सत्कर्म गर्नकै लागि जन्मेको हो मान्छे। उसको अन्तरात्माले सधैं सत्कर्म गर्न नै प्रेरित गरिरहन्छ। वास्तवमा कर्म गर्ने हात निःस्वार्थ हुन्छन्। भुलवश गल्ती गरे पनि ती हातमा बद्नियत हुँदैन। ती हातको चाहना हुन्छ -समयको शिरम आफू बसिरहन पाऊँ, समाजको नजरमा आफ्नो वास्तविक छवि देखियोस्, हातका निला ठेलामा अपमानको घाउ नलागोस्। तर समाज ती हातको आत्मा बोलेको सुन्दैन, हात रोएको देख्दैन। मात्र गरिरहन्छ अभिमानका प्रश्नहरू, उठाइरहन्छ अपमानका सवालहरू।
खेत रोपेर समाजमा छिर्दै गर्दा काम देख्दैन समाज। दिनभरि हलो जोतेर घर फर्कंदै गरेका हलिदाइको फाटेको इस्टकोट देख्छ समाजले, देख्दैन सियोका डोबहरू। जङ्गलमा घाँस काटेर फर्कंदै गरेकी आमाको दिनभरिको दुःख कहाँ देख्छन् र दुनियाका आँखाले। समाजले देख्ने त घाँसको भारी मात्रै हो। समाजले देख्दैन भैंसी र भकारो। भैंसीले हानेको लात्तो देख्दैन, लात्ताले बनाएको नीलडाम देख्दैन, देख्छ त केवल दुहेर ल्याएको दुधको बाल्टी अनि नाप्छ कति लिटर दुध भनेर। अनि समाजले खेतबाट फर्कंदै गरेका बाउसे दाइलाई सोध्छ– किन नपखालेको खुट्टाको कलेटो? दिनभर जोतेर थाकेका हलीदाइलाई सोध्छ– किन पुछिदिएनौ गोरुको पिठ्युँ? घाँसको भारी बोकेर फर्कंदै गरेकी आमालाई सोध्छ– आँखा हेरेर घाँस काट्नुपर्दैन? किन हात काटेकी? दुध दुहेर फर्कंदै गरेका बुबालाई सोध्छ– पोसिलो घाँस पुगेन, नत्र लैनो भैंसीको दुध किन यति थोरै?
एक वर्षपछि फुर्सद निकालेर दसैंमा घर गएको थिएँ। आमाबुबा, दाजुभाइ, इष्टमित्र, गाईवस्तु, खेतखला अनि वनपाखा सबैसित साक्षात्कार भयो। केही दिन रमाइलोमा पुलकिएँ। समाजले मलाई पुलपुल्याउँदै हेरिरह्यो– मेरा फुलेका जुँगा, खुइलिएको तालु, झोलिएका गह अनि सुनिएका गोलीगाँठा। समाजले पढिरह्यो– भरिएको मेरो मनको पाना, थलिएको सात्विक आत्मा, एकोहोरो निसासिएको भावना अनि स्वयं पग्लिएर बग्दै गरेको आवाज। मेरो अपेक्षामा समाजले सोधिदिए हुन्थ्यो भन्ने प्रश्नहरू थिए– फुलेको जुँगाको कात्तिक कहिले आउँछ? झोलिएका गहका सपना के हुन्? खुइलिएको तालुको मैदानमा कुन खेल चलिरहेको छ? कति प्रहरको यात्रा जोड्दा सुनिन्छन् गोलीगाँठा? तर समाजले दिनभरिको अँध्यारो र सपनाको उज्यालोमा प्रश्न सोधिरह्यो– किन काट्दैनस् नसुहाउने जुँगा? आँखा हेर्दा त निद्रा नपुगेजस्तो छ नि? आफ्नै शिरको पनि जतन गर्न नजान्ने मान्छेले अरू शिरको हेरचाह गर्ला ? हाम्रा त सुनिँदैनन् त खुट्टा, कति कमजोर हिँडाइ? अझै कति हिँड्न बाँकी छ, थाहा छ?
