रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैं तारिफ बटुल्छन्। अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको नाच्न जान्दैनन् भन्ने सधैँ आलोचना हुन्छ।
स्वयं कलाकार पनि त्यसै भन्छन् तर यसपटक अलि फरक भएकाे छ। चलचित्र ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’ मा विजय बरालको नृत्यको पनि तारिफ भइरहेको छ। अभिनयमा गजबको तारिफ बटुल्ने उनले यसपटक नृत्यमा पनि वाहीवाही बटुलिरहेका छन्।
प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ। गीतमा एक अर्कालाई मन पराउने जोडीको भूमिकामा विजय र समृद्धि अर्याल छन्। गीतमा शंकाकाे बीच सँगै जीवन बिताउने सहमति गर्छन्। यही क्रममा रोमान्टिक देखिएका विजयको नृत्यको प्रशंसा भइरहेको छ।
गीत र नृत्य दुवै राम्रो रहेको भन्दै सफलताको शुभकामना भनिरहेका छन्। धेरैले ‘रुकुम मैकोट’ सँग तुलना गरेका छन्। चलचित्रलाई शुभकामना भनिरहेका छन्।
युट्युब लिंकका देवीसरा गुरुङ कमेन्ट गर्छिन्, “नायक विजय बराल र नयाँ नायिका दुवैलाई सुहाएको छ। सफलताको शुभकामना वरिष्ठ बलरामलाई।”
गीतको नृत्य मञ्जु गुरुङलाई पनि मन परेको छ। उनी लेख्छिन्, “धेरै राम्रो गीत अनि उत्तिकै दामी छ डान्स।” उनले विजय र समृद्धिलाई शुभकामना भनेकी छन्।
चिटिक्क परेर आकर्षक युवक बनेका विजय फूर्तीफार्तीसहित हिरोइनको वरिपरि घुम्छन्, नाच्छन्, रमाउँछन्, फकाउँछन्। यही दृश्य दर्शकले मन पराइरहेका छन्। कोरससमेत राखेर बनाइएको भिडियो भएकाले विजयमा आत्मविश्वास पनि देखिएको छ। त्यसकै तारिफ यतिबेला उनले बटुलिरहेका छन्।
यतिबेला यो गीत र भिडियो टिकटकमा लोकप्रिय भइरहेको छ। विजयको तारिफ भइरहेको छ। विजयले अभिनयसँगै नृत्यमा पनि कुशलता प्रस्तुत गर्दा यसले समग्र सिनेमालाई नै फाइदा गरिरहेको छ। चलचित्रको पब्लिसिटीमा सहयोग गरिरहेको छ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो।मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेकाे छ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।
प्रकाशित: १२ आश्विन २०८२ १३:४० आइतबार





