सुनकोसी वाङमय प्रतिष्ठानले कवि प्रकाश सापकोटाको कवितासंग्रह ‘सन्नाटाका सुस्केरा’ काे लाेकार्पण गरेकाे छ।
वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी, सुनकोसी वाङमय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल लगायतले ‘सन्नाटाका सुस्केरा’ को लोकार्पण गरेका हुन्।
प्रमुख अतिथि दिनेश अधिकारीले कृति लोकार्पण गर्दै प्रकाशकाे कवितामा सरलपन भएकाे बताए। कविले आफ्नोपन खोज्दै आफैंलाई परिमार्जन गर्दै जानुपर्ने पनि उनले बताए।
त्यस्तै स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले कविकाे कविता कवि जस्तै हुनुपर्ने बताउँदै कवि सापकोटाका कवितामा आफ्नोपन भएकाे बताए।
कृतिकाे समीक्षात्मक टिप्पणी गर्दै यादव भट्टराईले सरलता, संक्षिप्तता र सुन्दर विम्बले प्रकाशका कविता उम्दा रहेकाे बताए।
लाेकप्रिय कवि ठाकुर बेलवासेले कवि सापकोटा विदेशैमा बसे पनि उनकाे मन नेपालमै रहेको बताए। कवितामा नेपालीकाे भाेगाइ, उतारचढाव जस्ता विविध पक्ष समेटिएकाे पनि उनले बताए।
कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भुँडीपुराण प्रकाशनका केशव पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए।
प्रदीप सापकोटाले सञ्चालन र पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य प्रस्तुत गरेकाे कार्यक्रममा कवि विश्व सिग्देलले डेनमार्कबाट कवि प्रकाश सापकोटाले प्रेषित गरेकाे मन्तव्य प्रस्तुत गरेका थिए। कवि दिपक चौलागाईं र रुपा रिसाल लगायतले लोकार्पित कृतिका कविता वाचन गरेका थिए। कार्य्रकम इखबर नेट मिडियाकाे सहयोगीमा भएको हाे।
‘सन्नाटाका सुस्केरा’ प्रकाश सापकोटाको पाँचौ कृति हो। यसको मूल्य २५० रूपैयाँ रहेकाे छ। कृतिकाे वितरक भुँडीपुराण प्रकाशन रहेको छ।
प्रकाशित: ७ श्रावण २०८२ ०९:५२ बुधबार





