'लाली बजार' चलचित्र प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । वादी समुदायको कथावस्तुमा आधारित भनिएको यस चलचित्रले आफ्नो समुदायको आत्मसम्मानमा चोट पुर्याएको दाबी गर्दै उनले सोमबार रिट दायर गरेकी थिइन्। प्रदर्शन रोक्न मागसहित उच्च अदालत पाटनमा दायर रिटमा मंगलबार पेशी तोकिएको थियो।
सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘लालीबजार’लाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको थियो। केही दिनअघि सेन्सर सदस्यहरुले सिनेमा हेरेपछि केही संवादमा भने बिप लगाउन लगाएपछि सोमबार मात्रै निर्माण टिमलाई प्रमाणपत्र दिएको बुझिएको छ।
सेन्सर बोर्डबाट यो चलचित्र सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी अनुमति पाएको केही घण्टाभित्रै अदालतमा मुद्दा परेपछि निर्माण पक्ष दबाबमा परेको छ। यम थापाको निर्देशनमा तयार भएको यो चलचित्र यही शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ।
प्रकाशित: १५ वैशाख २०८३ १४:५९ मंगलबार





