१) गीत
पाखाभरि घामजून मनमा अन्धकार
किन पर्छ मेरो भागमा सधैँसधैँ हार
पासोबाट उम्केपछि भुङ्ग्रो माथि पर्नु
उज्यालोको लोभमा परी पुतलीझैँ मर्नु
निस्सार यो जीवनलाई खुकुरीको धार
किन पर्छ मेरो भागमा सधैँसधैँ हार
सधैँ औँसी हुँदै हुन्न पूर्णे आउने छ
कर्कलाको पातले पनि घाम पाउने छ
भन्नलाई सजिलो छ भएँ निस्सार
किन पर्छ मेरो भागमा सधैँसधैँ हार।
२) गीत
के हान्नुहुन्छ छुरी मलाई आफैँ बसेर धारमा
भो नठेल्नु बहना बोकी म त यतै छु मझधारमा
कसरी म मुर्ति बने बहाव कस्तो थियो भनौँ
घुम्दै म आकार लिँदै हिँडे थिएन चाह केही बनौँ
साँच्चै अनौठो हुन्छ भोगाइ भोग्नु सारमा
के हान्नुहुन्छ छुरी मलाई आफैँ बसेर धारमा
वास्ना दिएका फूलहरू माटो बनेर जान्छन्
मरेपछि त माछाहरू कमिलाहरूले खान्छन्
आफैँ पनि त चुँडिन्छ बन्धन के काट्नु हो उपहारमा
भो नठेल्नु भन्छु बहना बोकी म त यतै छु मझधारमा।
प्रकाशित: २६ वैशाख २०८३ १३:४२ शनिबार



-600x400.jpg)

