२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

पदम सुन्दासले पाएको त्यो पुरस्कार

व्यक्तित्व

काठमाडौं महाराजगन्जमा दुईवटा निवास जहिले पनि चर्चामा रहने गर्छन्। एउटा शीतल निवास, जहाँ २०६४ सालदेखि राष्ट्रप्रमुख बस्ने गर्छन्। देशको पहिलो राष्ट्रपति डा. रामवरण यादवले शीतल निवासमा आठ वर्ष बस्ने मौका पाउनुभयो। आठ वर्षसम्म देशको पहिलो महिला राष्ट्रपति बनेर श्रीमती विद्यादेवी भण्डारीले पनि शीतल निवासमा बिताउनुभयो। अहिले राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेल रहनुभएको छ।

देशको सबैभन्दा सम्मानित पद हो, राष्ट्रपति। सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्रीले संसद्बाट पास भएका सम्पूर्ण विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानुनका रूपमा लागु हुन्छन्। २०६२/६३ सालको जनआन्दोलनबाट नेपाली जनताले सहर्ष स्वीकारेको प्रणाली हो राष्ट्रपतीय प्रणाली।

देउडा लोकसाहित्य, लोकगीत र संस्कृतिबारे झन्डै आधा शताब्दीदेखि गायनमार्फत सेवा गरेबापत तीनजना राष्ट्रपतिका तर्फबाट शीतल निवासमा मानपदवी स्वीकार गर्दै त्यहाँ पुगेको छु। विशेष कामबाहेक उक्त विशिष्ट ठाउँमा अनुमति पनि मिल्दैन। २०६४ सालअघि श्री ५ को सरकार रहेको बेला शीतल निवास परराष्ट्र मन्त्रालयअन्तर्गत थियो। अत्यन्तै आकर्षक ढंगले निर्माण गरिएको सो भवन र आँगनी हेर्नलायक छ।

राष्ट्रपति भवनको ठिक उत्तरपूर्वतिर निर्मल निवास छ। अधिराजकुमार रहँदा तत्कालीन श्री ५ ज्ञानेन्द्र त्यही निवासमा बस्ने गर्थे। तत्कालीन राजा वीरेन्द्रको वंशविनाशपछि राजा बनेका ज्ञानेन्द्र धेरै समय राजा हुन पाएनन्। २०६२/६३ सालको जनक्रान्तिबाट दुई सय ३९ वर्षीय शाहवंशको अन्त्य भयो। परिणामस्वरूप उनी नागार्जुन दरबारमा बस्दै आएका छन्।

असार २३ गते आफ्नो ७९ औं जन्मदिन मनाउन तत्कालीन राजा ज्ञानेन्द्र निर्मल निवास आएर आफूलाई जन्मदिवसको शुभकामना दिन आएकाहरूलाई धन्यवाद दिँदै रहेछन्। बाहिर सडकमा राजावादीहरू हातमा फूलगुच्छा र खादा लिएर पेटीमा उभिइरहेका देखिन्थे। जन्मोत्सव मनाउन पाउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो।

त्रिवि शिक्षण अस्पतालको ठिक पूर्व विजयवास छ, जहाँ पूर्वमन्त्री एवं राप्रपा नेता पशुपति शमशेर बस्ने गर्छन्। उनी राजाका अन्ध समर्थक पनि होइनन्। पछिल्लो अवस्थामा संवैधानिक राजतन्त्रको पक्षमा उभिएका देखिन्छन्।

 

किन हो किन? राष्ट्रपति भवन शीतल निवास श्रद्धाको देवालयजस्तो लाग्छ मलाई। लोकतन्त्र स्थापना गर्न, जनतालाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउन पङ्क्तिकारले गायन क्षेत्रबाट पनि देशका हरेक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेकाले होला सायद। २०६२/६३ सालको जनआन्दोलन सफल पार्न हामी कलाकारले आफ्नो क्षेत्रमा निकै सङ्घर्ष गरेका थियौं।

लोकतान्त्रिक देउडा गीत ‘झ्याम्म झ्याम्म’ आन्दोलनका हरेक कार्यक्रममा हजारौं जनमानसबिच गीत गाएर आन्दोलन सफल पार्न गीति मसला पस्केको थिएँ। सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, नारायणहिटी सङ्ग्रहालय, सिंहदरबारभित्र रहेका प्रधानमन्त्री कार्यालयलगायतका संवैधानिक निकायहरू मेरो नजरमा सदैव सम्मानित छन्।

शीतल निवास प्रवेश गर्न पाउँदा अत्यन्त हर्ष लाग्छ। सुरक्षाकर्मीहरूले केही कडाइ गर्दा पनि आनन्द लाग्छ। किनकि जनताको साइनो प्रत्यक्ष रूपमा शीतल निवासमा रहनुहुने राष्ट्रपतिसँग जोडिएको छ। नेपाली नागरिक राष्ट्रपति बन्न पाएका छन्।

