२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

झोलामै कार्यालय बोकेर घरघरमा चेक काट्दै हिड्ने गरुडाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

रौतहटको गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम दिन प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा ताल्चा लगाएर कर्मचारीको निजी घरबाट भुक्तानीका चेक काटेको रहस्य सार्वजनिक भएको छ।

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले बिहीबार बिहानदेखि कार्यालय बन्द गरी दुर्गाभगवती गाउँपालिकाको मत्सरी गाउँमा स्वास्थ्य शाखाका प्रमुख प्रविण झाको घरमा लेखा शाखाका कर्मचारी सत्यनारायण सहनीलाई राखेर विभिन्न योजनाको भुक्तानीका चेक काटिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको स्रोतले जनाएको छ। उक्त घर नगरपालिकाबाट करिब २० किलोमिटर टाढा रहेको बताइएको छ।

नगर प्रमुख कन्थमणि जयसवालका अनुसार कार्यालयमा नियमित रूपमा उपस्थित भएर कानुनसम्मत प्रक्रिया अपनाउन पटक–पटक आग्रह गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत न्यौपाने केही वडाध्यक्ष तथा कर्मचारीको समूह लिएर कार्यालयबाहिर बसेर भुक्तानी प्रक्रिया अघि बढाएका थिए। नगरपालिकामा ताला लगाएर निजी घरमा सरकारी चेक काट्नु सार्वजनिक वित्तीय अनुशासन र सुशासनको सिद्धान्तविपरीत भएको नगर प्रमुख जयसवालको आरोप छ।

मेयर जयसवालले नगरपालिकामा भइरहेका गतिविधिको जानकारी दिन तथा कार्यालयमै बसेर नियमित रूपमा काम गर्न अनुरोध गरे पनि प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बेवास्ता गर्दै कार्यालयबाट बाहिरिएको बताएका छन्।

नगर प्रमुख जयसवालले न्यौपानेले केही वडाध्यक्षसँग मिलेमतो गरी नगरपालिकाका अधिकांश योजनाको कार्यान्वयन आफैंले नियन्त्रण गरेको आरोपसमेत लगाए। उनका अनुसार नगरका धेरै योजना हालसम्म करिब ५० प्रतिशत मात्र सम्पन्न भएका छन्।

कागजी रूपमा योजना सम्पन्न भएको देखाएर आर्थिक वर्षको अन्तिममा भुक्तानी गर्ने तयारी गरिएको भए पनि धेरै स्थानमा वास्तविक काम अझै बाँकी रहेको उनले दाबी गरे।

प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, लेखा प्रमुख सत्यनारायण सहनी, केही कर्मचारी तथा वडाध्यक्षहरू बिहीबार निजी घरमा बसेर चेक काटिरहेको जानकारी मेयर जयसवालले प्रहरीलाई दिएपछि प्रहरीले छापा मारेको थियो। छापाका क्रममा सेवाग्राहीको काम प्रभावित हुने भन्दै प्रहरीले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको जनाएको छ।

यस घटनाले स्थानीय तहमा आर्थिक वर्षको अन्तिम समयमा हुने भुक्तानी प्रक्रिया, वित्तीय अनुशासन र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।

कार्यालय बन्द गरेर अन्यत्र चेक काटिरहेको जानकारी पाएलगत्तै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितका कर्मचारीमाथि कारबाही गर्न बिहीबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित रूपमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

प्रकाशित: २६ असार २०८३ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App