१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै सलमानले भने : राम्रो शिक्षा प्रणालीका लागि एकजुट भएको देखेर खुसी छु

नीट परीक्षाको प्रश्नपत्र (पेपर लीक) को आरोप र प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीको विरोधमा उत्रिएका विद्यार्थीहरूको पक्षमा धेरै बलिउड कलाकारहरूले खुला समर्थन जनाउँदै आएका छन्।

यसबिच लामो समयसम्म यस विषयमा केही नबोलेका कारण आलोचना खेप्दै आएका अभिनेता सलमान खानले पनि अन्ततः आफ्नो मौनता तोड्दै विद्यार्थीको समर्थनमा सामाजिक सञ्जालमा लामो पोस्ट साझा गरेका छन्। विद्यार्थीहरूको प्रदर्शनलाई शान्तिपूर्ण भन्दै सलमानले यो हिंसात्मक बन्नु दुःखद रहेको बताए। उनले घाइते भएका विद्यार्थी र उनीहरूको परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पेपर लीकलाई एकदमै गम्भीर मुद्दा भनेका छन्।

उनले लेखेका छन्, ‘यो एकदमै शान्तिपूर्ण विरोध प्रदर्शन थियो; यो हिंसात्मक बन्नु धेरै दुःखद छ। घाइते भएका विद्यार्थीहरू र उनीहरूका परिवारप्रति मेरो गहिरो सहानुभूति छ। पेपर लीक एकदमै गम्भीर मुद्दा हो। हाम्रो देशका बालबालिकाहरू राम्रो शिक्षा प्रणालीको लागि एकजुट भएको देखेर म खुसी छु, र उनीहरूका अभिभावकहरूले पनि उनीहरूलाई समर्थन गरेका छन्।’

विद्यार्थीको साहसको प्रशंसा गर्दै उनले भने, ‘म उनीहरूको कार्यको साँच्चै कदर गर्छु। उनीहरूले समर्पण, इमानदारी र कडा परिश्रम मार्फत आफ्नो भविष्य र राम्रो, शिक्षित भारत निर्माण गर्ने आफ्नो जोश प्रदर्शन गरेका छन्। यो आन्दोलन वा विरोध सही तरिका हो, र विद्यार्थीहरूले यो शान्तिपूर्ण रूपमा गरेका छन्। तिनीहरू धेरै साहसी र बहादुर छन्। शिक्षाप्रति प्रेरित र जोशिलो यो पुस्ताले भारतको गौरव बढाउनेछ।’

यो मुद्दा विद्यार्थी र शिक्षा प्रणालीबिचको मात्र भएकोले यसलाई राजनीतिकरण गर्न नहुने सलमानको भनाइ छ। उनले सरकारले सहयोग गरेर शिक्षा प्रणालीलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै भने, ‘यो मुद्दा विद्यार्थीहरू र शिक्षा प्रणाली बिचको हो; यसलाई राजनीतिकरण गर्नु हुँदैन। यसको श्रेय हाम्रो देशका विद्यार्थीहरूलाई मात्र जानुपर्छ। म विश्वस्त छु कि सरकारले आफ्नो पूर्ण सहयोग प्रदान गर्नेछ र शिक्षा प्रणालीलाई बलियो बनाउनेछ। यो सबैको लागि जित-जितको अवस्था हो। म आशा गर्छु र सकारात्मक निर्णयको लागि प्रार्थना गर्छु। शिक्षा खोज्ने सबैलाई भगवानले आशीर्वाद दिऊन्।’

उनले शिक्षा ठूलो आकर्षण बन्नुपर्ने उल्लेख गर्दै थपेका छन्, ‘शिक्षा अर्को ट्रेन्ड र फेसन हुनुपर्छ र यो हरेक वर्ष अझ लोकप्रिय र आकर्षक हुँदै जानुपर्छ, ताकि अन्य देशका मानिसहरू अध्ययन गर्न आऊन् र देश शिक्षाको केन्द्र बनोस्।’ सलमान बाहेक प्रिती जिन्टा, जीनत अमान, अनुराग कश्यप, शबाना आजमी, रत्ना पाठक शाह, अभय देओल, ओमी वैद्य, सोनु सूद, प्रकाश राज र रितेश देशमुख लगायतका सेलिब्रेटीहरूले पनि विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्।

सोमबारदेखि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नयाँ दिल्लीको जन्तरमन्तरमा ककरोच जनता पार्टी (सीजेपी) को अगुवाइमा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। पार्टी प्रवक्ता आशुतोष राँकाले सरकारले माग पूरा नगरे थप लाखौं मानिस सडकमा उत्रने चेतावनी दिएका छन्। उनीहरूलाई कांग्रेससहितका सबै विपक्षी दलले पनि साथ दिएका छन्। अब यो यो प्रदर्शन दिल्लीसहित भारतका अन्य सहरमा पनि फैलिन थालेको छ। 

बुधबार राति दिल्लीको जन्तरमन्तर नजिकै विद्यार्थी र प्रहरीबिच झडप भएको थियो। प्रहरीका अनुसार कनट प्लेसको टोल्सटोय मार्ग नजिकै प्रहरीमाथि ढुंगा र बोतलले आक्रमण गरिएको थियो। आक्रमणमा कनट प्लेसका एसीपी विवेक भगत घाइते भएका छन्। जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गर्यो। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा प्रदर्शनकारीहरूले लाठी बोकेर प्रहरी अधिकारीहरूलाई आक्रमण गरेको देख्न सकिन्छ। झडप लगभग १५ मिनेटसम्म चलेको थियो। अनि त्यसपछि स्थिति सामान्य अवस्थामा फर्किएको हो।

यसअघि, प्रदर्शनकारीहरूको आक्रमणमा पञ्जाबी बागका एसीपी जय प्रकाश पनि घाइते भएका थिए। उनले ढुंगा सिधै आफ्नो निधारमा लागेको बताएका थिए। यसैबिच, बिहीबार बिहान १६ वटा दिल्ली मेट्रो स्टेशनहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका छन्। पहिलो दिन पनि संसदतर्फको मार्चको क्रममा झडप भएको थियो। प्रदर्शनकारीहरू संसदको ढोका नजिक पुगेका थिए र उनीहरूलाई तितरबितर पार्न लाठीचार्ज गरिएको थियो।

यसैबिच, सम्भावित स्थिति नियन्त्रणका लागि गृह मन्त्रालयले पश्चिम बंगालबाट झिकाइएका सीआरपीएफका थप २० वटा कम्पनी तत्काल दिल्लीमा तैनाथ गर्न आदेश दिएको छ।

प्रकाशित: ७ श्रावण २०८३ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App