मानव अधिकार तथा शान्ति समाजले २०८१ सालको ‘बद्री पहाडी समाजसेवा पुरस्कार’ सामाजिक न्यायका अभियन्ता पदम सुन्दासलाई प्रदान ग¥यो। एक लाख दश हजार राशिको सो पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा एक विशेष कार्यक्रमबिच प्रदान गर्नुभयो। २०७६ चैत्रमा उक्त पुरस्कारको स्थापना भएको जानकारी गराउनुहुन्छ शान्ति समाजका अध्यक्ष रेणुका पौडेल। सामाजिक न्यायका क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ।

कर्मयोगी बद्रीप्रसाद पहाडीको जन्म १९९२ चैत्र १ गते तत्कालीन पूर्व ६ नं. मादी विर्ता सिरिसे सङ्खुवासभामा भएको हो। हाल ९० वर्षका पहाडीका ‘बर्दिया जिल्लामा भूमिसुधार’ नामक पुस्तक र विभिन्न लेख प्रकाशित भएका छन्। दर्जनौं सामाजिक संघसंस्थामा आबद्ध उहाँले आजभन्दा ६२ वर्षअगाडि विराटनगरस्थित मादी हाईस्कुलमा सेवा गर्नुभयो। साथै शैक्षिक जागरणका लागि विभिन्न शैक्षिक संस्थाहरूमा व्यवस्थापकीय कार्य गर्नुभयो।

हाल गुहेश्वरी मन्दिरपारि रहेको मानव अधिकार तथा शान्ति समाज भवनका लागि बद्री पहाडीले एक करोड रूपैयाँ नगद प्रदान गर्नुभयो। यस्ता दानवीर पहाडीको नाममा पुरस्कार स्थापना गरेर मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले गुनिलो कर्म गर्नुभएको छ। मनकारी मानिसलाई मार्ग निर्देशन गर्नु पनि आफैमा स्तुत्य कार्य मानिन्छ। यहाँनेर लेख्नैपर्ने कुरा के छ भने कृष्ण पहाडी आफैंमा मानव अधिकारको क्षेत्रमा विशिष्ट कार्यहरू गर्दै आएको आफैंमा एउटा कर्मशील संस्था हो।

मानव अधिकार, लोकतन्त्र र शान्ति कायम गर्न यस संस्थाका नामबाट स्थापना कालदेखि नै गरेका योगदान धेरै छन्। अझ २०६२/६३ सालको जनआन्दोलन सफल पार्न कसैको अमूल्य योगदान छ भने त्यो योगदान कृष्ण पहाडीको रहेको छ। डा. देवेन्द्र पाण्डे, श्याम श्रेष्ठलगायतका नागरिक अगुवा, कलाकर्मी, पत्रकार, बुद्धिजीवी, आम नागरिक र राजनीतिक पार्टीहरूको पनि उत्तिकै योगदान रहेको हामी पाउछौं। तर नागरिकका तर्फबाट गणतन्त्र स्थापनाका लागि मुख्य रथ हाक्ने साहसिलो कार्य कृष्ण पहाडीले नै गर्नुभएको थियो। गान्धीवादी सोचका पहाडी वर्तमानमा पनि अत्यन्त सरल भएर, पहेँलो वस्त्र लगाएर सामाजिक कार्यमा हिँडिरहनुहुन्छ। उहाँले मानव अधिकार, लोकतन्त्र र शान्ति कायम गर्न तत्कालीन विद्रोही माओवादीसँग गरेका वार्ता सम्झन लायक छन्।

२००२ असार ३२ गते पिता हस्तवीर सुन्दास, आमा रत्नमाया सुन्दासका कोखबाट भोजपुरमा जन्मनुभएका पदम सुन्दास विशेष गरी सामाजिक न्यायका अभियन्ता हुनुहुन्छ। २०२० सालमा त्यस बेलाको एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं आएर इन्जिनियरिङ विषयमा स्नातक गर्नुभयो। आफ्ना बाबुआमाका नाममा ‘रत्न दलित साहित्य संरक्षण समिति’ नामक संस्था २०४९ सालमा स्थापना गरी विभिन्न कार्य गर्नुुभयो। साथै २०५२ सालमा दलित साहित्य तथा संस्कृति प्रतिष्ठान स्थापना गरी सो संस्थाबाट २९ वटा पुस्तक प्रकाशित गर्नुभयो। झलकमान गन्धर्व, रामशरण दर्नाल, जवाहर रोक्का (मिजार) पुस्तक चर्चित छन्।

‘काले दमाईं’ नामक चर्चित पुस्तकका लेखक पदम सुन्दास नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्व कालमा २०७४ देखि २०७८ सालसम्म बहराइनका लागि राजदूत बन्नुभयो। २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेशका लागि अभियान चलाउनुभयो, साथै २०७२ सालमा दलित मैत्री संविधानका लागि तीन महिनासम्म शान्तिपूर्ण दलित आन्दोलनको नेतृत्व गर्नुभयो। यसअघि यो पुरस्कार पाउने व्यक्तित्वहरूमा भाजराज पोख्रेल (खोटाङ), उमादेवी वादी (कैलाली), विनोद पहाडी (रूपन्देही), मिठादेवी विश्वकर्मा (काठमाडौं) र डा. विष्णुमाया परियार (गोरखा) हुनुहुन्छ।

प्रकाशित: ३ श्रावण २०८२ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App