२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

उज्यालोको त्यो पर्खाइ

पुस्तक

माछापुच्छ्रेको आँगन, वेगनास र रूपाको काख, सुन्दरी डाँडाको न्यानो स्पर्शले छोएपछि कसको मनमा कविता नफुर्ला। फरक यतिको कसैले ती काव्यिक भावनालाई शब्दमा बुन्छन्। कसैले त्यसलाई तिजुका पातमा संगीत भरेर व्यक्त गर्छन्। मेला पात गर्दा कतिले त्यसलाई गीत बनाएर गाउँछन्। यस्तै परिवेश र प्रकृतिको छटाले जन्माएका प्राकृतिक विषयलाई कवितामा जीवन्त उतार्ने कवि हुन् अल्पज्ञानी।

अल्पज्ञानीको कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ हालै प्रकाशित भएको छ। उनका कविताको पाठक भएकाले मलाई उज्यालोको यो पर्खाइ निकै लामो भए जस्तो लाग्छ। मौसम र ऋतु पनि केही दिन र महिनामै परिवर्तन हुन्छन् तर काव्यको उज्यालो लिएर आउन यी सर्जकलाई लामै समयको प्रतीक्षा गर्नुपर्‍यो।

उनका कविता २०६० को दशकमा सुन्दा दमदार थिए। हाल उनका कविता अझै माझिएर, निखारिएर र जीवन भोगाइका मिहिन व्यावाहारिक दर्शन मिसिएर थप सशक्त भएका छन्। एउटा पाठकलाई आफ्नो रोजाइका शब्दहरू पढ्न पाउँदा निर्मल निश्छल बालकका अगाडि उसकै रोजाइको पकवान पस्केजत्तिकै भएको छ।  

अध्यारो बाटो छिचोलेपछि

आँखाभरी व्याप्त छ उज्यालो

सपनाको पोको बोकेर

सीमान्त भेट्न दौडिरहेछ समय

(घाम उदाएपछि)

समय जति दौडिन्छ, मानिस पनि समयको गतिसँगै दौडिनुपर्ने रहेछ। नदौडी सुखै छैन। समयले अझै सीमान्त भेट्न सकेको छैन। बबुरो मानिसले सीमान्त भेट्ने त कहिले हो कहिले। समयको सीमा निर्धारण गर्नु मानिसको वशको कुरा होइन। प्रकृतिप्रेमी कवि निलो आकाशमा निर्भय उडेका चरा, रंगीबिरंगी फूल, ममताको रङसँगै जीवनको गीत गाउने यात्रामा निस्किएका छन्।

जीवनको गीत बोकेर

लामो यात्रामा निस्केको राजमार्ग

जब हिड्दा हिड्दै गाउन थाल्छ

                            (उज्यालोमा)

अल्पज्ञानीको यो कवितासङ्ग्रह ‘घाम उदाएपछि’, ‘उकालोको घाम’, ‘उकालोमा नानीहरू’, ‘जुनेली’, ‘कविताको बाटो’ र ‘जिन्दगी एक यात्रा अनेक’ गरी ६ मूल शीर्षकमा विभाजित छ। यी शीर्षकभित्र लामाछोटा गरी विविधतायुक्त ४८ कविता छन्। यस सङ्ग्रहमा रहेका कविताले प्रकृति, पर्यावरण, मानवीय संवेदना र राजनीतिक, सामाजिक, आर्थिक विषयवस्तुको चेतनालाई मूल रूपमा उजागर गरेका छन्।

नैतिकताको भ्रमभित्र

भयभित अनुहार लुकाएर

आदर्शको पर्चा बोकिहिँड्छन् भुन्टेहरू

आमा परिवर्तनका सुलक्षित अनुच्छेद खोज्छिन्

अभिनय खोज्दिनन्

(भुन्टे र अखबार)

कविता जति सरल देखिन्छन्, उति नै आलङ्कारिक र दर्शन बोकेका छन्। कविताभित्र प्रयुक्त काव्यिक अभिव्यक्तिले ग्रामीण जनजीवन, परिवेशलगायतका जीवन्त विषयवस्तुलाई समेट्ने प्रयास गरेका छन्। त्यही ग्रामीण परिवेश र वातावरणमा हुर्केका आम पाठकलाई पुनः एकपटक उही परिवेशमा पुगेर सम्झनाका तरेलीमा तरङ्गित गराउने कविताहरू जीवन्त छन्। यद्यपि, समयको प्रवाहले ग्रामीण परिवेशबाट टाढिन पुगेका नवयुगका जेनजी पिँढीलाई भने कविताका भाव स्वैरकल्पनाका युटोपियन कथाजस्ता लाग्न सक्छन्।

