नेपाली महिलाहरूको महान् चाड तीजको अवसरमा पर्यटनको राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
सांस्कृतिक पर्व तीजलाई विशेष बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा यही भदौ १० र ११ गते पोखरा-६ लेकसाइडस्थित वाराहीघाटमा तीज सांस्कृतिक महोत्सवको तेस्रो संस्करण हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
‘संस्कृतिको जगेर्ना गरौँ, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा तीज गीत प्रतियोगिता, नृत्य, रस्साकसी, साडी दौड, घैँटो फुटाउनेलगायतका प्रतियोगिता आयोजना गरिने टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिइन्। उनका अनुसार महोत्सव स्थलमा एक दर्जन स्टलहरू राखिनेछन्। जहाँ रङ र सिर्जनात्मकताको संगम मेहेन्दी जोनलगायतका महिलाका लागि श्रृङ्गार गरिने स्टलहरू रहनेछन्। महोत्सवले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सांस्कृतिक पहिचान उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने अध्यक्ष पाण्डेको भनाइ छ।
महोत्सवको अवसरमा टेवानले महिला सशक्तीकरण, प्रेरणादायी महिलाहरूको जीवनयात्रा र सामाजिक परिवर्तनका कथाहरू समेटेर टल्क-सो कार्यक्रम गरिने महासचिव शोभा अधिकारी पौडेलले जानकारी दिइन्।
तीज गीत प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ। सो प्रतियोगितामा सान्त्वना हुने दश समूहलाई सान्त्वना पुरस्कार स्वरूप चार/चार हजार प्रदान गरिने टेवानकी उपाध्यक्ष तथा महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाले जानकारी दिइन्। अन्य प्रतियोगिताका विजेताहरूलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने उनले बताइन्।
महोत्सवमार्फत तीजलाई विशेष बनाउनुका साथै पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक चलायमान गराउने र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आफूहरूको उद्देश्य रहेको टेवानकी निवर्तमान उपाध्यक्ष तथा महोत्सवको परिकल्पनाकार कमला गिरीले बताइन्। संस्कृति जगेर्ना गर्ने मुख्य उद्देश्य हो, उनले भनिन्, ‘यसलाई पर्यटनसँग सम्बन्धित सडक महोत्सव, फेवा नववर्ष महोत्सव, रोपाइँ महोत्सवजस्तै ब्रान्ड बनाउँदैछौं।’ उनले महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट सहभागिता गराउने, विभिन्न जातजातिको भेषभूषा र संस्कृति प्रदर्शन गर्ने तथा स्वदेशी र विदेशी पर्यटकलाई सहभागी गराउने आफूहरूको प्रयास रहेको बताइन्।
पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाइडमा संस्कृति जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएर टेवान उदाहरणीय बनेको बताए। उनले कार्यक्रममा वडाको साथ र सहयोग रहने वचन दिए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा बाह्रै मौसमका लागि उपयुक्त ठाउँ हो भन्ने पुष्टि गर्न यस्ता कार्यक्रमले सघाउने बताए। उनले भने, ‘पर्यटन प्रवर्द्धनात्मक तीज सांस्कृतिक महोत्सवजस्ता कार्यक्रममा हाम्रो सधैँ साथ र सहयोग रहन्छ।’
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले तीज सांस्कृतिक महोत्सवले तीजको पुरानो शैलीलाई पुनर्जनन गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘जसरी हाम्रा आमा, दिदी, बहिनीहरूले खुला चौरमा तीज गीत गाउने र नाच्ने परम्परा थियो। यस कार्यक्रमले त्यसलाई पुनर्जनन गर्नेछ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले महिलाहरूको तीजलाई रौनकता थप्दै पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रममा परिषद्को शतप्रतिशत सहयोग रहने बताए।
प्रकाशित: ४ भाद्र २०८२ २१:३९ बुधबार





