२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

उन्नाइस बर्से अनुपकाे ‘प्रज्ञा’ महाकाव्य लोर्कापण

क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) ले किशोरकवि अनुप उप्रेतीकाे ‘प्रज्ञा’ महाकाव्य लोकार्पण गरेको छ।

छन्दसारथी महाकाव्यकार रमेश खकुरेलकाे प्रमुख आतिथ्य, विशिष्ट अतिथिहरू कवि तथा समालोचक प्राडा देवी नेपाल, कवि प्रभा भट्टराई र स्रष्टाका पिता नवराज उप्रेतीले महाकाव्यको लाेकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि रमेश खकुरेलले आफ्नो मन्तव्य राख्दै जम्मा १९ वर्षको किशोरले महाकाव्यजस्तो विराट काव्यविधामा हात हाल्नु, शास्त्रीय छन्दमा कविता र कथालाई उन्न थाल्नु र अत्यन्त सफलताका साथ समापन गरेर प्रकाशनसमेत गर्नु अद्भुत कार्य हो भनी आश्चर्य प्रकट गरेका थिए।

त्यस्तै विशिष्ट अतिथि प्राडा देवी नेपालले विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत किशोर प्रतिभा अनुप आफ्नो सम्पर्कमा आएदेखि नै उनको कविप्रतिभा, सिर्जनात्मक क्षमता, चिन्तनको गहिराइ, नम्रता, शिष्टता र सङ्घर्षशील चरित्रबाट आफू प्रभावित भएको बताए।

साथै उनले आजसम्मको नेपाली महाकाव्यको इतिहासमा १८ वर्षकै उमेरमा लेखन कार्य सम्पन्न गरेर १९ वर्षमा प्रवेश गर्दै गर्दा प्रकाशन भएको यो नै पहिलो महाकाव्य र अनुप उप्रेती नेपालका कान्छा महाकाव्यकार हुन सक्ने दाबी गर्दै आकारमा थोरै सानो जस्तो लागे पनि कथावस्तुको व्यापकता, चरित्र र परिवेशको उदात्तता, कवित्वको प्रवाह, छन्दविधानमा सचेतता र नौ सर्गको संरचनाले गर्दा यसलाई महाकाव्यका रूपमा ग्रहण गर्न सकिने विचार व्यक्त गरे।

कवि प्रभा भट्टराईले कृतिकाे समीक्षा गर्दै महाकाव्यकार उमेरले साना भए पनि ज्ञानवृद्धका रूपमा महाकाव्यमा देखापरेको कुरामा जोड दिए। उनले नारीको चरित्रलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेर खण्डहर देशलाई माथि उठाउन नारी नेतृत्वले खेलेको भूमिकाका माध्यमबाट वर्तमानलाई विशेष सन्देश दिएको बताए।त्यस्तै डा. रमेश शुभेच्छुले लोककथा जस्तो लाग्ने तर काल्पनिक कथालाई उच्च कवित्वमा उनेर प्रस्तुत गरिएको हुनाले यो सफल महाकाव्य भएको बताए।

काव्यस्रष्टा अनुप उप्रेतीको अध्यक्षता र किशोरकवि रविना कँडेलको कवितात्मक सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाले मातापिता र गुरुवर्गलाई धन्यवाद दिँदै आफ्नो काव्ययात्रालाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा युनिग्लोब कलेजका गुरुहरू नेत्रबहादुर गुरुङ, डा. जीवन जीवन्त र यादव भण्डारीले स्रष्टालाई शुभकामना दिएका थिए।

कविहरू दिनेश पाण्डे र सुशील आचार्यले महाकाव्यांश वाचन गरेका थिए।        

प्रकाशित: ३० चैत्र २०८२ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App