१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

झापा नाटक घरमा चल्दैछ ‘द–बुल’

क्षितिज नाट्य प्रतिष्ठान झापाद्वारा निर्मित नाटक ‘द–बुल’ को औपचारिक मञ्चन सुरु भएको छ। झापा नाटक घरमा आजदेखि मञ्चन भएको नाटकमा रंगप्रेमीसँगै विद्यार्थी, अभिभावकले चासोका साथ हेरेको नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले बताए ।  

कल्पितको परिकल्पना निर्देशन र गजेन्द्र पृथकको निर्देशनमा तयार गरिएको नाटकलाई भीम निधि तिवारीले निर्देशन गरेका हुन्। प्रस्तुति संयोजनमा सह–निर्देशक विवेक मिश्र र कार्यक्रम संयोजक राजकुमार भट्टराई सक्रिय छन्। नाट्य प्रतिष्ठानकी केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईँका अनुसार नाटकको प्राविधिक र कलात्मक पक्ष दुवै सशक्त ढंगले प्रस्तुत गरिएको छ।

मञ्चमा राजकुमार भट्टराई, विवेक मिश्र, किरण दहाल, राकेश दर्नाल, दीपा शिवाकोटी, स्मृति निरौला, आरजू पौड्याल र आयुष सुजीको जीवन्त अभिनय देख्न सकिन्छ भने तारा प्रकाश भट्टराई विशेष सहयोगीको भूमिकामा रहेका छन्। कलाकारहरूको समन्वय र सशक्त संवाद प्रस्तुतीले नाटकलाई थप प्रभावशाली बनाएको दर्शकको प्रतिक्रिया छ।

‘एक व्यक्ति एक इट्टा’ अभियानमार्फत निर्माण गरिएको झापा नाटक घर अहिले पूर्वाञ्चलको महत्वपूर्ण सांस्कृतिक केन्द्रको रूपमा स्थापित बन्दै गएको छ। अभियन्ता माधब कल्पितका अनुसार यहाँ हालसम्म ११ वटा नाटक सफलतापूर्वक मञ्चन भइसकेका छन्।

व्यवस्थापक राजकुमार भट्टराईका अनुसार कक्षा १२ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा समावेश ‘द–बुल’ नाटकको पहिलो सिजन माघ २६ गतेसम्मका लागि विद्यालय बुकिङ पूर्ण भइसकेको छ। यसले शैक्षिक तथा सांस्कृतिक दुबै क्षेत्रमा नाटकप्रतिको आकर्षण बढ्दो रहेको संकेत दिएको छ।

स्थानीय स्तरमै गुणस्तरीय नाट्य मञ्चन सम्भव छ भन्ने सन्देश दिँदै ‘द–बुल’ ले झापाको रंगमञ्चीय यात्रामा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १९ माघ २०८२ १६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App