशका अलिखित कथाहरू
दमन र उत्पीडनका धर्तीका गाथाहरू
खै,
किनकिन सोधिरहेछु फेरि
त्यहीँ जाने बाटो
जहाँ पुग्नु छैन कहिले।
प्रकाशित: २६ असार २०८३ १०:०० शुक्रबार