यहाँ प्रश्नको निषेध गरिएको होइन। वास्तवमा प्रश्नजस्तो प्रश्नले नै समाजलाई जिउँदो बनाउने हो। प्रश्न नउठ्ने समाजमा जडशान्ति मात्र हुने हो, त्यस्तो शान्ति जहाँ लुप्त भयले सधैं सताइरहन्छ। प्रश्न गर्नु अराजकताको द्योतक होइन, चेतनाको उच्चतम रूप हो। प्रश्नले सत्तालाई नाङ्गो बनाउँछ, परम्परालाई कठघरामा उभ्याउँछ। इतिहास हेर्ने हो भने जडसमाजमा प्रश्नकर्तालाई अपराधी करार गरियो। सुकरातलाई विष पिलाइयो, ग्यालिलियोलाई मौन गराइयो, बुद्धलाई विघटनकारी ठहर्याइयो, बिपीलाई देशद्रोही बनाइयो। वास्तवमा सभ्यता सधैं प्रश्नको घेरामा हुन्छ। समाजले त विद्र्रूप बनाइदिन्छ प्रश्नकर्तालाई। वास्तवमा प्रश्नले नै मान्छेले आफैंलाई, आफ्नो समयलाई र आफ्नो सत्तालाई निरन्तर सोधिरहन्छ– हामी ठिक बाटोमा छौं त?
मलाई झन्डै एकचौथाइ शतकपछि अहिले पनि सम्झना छ, एसएलसीको नतिजा आएपछि सबैले प्रश्न गरे -कति प्रतिशत आयो? आइए, बिए, एमए, एमफिलसम्मका सबै तहका नतिजा आएपछि समाजले गर्ने प्रश्न यही थियो– कति प्रतिशत आयो? कति जिपिए ल्यायौ? तर कसैले सोधेन– तिमीले जिन्दगी कति चिन्यौ? सत्य बोक्न कति सिक्यौ? झुट चिन्यौ कि चिनेनौ? छद्म जिन्दगी र सत्य जिन्दगीको अन्तर नाप्यौ?
जागिर खाँदा उही प्रश्न। जागिरे छोरो सहरबाट वर्षको एक पटक दसैंको बिदा पारेर गाउँ जान्थ्यो, काँधमा झोला बोकेर, गोजीमा खर्च बोकेर, मनमा उत्साह बोकेर। मन नै फरुङ्ङ हुन्थ्यो गाउँ जान पाउँदा। तीन महिना अगाडिदेखि एक एक गर्दै कुरेर आएको दिन हुन्थ्यो त्यो। गाउँ पुग्नासाथ त्यहाँका पैसामुखी ठुलाबडाहरूले प्रश्न गर्थे– वर्षदिनमा आउँछस्। बरु अरब गएको लाहुरे छिटो आउला, तँ वर्षको एक चोटि आउँछस्। घरमा बुढा बुबाआमा छन्। के छ जागिर? कति कमाउँछस्? तर कसैले सोध्दैन– तेरो पढाइ अनि जागिरले तँलाई मान्छे बनाउँदै छ कि मेसिन?