प्रकृतिले कसैलाई भेदभाव गर्दैन। को धनी को गरिब? प्रकृतिका अगाडि सबै समान। यद्यपि, प्राकृतिक प्रकोपबाट पीडित हुने ठुलो सङ्ख्या दुःखी गरिबहरूकै हुन्छ। प्राकृतिक विपद्मा धेरै प्रभावित हुने भुइँमान्छेहरू नै हुन्।

यो पहिरोले चेपिएको हृदय छाम्दै

आमा जीवनको गीत लेख भन्नुहुन्छ

आँसुले मन बगाउने मान्छेका बस्तीहरूमा

आमा उज्यालोको कथा सुनाऊ भन्नुहुन्छ

शारदा सिग्देल गुरुआमाले कक्षा ६ मा विपरीतार्थक शब्द पढाउँदा अग्लो–होचो, सेतो–कालो, केटा–केटी, बुबा–आमा भनेर पढाउनुहुन्थ्यो। त्यसबेला मेरो बालसुलभ मनमा बुबाआमा कसरी विपरीतार्थी शब्द भए होलान् जस्तो लाग्थ्यो। हाम्रो पूर्वीय दर्शनले पतिपत्नीलाई एक अर्काको अर्धाङ्गका रूपमा परिभाषित गरेको छ। यस अर्थमा बुबाआमा विपरीतार्थी शब्द नभएर परिपूरक शब्द हुनुपर्ने मलाई लाग्थ्यो। यस सङ्ग्रह अन्तर्गतको ‘नानी स्कुल गएपछि’ शीर्षकको कविता पढ्दा मलाई बालसुलभ जिज्ञासा पनि कति दार्शनिक र तर्कपूर्ण हुन्छन् भन्ने भान भएको छ। कवि अल्पज्ञानीको यो कविताले सामान्य प्रसङ्गलाई लिएर गहन र ओजपूर्ण अभिव्यक्ति प्रस्तुत गरेको छ।

प्रजातन्त्रको स्थापनापछि नेपालको राजनीतिक संरचनामा मात्र परिवर्तन भएन, नवउदारवादले अर्थतन्त्रको स्वरूप र संरचनामा पनि परिवर्तन ल्यायो। विभिन्न देशका श्रमिकहरू कामको खोजीमा अन्य देशमा जाने क्रमको सुरुवात भयो। २०६२/६३ को आन्दोलनपछि त नेपाली समाजमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य भयो। फलस्वरूप समाजमा आर्थिक पक्षमा मात्र नभई सामाजिक संरचनामा समेत व्यापक परिवर्तन देखिन थाल्यो। अल्पज्ञानीले विदेश पलाएनको यो विषयले निम्त्याएको समस्यालाई उजागर गर्दै यसले निम्ताएका समस्यालाई मात्र नभएर सुखको खोजीमा विभिन्न देशमा पुगेका युवा पुस्ता माटोको सुगन्धले तानेर स्वदेश फर्कने छन् भन्नेमा आशावादी छन्।

नेपालमा सुन्दर हिमाल छ, शीतल पहाड छ, उर्वर तराई छ। यद्यपि किन युवा पलायनको समस्याले ग्रस्त छ नेपाल? यो पलायन र बसाइँसराइको समस्याले पहाडका शीतल बस्तीहरू खण्डहर बनेका छन्। जनशक्तिको पसिनाले सिञ्चित भूमिमा स्वर्गीय आनन्द छ। पसिनाको सुगन्धबिना देश विकासले द्रुत गति पाउन सक्दैन।

मेरो देश

स्वर्णिम आभासँगै ब्युँझिन्छ

मान्छेहरू धोबिनीका गतिसँगै ब्युँझिन्छन् 

पसिनामा विश्वास गर्ने मान्छे

म मान्छेबिनाको देश कल्पनै गर्न सक्दिनँ

(मलाई मान्छेको गीत सुनाउ)

समग्रमा कवि अल्पज्ञानी प्रकृतिको सुललित भाष्यलाई टपक्क टिपेर काव्यशिल्प कोर्ने शिल्पकार हुन्। उनी मानवतावादी प्रकृतिवादि कवि हुन्।  

प्रकाशित: १४ भाद्र २०८२ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App