९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

सुरभिले पनि सम्झियाे देवकोटा

सुरभि साहित्य प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती कविगोष्ठीसहित उनको व्यक्तित्व र कृतित्वको परिचर्चा गरेर मनाएको छ।

नेपाली साहित्यका उज्ज्वल तारा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको स्मरण गर्दै प्रमुख अतिथि, गोकर्णेश्वर नगर पालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले - साहित्यिक तथा प्राज्ञिक जगतबाट साहित्यलाई उठान गर्न यो नगरपालिका देशभरमै अग्रणी भएको चर्चा सुन्न पाएकोमा उत्साहित भएको बताए।

कवि भनेर जनमनमा बसेका अमर नेपाली स्रस्टा भानुभक्त र देवकोटा नै भएको जिकिर गर्दै लेखक तथा समालोचक युवराज मैनालीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने व्यक्तित्वका रूपमा पनि महाकवि देवकोटाको स्मरण गरे।

देवकोटा कति प्रसिध्द थिए भन्ने कुरा भारतीय विद्वान साहित्यकार राहुल साङ्कृत्यायनले भारतका महाकवि सुमित्रा नन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निराला मिलाउँदा एकजना देवकोटा बन्छन् भनेर गरेको तुलनालाई अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले उल्लेख गरे।

विश्वप्रसिद्ध साहित्यकार रूसका चेखोवको स्तर बराबर देवकोटाको साहित्यिक उचाइ रहेको भन्ने चर्चाले पनि देवकोटा नेपाली साहित्य जगतका महान र श्रेष्ठ हस्ती भएको अन्य वक्ताले स्पस्ट पार्दै मुनामदन, पहाडी पुकारबाट रचना वाचन समेत गरिएको थियो।

कवि वसन्त रिजालले 'देशभरि देवकोटा जयन्ती मनाइरहँदा, देवकोटा सङ्ग्रहालयमा उनका अप्रकाशित कृति अझै बाँकी रहेकोमा ध्यानआकृष्ट गर्दै प्रकाशनमा सम्बद्ध निकायको मौनताप्रति असन्तुष्टि पोखे। प्रकाशनमा आफू अगाडि बढ्ने प्रतिबद्धता सहित देवकोटा पुत्रसँग सहकार्यको प्रयास गरेको पनि उनले बताए।

अच्युत घिमिरेको सञ्चालन र बाजुराम पाैडेल सभाध्यक्षतामा भएकाे कार्यक्रममा विमल अर्याल, मेनका पाेखरेल, निर्मलरमण पराजुली,आलाेक चालिसे, सुशील आचार्य लगायतले देवकोटासम्बन्धी कविता वाचन गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष बाजुराम पौडेलले देवकोटाको योगदान अतुलनीय भएको चर्चा गर्दै सहभागी कवि तथा उपस्थित साहित्यप्रेमीप्रति धन्यवाद ज्ञापन गर्दै कार्षक्रमकाे समापन गरेका थिए।

प्रकाशित: ४ कार्तिक २०८२ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App