लोकदोहोरी गायिका सुष्मा शाही ठकुरी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्तीर्ण भएकी छन् ।
सानै उमेरमा विवाह भएपछि उनको पढाइ रोकिएको थियो । तर १४ वर्षपछि पुनः अध्ययनमा फर्किएकी उनले गत चैतमा भएको परीक्षा दिएकी थिइन् । सोमबार सार्वजनिक भएको नतिजा अनुसार तनहुँकी ठकुरीले ३.२५ जिपिएसहित ‘ए’ ग्रेड प्राप्त गरिन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले उक्त सफलता आफ्नो कल्पनाभन्दा बाहिरको खुसी भएको उल्लेख गरेकी छन् । उनले काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलबाट अध्ययन गरेकी थिइन् । साथै, कपनस्थित दीक्षालय स्कुल केन्द्रबाट २०८२ सालमा एसइई परीक्षा दिएकी थिइन् ।
पढ्ने रहर पूरा गर्न पाएकामा उनी निकै खुसी देखिएकी छन् । झन्डै एक दशकदेखि सङ्गीत क्षेत्रमा सक्रिय ठकुरीको ‘मकै बारी दराम दराम’ गीत निकै चर्चित बनेको थियो ।
प्रकाशित: २९ वैशाख २०८३ १८:०६ मंगलबार





