४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

दसैँमा गुञ्जने पुराना गीतको रौनक

हिन्दूहरूको ठूलो पर्व दसैँ घटस्थापनाको दिनदेखि सुरु भइसकेको छ। यो पर्वलाई परिवार, आफन्त र समुदायसँग जोडिने, खुसी साटासाट गर्ने र सांस्कृतिक मूल्यमान्यतालाई जीवन्त राख्ने अवसरका रूपमा मनाउने गरिन्छ।

पुराना गीत नगुञ्जिएसम्म दसैँ आएजस्तो नलाग्ने सङ्गीतकार एवं गायक अर्जुन पोखरेलले बताए। अधिकांशमा रेडियो नेपालबाट गुञ्जने मालश्री धुन र हरेक बिहान प्रसारण हुने रेडियो नाटकले दसैँको आभास गराउने गर्दछ।

‘दसैँले सामाजिक एकता, प्रेम र समृद्धिको सन्देश बोकेर आउँछ, जसले नेपाली मनमा विशेष उत्साह र उमङ्ग थप्छ। दसैँलाई लक्षित गर्दै हरेक वर्ष नयाँ गीत सार्वजनिक हुने गर्छन्, तर केही "सदाबहार" गीतले वर्षौंदेखि दसैँको रौनकलाई जीवन्त बनाइरहेका छन्,’ पोखरेलले भने। मालश्री धुनले दसैँको आगमनको सङ्केत गर्छ भने परदेशमा रहेका नेपालीको भावना र गाउँघरको सम्झनालाई समेट्ने गीतहरूले चाडको महत्त्वलाई अझ गहिरो बनाउने उनको भनाइ छ।

नेपाली चलचित्र ‘मुग्लान’मा समावेश ‘दसैँ आयो’ पछिल्लो पुस्तामा पनि रुचाइएको गीत हो। यसले दसैँको उत्साहलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ। लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको सङ्गीत र उदितनारायण झा तथा दीपा झाले स्वर दिएको उक्त गीतमा रातो टीका, जमरा र पिङ खेल्दाको रमाइलो अनुभूतिलाई समेटिएको छ। गीतका शब्द झैं दृश्यले पनि दर्शकमा गहिरो छाप छाडेको छ।

स्वरसम्राट नारायणगोपाल र दिलमाया खातीले स्वर दिएको गीत ‘विछोडको पीडा’ बोलको गीतमा दसैँमा गाउँ फर्कने युवाको भावनालाई प्रतिबिम्बित गरिएको छ। रत्नशमशेर थापाले लेखेको यो गीतको बोल ‘विछोडको पीडा नसकी खप्न दसैँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ ले परदेशमा रहँदाको पीडा र घर फर्कने चाहनालाई मार्मिक रूपमा प्रस्तुत गर्छ। यो गीत दसैँको भावनात्मक पक्षलाई उजागर गर्ने कालजयी रचना हो।

सुगम पोखरेलले तयार गरेको ‘दसैँ तिहार’ गीतले दसैँ र तिहारको उमङ्गसँगै परदेशीको बेदनालाई समेटेको छ। गायक पोखरेलले स्वर भर्नुका साथै सङ्गीत सिर्जना गरेको उक्त गीतको शब्द रवि श्रेष्ठको हो। यो गीतले छोराको बाटो कुरिरहेका आमाबाबु र तिहारमा माइतीको पर्खाइमा रहेकी चेलीको भावनालाई समेटेको छ। यो गीतले चाडपर्वको सामाजिक र भावनात्मक पक्षलाई उजागर गर्छ।

योगेश्वर अमात्यले स्वर दिएको ‘दसैँ नै हो कि’ बोलको गीतले दसैँको उत्साहसँगै आर्थिक व्ययभारको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्छ। यो गीतले चाडपर्वको रमाइलोसँगै आर्थिक चुनौतीको पक्षलाई पनि हल्का चित्रण गर्छ। सहदेव ढुङ्गानाको शब्द रचना, शम्भूजित बाँस्कोटाको सङ्गीत सिर्जना र उमेश पाण्डे तथा रमना श्रेष्ठको स्वरमा रहेको ‘रातो टीका निधारमा’ बोलको गीतले दसैँको उत्साहलाई जीवन्त बनाउने गरेको छ।

पहिला चलचित्रमा चाडपर्वको सन्दर्भ आउने गरेकाले गीतसङ्गीत पनि त्यही अनुरूप तयार हुनेगर्थे। गीतसङ्गीतलाई दृश्यले झनै सशक्त बनाउने भएकाले ती गीतसङ्गीत अहिलेका पुस्तासम्म पनि लोकप्रिय रहेको सङ्गीतकार पोखरेलले बताए।

‘पहिले दसैँ, तिहार, होलीजस्ता पर्वलाई लक्षित गरेर गीत बन्ने गर्थे। ती गीतले चाडपर्वको महत्त्वलाई दर्शाउनुका साथै तत्कालीन समयमा राम्रो प्रभाव छाड्थे। अहिले चलचित्रमा चाडपर्वलाई लक्षित गर्दै गीत बनाउने क्रम न्यून छ, त्यसैले नयाँ गीतभन्दा पुरानैको लोकप्रियता अहिले पनि छ,’ उनले भने।

गायक कर्णराज गिरीले मेला महोत्सवका क्रममा पुरानै गीतको माग हुने गरेको बताए। चाडपर्वका नजिकमा हुने साङ्गीतिक कार्यक्रममा दर्शक तथा स्रोताले पुराना गीत गाउन आग्रह गर्ने उनको अनुभव छ।

‘दसैँ–तिहार भनौं वा चाडपर्व लक्षित गीत निर्माणमा कमी आएको छ। यस्ता गीत मौसमी रूपमा मात्र बज्ने सोचले नयाँ सिर्जना कम भएका हुन सक्छन्। चलचित्र वा एकल गीतसङ्ग्रहमा पनि पछिल्लो समय कुनै चाडपर्व लक्षित गीत कम आउने गर्दछन्,’ गायक गिरीले भने।

दसैँको सांस्कृतिक र भावनात्मक महत्त्वलाई गीतसङ्गीतले थप जीवन्त बनाउँछ। यी गीतहरूले नेपाली समाजको विविध पक्षलाई समेट्दै चाडपर्वको रौनकलाई पुस्तान्तरण गरिरहेका हुन्छन्। रासस

प्रकाशित: १२ आश्विन २०८२ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App