विवाहपछि माइत जाँदा श्रीमतीमाथि प्रश्नको वर्षा भयो अरे। श्रीमतीले भनेका कुरा अहिले सम्झनामा झलझली आइरहेका छन्। ज्वाइँले के गर्छन्? मानौं त्यो समाजलाई ज्वाइँ चाहिएको होइन, पैसा चाहिएको छ। यो प्रश्नले सच्चा मान्छेरूपी ज्वाइँको अपेक्षा गरेको छैन, पद र पैसारूपी अहङ्कार खोजेको छ। ‘अब बच्चा कहिले? विचार गरेर पाउनुपर्छ है, छोरा नै पाउनुपर्छ’ समाजको ध्यान यता छ, मानौं विवाह बच्चा पकाउने ओभन हो, जहाँ सन्तान भोक दिनदिनै लागिरहन्छ।
यता विवाहपछि मेरो हालत पनि त्यस्तै। समाज प्रश्नहरूको कारखाना नै हो जस्तो लाग्थ्यो। विवाहपछि बुबाआमालाई भुल्ने त होइन? अब बुबाआमाको चाहना के छ थाहा छ? बुहारीले काम गर्छिन् कि घरमै बस्छिन्? बुहारी हाम्रो संस्कारमा मिल्ने छन् कि छैनन्? दसैंमा टीका लगाउँदासमेत ‘अब पाउनुपर्छ है सन्तान, छोरै पाउनुपर्छ सुरुमा’ भनेर आशीर्वाद दिएजस्तो गरेर प्रश्न नै सोध्थे। घरपरिवार अनि समाजले यी प्रश्न सोधिरहँदा मेरो मनमा प्रतिप्रश्न उत्पन्न भइरहन्थे - व्यक्तिको भूमिका केही फेरियो भन्दैमा व्यक्तित्व पनि मर्नुपर्छ र? नारीको जीवनलाई समाजले किन सधैं सामाजिक हतियार बनाइरह्यो? सन्तान चाहना वंशको निरन्तरता हो कि मृत्युको भय? घरलाई समाजले किन बलियो भावनात्मक सम्बन्ध बनाउन चाहँदैन? विवाह प्रेमको परिणति पनि हो। प्रेममा किन यति धेरै नियम? नियमहरूको साङ्लोभित्र प्रेम प्रेम रहँदैन, प्रेमको अभिनय मात्र रहन्छ।
अहिले जमाना फेरिएको छ। वास्तविकता लुकाउन र छद्म भेष प्रदर्शन गर्न सजिलो छ। प्रविधिमार्फत अनुहारको कालोपोतो र चाउरी हटाउन पनि सकिन्छ। सधैं दुःख गर्ने मान्छेले पनि रातदिन हाँसखेल गरिरहेको सन्देश प्रवाह गर्न सकिन्छ। धेरैले यसैगरी आफूलाई देखाइराखेका पनि छन्। यहाँनेर प्रश्न छ– रूप किन बदल्नुपर्यो? अरूलाई झुक्याएर आफ्नो उमेर बदलिन्छ र? अरूको नजरले आफ्नो जिन्दगीको जाँच हुने हो र? सामाजिक प्रदर्शनले भोगाइ बदलिने हो र?
प्रश्न गर्न सजिलो छ, जवाफ दिन मुस्किल छ। वास्तवमा जवाफभन्दा प्रश्न नै महत्त्वपूर्ण हुन्छन्। उत्तरले यात्रा टुङ्ग्याउँछ, प्रश्नले यात्रा सुरु गर्छ। जवाफ त प्रश्नको गुणवत्ता अनुसार दिने न हो। श्रीमद्भागवद गीताको जन्म श्रीकृष्णको उत्तरबाट जन्मेको हो कि अर्जुनको प्रश्नबाट? बुद्धले सधैं प्रश्न गर्थे रे– दुःख किन छ? दुःखबाट मुक्ति कसरी हुने? यही जिज्ञासाले नै यी प्रश्नमा उनले आफ्नो धारणा बनाउन सकेका हुन्। यो कुरो हाम्रो समाजले कहिल्यै बुझेजस्तो लाग्दैन। समाज त सधैं परम्परामा बाँच्यो। समाजको चरित्र नै परम्परागत हुँदो रहेछ। त्यसैले त प्रश्न पनि जहिल्यै परम्परागत सोधिरह्यो।
