उपन्यासकार शिक्षाश्री केसीको उपन्यास चाँदू सार्वजनिक भएको छ। एसिड आक्रमण र घरेलु यौन हिंसाबारे लेखिएको उपन्यास नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबिच विमोचन गरिएको छ।
प्रतिनिधि सभाका सांसद माननीय धर्मराज केसी, पूर्व सांसद तथा एसिड पीडित विधवासानी कंसाकार, समीक्षक राजकुमार बानियाँ, लेखक लगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
किताबमाथि बोल्दै पूर्व सांसद कंसाकारले आफू एसिड पीडितभन्दा पनि एसिड योद्धा रहेको र चाँदू पढ्दा चोटको पीडा आफ्नै जस्तो लागेको बताए।
एसिड आक्रमणले आफ्नो शरीरभन्दा पनि मन जलेको र चाँदूमा उल्लेख भएजस्तै आत्मविश्वासका कारण अहिलेको अवस्थामा आउन सफल भएको बताए।
समीक्षक राजकुमार बानियाँले चाँदू तेजाब आक्रमणको आख्यान मात्र नभएर सामाजिक अपराधमाथिको गम्भीर बहस भएको बताए। उपन्यासमा तेजाब आक्रमणबाट निराश होइन, निखार आएको देखाइएको र त्यसका लागि आत्मविश्वास महत्त्वपूर्ण रहेको पाइएको बताए। ‘जेन-जी पस्ता’ की लेखिकाको उपन्यास सफल रहेको बताए।
प्रमुख अतिथि धर्मराज केसीले सानो उमेरमा नै मानवीय समवेदनामा आधारित उपन्यास लेख्न सकेकोमा लेखकलाई बधाई दिएका थिए। सबैसबैमा उपन्यास पढ्न पनि अनुरोध गरे।
उपन्यासकार शिक्षाश्रीले इन्जिनियरिङको अध्ययन र उपन्यास लेखन दुवै एकै समयमा गरेको र समय व्यवस्थापन गर्न गाह्रो भएको बताए। शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मूल्य ६९५।- छ।
प्रकाशित: १५ असार २०८३ १३:१४ सोमबार





