लोपोन्मुख लाप्चा जातिको संस्कार र संस्कृतिमा आधारित अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ। जनता बहुमुखी क्याम्पस इटहरीका समाजशास्त्र, मानवशास्त्र विषयका उपप्राध्यापक अर्जुन उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन्।
नेपालका सीमान्तकृत लोपोन्मुख आदिवासी जननजाति हुन्। उनीहरूको मुख्य वासस्थान पूर्वीनेपालको इलाम जिल्लाको पूर्वी–दक्षिण गाउँपालिका तथा नगरपालिका क्षेत्र र झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका हो। यिनै सीमान्तकृत जाति लाप्चाबारे दुई दशकसम्म सक्रिय पत्रकारितामा बिताएका उप्रेतीले चार वर्ष लगाएर लाप्चा जातिका सामाजिक तथा सांस्कृतिक अभ्यासहरूको अध्ययन गरेर ‘द लाप्चा’ प्रकाशन गरेका हुन्।
सोझा र सरल स्वभाव, अन्य समुदायको भन्दा फरक, भाषा, संस्कार र शैली भएका लाप्चाहरू हिंसाविरोधी र अत्यन्त मिजासिला र सामाजिक सौहार्द बोकेका जातिमा पर्छन्। उनीहरू हिंसाविरोधी हुनुमा उनीहरूको ऐतिहासिक पृष्ठभूमि महत्त्वपूर्ण छ। जहाँ अन्तिम लाप्चा राजा, सिगम (पुनु) ले कोच समुदायसँग युद्धविराम सम्झौतामा प्रवेश गरे, थप द्वन्द्वबाट टाढा रहने प्रतिज्ञा गरे। यो प्रतिबद्धताले लाप्चा समुदायभित्र उच्चस्तरको सामाजिक सद्भाव र सद्भावनालाई बढावा दिएको उप्रेतीले उल्लेख गरेका छन्।
कञ्चनजंघा हिमालको फेदमा उत्पत्ति भएर विस्तारै फैलिँदै दक्षिणपूर्वतर्फ बसाइँसराई गर्दै आउने क्रममा सिक्किमको नाम्चीदेखि इलामको पूर्वीदक्षिण भागसम्म यिनीहरूको बसोवास रहेको छ।
लाप्चा समुदायका आफ्नै रैथाने अभ्यास छन्, जुन अन्य समुदायका भन्दा पृथक्, रहरलाग्दा र ऐतिहासिक पनि भएको लेखक उप्रेतीले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘समाजमा महिलाको स्थान पुरुषको भन्दा उच्च छ। घरपरिवारमा सबै मातृ सत्तात्मक अभ्यास हुन्छ तर नेपाली समाज पितृसत्तात्मक भएकाले सामाजिक रूपमा भने पुरुषले नै परिवारको नेतृत्व गर्दछन्।’
पुस्तकमा लाप्चा समूदायका भाषा, जन्म, मृत्यु, विवाह, संस्कार, लोकरीति, धार्मिक विश्वास, सामाजिक, सांस्कृतिक मूल्य मान्यतालाई समेटिएको छ।
प्रकाशित: ५ मंसिर २०८२ ०९:५६ शुक्रबार