विभेद बालबालिकाको मस्तिष्कमा भरिदिने प्रमुख खजाना रहेछ। नत्र ती साना बालकमा म छोरी हुँ, म बाहुन हुँ, म हिन्दु हुँ, म होचो छु, मेरा बाबाको जागिर छैन, मैले अंग्रेजी बोल्न जान्दिनँ जस्ता मनोवैज्ञानिक सवाल किन फस्टाए? अस्ति छोराको कपाल काट्न जाँदा छोरीलाई सोधेँ– तिम्रो कपाल पनि अलि अलि मिलाऔं है? छोरीको जवाफ थियो– ‘बाबा, म छोरी हुँ, मैले कपाल काट्नु हुँदैन।’
नङमा पोलिस गर्न, लिपिस्टिक लगाउन, कपाल राम्रोसँग बाटिदिँदा र हल्का मेकअप गरिदिँदा मक्ख पर्न भने छोरीलाई सिकाउनै परेन। समाज–परिवारको व्यवहार र चालचलनले सिकाउँदो रहेछ क्यारे। तिमी छोरी हौ, तिमीले कपाल काट्नु हुँदैन जस्ता विभेदकारी व्यवहार किन सिकाउँछ समाज? तिमी हिन्दु हौ, यी देवीदेवताको पूजा गर, तिमी मुस्लिम हौ, यतिदिन उपवास बस भनेर किन तोक्छ समाज? अंग्रेजी खरर बोल्न जान्नुपर्छ भन्दै सानैदेखि बालमस्तिष्कमा किन पश्चिमी दास मनोविज्ञान भरिदिन्छ समाज? यस्ता थुपै्र प्रश्न छन्, जुन सधैं प्रश्न सोध्ने समाजलाई हामीले नै सोध्नुपर्ने प्रश्न।
समाज प्रश्नहरूको कारखाना हो, जहाँ मान्छेमाथि मात्र होइन, प्रकृति, विश्वास अनि आकाशमाथि समेत प्रश्नहरू थोपरिन्छन्। दसैंतिरको कुरा हो, म स्याङ्जा जाँदै थिएँ। एकाएक सडकजाम सुरु भयो। लामै समय रोकिनुपर्यो। यति धेरै सवारी साधन अनि हजारौं मान्छेलाई रोक्ने कारण सडक भासिनु रहेछ। सबैले मनमनै सडकलाई गाली गर्दै थिए– मै आएको बेला किन भासिनुपरेको यो सडकलाई? वास्तवमा पहाडको छाती चिरेर सडक बनाउने अनि सडकको छातीमाथि कुल्चिएर दौडने मान्छेमाथि खनिनुपर्ने हो प्रश्न। समाजले प्रश्न जो कमजोर छ उसैलाई सोध्ने न हो, सडक कमजोर हुँदा सडकलाई, मान्छे कमजोर हुँदा मान्छेलाई।
प्रश्नको ठोस आकार नै हुँदो रहेनछ। प्रश्न जसरी बनाइदिए पनि हुने। नदीमाथि मौन प्रश्न मनमा उब्जिन्छ– नदी किन बगिरहेको हो यति हतार गरेर? तर हामी आफैंलाई कहिल्यै सोध्दैनौं– किन हामी रोकिइरहेका छौं? नदीसँग प्रेरणा लिएर निरन्तर प्रवाहशील भए हुँदैन र? प्राकृतिक विपत्तिपश्चात् हामीले प्रश्न गर्छौं– यो प्रकृति कति कठोर भएको? तर हामी आफैंलाई कहिल्यै सोध्दैनौं– हामीले प्रकृतिमाथि कति निर्दयी व्यवहार गर्यौं? हामीले प्रकृतिलाई सद्भावसाथ कहिल्यै प्रश्न गर्यौं त– हामी तिमीबिना बाँच्न सक्दैनौं, तिमी हामीबिना बाँच्न सक्छौ?
समाजको भविष्य त्यही प्रश्नमा लुकेको छ, जुन अहिले सोधिएको छैन।
प्रकाशित: ३ माघ २०८२ ०७:१७ शनिबार





